
हुलाकी न्यूज, गौर । स्थानीय निकायको तेस्रो चरणको निर्वाचन रौतहट जिल्लामा पनि हुँदैछ । रौतहटमा एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालको चर्चा यसअघिको निर्वाचन भएपनि यस पटकको निर्वाचनमा माओवादी केन्द्रका नेता एवं मन्त्री प्रभु साहको चर्चा रहेको छ ।
चुनावी अभियानका क्रममा विभिन्न स्थानमा पुगेर नेता साहले आफ्नो उम्मेदबारको पक्षमा राम्रो माहाले बनाएको स्थानीयहरुको भनाइ रहेको छ ।
रौतहटमा साहसहित माओवादी नेताहरु अशोक कुमार जयसवाल, सत्यनारायण भगत विन, देवेन्द्र पटेललगायतका नेताहरूको एकीकृत प्रयासबाट माओवादी प्रतिको आकर्षणमा बृद्धि भएको उनीहरुको भनाइ रहेको छ ।
चुनावी प्रचारको क्रममा प्रमुख सबै नेताहरूले एउटै मञ्चमा उपस्थिति जनाएपछि माओवादीका जिल्लाका नेता–कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरूमा विशेष उत्साह बढेको माओवादीको दाबी रहेको छ ।
नेताहरू जिल्लाका मौलापुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, कटहरिया नगरपालिका, गरूडा नगरपालिका, वृन्दावन नगरपालिका, गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, दुर्गा भगवती गाँउपालिका, राजदेवि नगरपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका, राजपुर नगरपालिका, परोह नगरपालिका, बौधिमाई नगरपालिका लगायतमा एकसाथ पुगेका थिए ।
यसैबीच माओवादीले रौतहटका छ जना नेतालाई कारवाही गरेको छ । पार्टी हित विपरीत भएको भन्दै उनीहरुलाई कारवाही गरिएको छ । पार्टीबाट निस्कासित हुनेहरुमा जिल्ला सदस्यहरु धिरज पटेल, लिला साह, कन्तमुनी जयसवाल, राजकुमार यादव, नागेन्द्र यादव “विजय“ र गुदर राय यादव रहेको माओवादी केन्द्रले जनाएको छ ।



