हुलाकी न्युज,महोत्तरी- विगत केहि दिन देखिको निरन्तर वर्षाले जलमग्न रहेको महोत्तरीका अधिकांश नगर तथा ग्रामिण वस्तीमा वाढीको पानी पसेपछि स्थानियहरु त्रसित भएका छन । यता स्थानिय प्रशासनले महोत्तरीको झिंगास्थान,बल्वा,सरपल्लो,बदिया बन्चौरी,पिपरा,पर्सा,जलेश्वर तथा जिल्लाका अन्य भुभागमा वसोवास गर्ने स्थानियहरुलाई समेत सतर्क रहन अपिल गरेको छ ।

वाढीकै पानीले सदरमुकाम समेत घेराबन्दीमा पर्दै गएको र पानीको वहाव नरोकिए सदरमुकाम नै जलमग्न हुने सम्भावना रहेको प्रहरी प्रवक्ता दिपक पोखरेलले बताए । प्रहरी र संचारकर्मीले गरेको संयुक्त निरिक्षणमा मनरा गाउपालिका ७ झिंगा स्थानमा जंघा नदीको बांध टुटदा स्थानिय १२ घर डुवानमा परेको छ ।

बल्वाकै हिरदुवा नजिकै बांध टुटेको देखिएकोछ भने सरपल्लोमा रहेको वाढी मापन मिटरमा पानी खतराको संकेत भन्दा पानी निक्कै माथी रहेको छ । सरपल्लोमै रहेको केहि डुम समुदायको घरमा नदीको पानी पसेपछि उनीहरु समस्यामा परेका छन । यता सरपल्लोमै भव्सी र जंघा नदीको संगम हुने स्थानमा सरपल्लोको कदुवा टोल समेत नाकाबन्दीमा परेको छ ।

यता सदरमुकाम स्थित जलेश्वर नगरपालिकाको कार्यालय देखि बजराही जाने बाटोमा विग्ही नदीको पानी आएपछि सडक डुवानमा परेको छ । त्यसतै सदरमुकामकै साविक वडा नं। १० सारीको केहि घर समेत डुवानमा परेको हो ।

बल्वा गाउपालिकाकै वडा नं। ४ साविकको बदिया बन्चौरी १ भगवानपुर स्थित मुसहर वस्तीमा समेत विग्ही नदीको पानी पसेपछि करिव १२ जति घर क्षतिग्रस्त भएको स्थानियले जनाए ।
विहान देखि नै पानी कै कारण जनकपुर भिठामोड सडक खण्ड स्थित पर्सा र पिपराको विचमा समेत सडक डुवानमा परी करिव ३ फिट पानी जम्दा सडक पुर्णरुपमा अवरुद्ध भएको जलेश्वर ट्राफिक कार्यालयले जनाएको छ । यता अविरल वर्षाले जलेश्वर स्थित नेपाल पत्रकार महासंघको उत्तर तिरको कम्पाण्ड पर्खाल टुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.