इनरुवा- सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो ।

जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको कार्यालयका रामप्रसाद मेहताले जानकारी दिनुभयो । कार्यालयले गाईपालनतर्फ मातृभूमि एग्रिकल्चर एण्ड फार्मिङका बिष्णुकुमार सुनुवार, भैँसीपालनतर्फ शुभप्रभात पशुपालन कृषि फार्म बराह नगरपालिका–८ का खड्गबहादुर बिष्ट, बाख्रापालनतर्फ बी एण्ड बी एग्रिकल्चर, रामधुनी नगरपालिका–४ का जगबहादुर राउत, बँगुरपालनतर्फ भवानी बँगुर फार्म इटहरी–१९ का बमबहादुर गिरीलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

त्यसैगरी, टर्की पालनतर्फ दुर्लभ पोल्ट्री फार्म, बराह नगरपालिका–१० का अर्जुन अधिकारी, बहुभाषिक घाँस उत्पादनतर्फ ठूले मोहर कृषि फार्म, रामधुनी नगरपालिका–८ का कोपिला कार्की, हिउँदे घाँस उत्पादनतर्फ कुशवाहा खाद्यबिज भण्डार तथा मिलन गौ फार्मलाई, कन्ट्याक्ट फार्मिङतर्फ इनरुवा–२ का नरेश मेहता र हिउदे घाँसतर्फ पशुपालन तथा घाँस उत्पादन समूह इनरुवा–२ लाई पुरस्कृत गरेको कार्यालय प्रमुख महतोले जानकारी दिनुभयो ।

पुरस्कृत भएका सबै किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएका छन् । पुरस्कृत भएकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.