
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षा उपायका विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संक्रमण रोकथाम तथा यससँग सम्बन्धित सतर्कताका विषयमा विशेष घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।
प्रधानमन्त्रीको सम्बोधन लगत्तै उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्न सक्नेछन् । सरकारले आवश्यक परेमा भारत तथा चीनसँग जोडिएका खुला नाकाहरू बन्द गर्ने तथा लक डाउनका अन्य उपायहरू पनि अवलम्बन गर्न सक्नेछन् ।
भारत र श्रीलंकाले सुरक्षाका लागि कर्फ्यु लगायतका उपाय अवलम्बन गरिसकेका छन् । श्रीलंकाले औपचारिक रुपमै ३ दिने कर्फ्यु घोषणा गरेको छ भने भारतले पनि आइतबारका लागि जनता कर्फ्यु आव्हान गरेको छ ।
आवश्यकता पर्दा नेपालले पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्ने यसअघि नै उपप्रधान मन्त्री ईश्वर पोखरेलले जानकारी गराइसकेका छन् ।



