हुलाकी न्युज,जनकपुर–मधेशको प्रभावित जिल्लामा राहत वितरण गर्न जनकपुरधाम आएका राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो शुक्रवार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै निर्वाचनको लागि सकारात्मक वातावरण बनिरहेको बताउँदै भादो ५ गते पछि मात्र गम्भीरताका साथ चुनावको सम्वन्धमा पार्टीले निर्णय लिने वताए । उनले संविधान संशोधनका लागि हुने मतदानमा संसदमा हुने व्यवहार देखेर राजपाले निर्णय लिने र जुन पार्टीको जस्तो व्यवहार हुने त्यसलाई हुवहु जनतामा लगिने वताएका छन् ।
नेता महतोले संविधान संशोधनका लागि पाँच गते मतदान प्रक्रियामा जादैछ,यसबाट मधेशलाई निकास पाउने आश गरिएको वताउँदै मधेशीको समस्या समाधानका लागि पाँच गते हुने मतदानमा सम्पुर्ण पार्टीलाई सहभागी हुन राजपाले आग्रह गरेको वताए । उनले मधेशको जिल्लाहरुमा राहतको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो व्यक्त गर्नुहुदै राजपाले मधेशका जिल्लाहरुमा राहतको लागि २६ अर्बको माग गरेकोमा सरकारले १ अर्ब निकासा गरेपनि सम्वन्धित जिल्लामा पुग्न नसकेको बताए ।
राजपा अध्यक्ष मण्डलका सदस्य नेता महतोले राहत वितरणका लागि प्राधिकरण नै गठन हुनुपर्ने माग समेत गरेका छन् । राहत वितरणका लागि मधेश झरेका नेता महतो शुक्रवार धनुषा र सर्लाहीको प्रभावित क्षेत्रमा राहत वितरण गर्ने तथा शनिवार सप्तरी र विराटनगरमा राहत वितरण गर्ने राजपा धनुषाका संयोजक संजय सिंहले जानकारी दिए ।



