
निर्मल मण्डल
सिरहा जिल्लाको मिर्चैया नगरपालिका र गोलबजार नगरपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौं गाउँ जोखिममा रहेका छन्। घुर्मी नदीको विषदियुक्त पानीले उनीहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्या देखिनुका साथै अन्नबालीमा पनि समस्या देखिएको छ।
मिर्चौया र गोलबजारको सिमानामा रहेको घुर्मी नदीमा बिगत दशौं बर्षदेखि शारदा डिष्टिलरी प्रालिको विषादियुक्त पानी बग्ने गरेको छ। कुनै पनि कारखानाले विषादीयुक्त पानी बाहिर बगाउँदा प्रसोधन गर्नु पर्ने हुन्छ। तर, शारदा डिष्टिलरीले त्यस्तो गरेको पाइँदैन।
नदीमा मिसिएको प्रदुषित पानीको गन्धले सर्वसाधारणलाई सास्ती हुनुका साथै खोलाबाट सिंचाई भएका खेतबालीमा पनि समस्या हुने गरेको गुनासो स्थानीय किसानहरुले गर्दै आएका छन्।
तर, यस्ता घटनाहरूमा स्थानीय नेताहरुको पहलमा राहत वितरण गरी डिष्टिलरीले आफ्नो विषदियुक्त पानी नदीमा बगाउँदै आएको छ।
जनप्रतिनिधि, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार यस कार्यमा मौन रहेको आरोप स्थानीयहरुको छ। घुर्मी खोलाको प्रदुषित पानी र मारूती सिमेन्ट प्रालिको प्रदुषणले त्यस वरपरका लाखौं जनता प्रत्यक्ष रुपमा प्रभाबित छन् र बर्षेनी बिभिन्न किसिमको रोगले मार्ने गरेको स्थानीय महेन्द्र यादवको भनाई छ।
उक्त क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिमध्ये राजपाको अध्यक्ष मण्डलका सदस्य तथा पूर्व मन्त्री राजकिशोर यादब र नेकपाका प्रदेशसभा सदस्य दिलिप साह रहेका छन्। नदीको वारीपारी दुबैतिरका मेयर नेकपाकै रहेका छन्। तर, यिनीहरुकै मिलोमतोमा स्थानीयबासीले सास्ती खेप्नु परेको छ।
स्थानीयबासीहरुले शारदा डिस्टिलरी र मारुती सिमेन्टबाट भइरहेको प्रदुषणका विषयमा छानविन गर्न प्रदेश सरकार र केन्द्र सरकारसँग माग गर्दै आएका छन्।




[…] हुलाकी न्यूज सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिकामा रहेको सारदा डिष्टिलरीको लापरवाहीले एक बालको जलेर मृत्यु भएको छ। सिरहा जिल्लाकै मिर्चैया नगरपालिका वडा नं. ७ फूलवरी घर भई गोलबजारमा बस्दै आएका उवरास साहका ८ वर्षीय छोरा सोहन साहको मृत्यु भएको हो। डिष्टिलरीले फालेको आगोसहितको खरानीमा बालक जलेर घाइते भएका थिए। डिस्ष्टिलरीले घर नजीकैको खेतमा आगोसहितको खरानी फालेको थियो। चैत्र दुई गते जलेका साहको उपचारका लागि विराटनगर र त्यहाँ सम्भव नभएपछि काठमाडौं फठाइएको थियो। उपचारको क्रममा उनको ६ दिनपछि मृत्यु भएको बुबा उवरास साहले जानकारी दिएका छन्। घटनाको छानविन भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल प्रसाद जैसवालले जनाएका छन्। घटना भएदेखि नै उद्योगसँग सम्वन्वय भइरहेको उनले जनाए। आगोसहितको खरानी कसरी फालियो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले जनाए।डिष्टिलरीको फोहर पानीले स्थानीयावासी पीडित छन् भने झन् खुल्ला रुपमा आगो फाल्ने गरेकोले स्थानीयहरु तथ सशंकित बनेका छन्।सिरहाको मिर्चैया र गोलबजारसहित दर्जन… […]