हुलाकी न्युज, पर्सा | पर्साको सखुवा प्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा दुईजना भारतीय नागरिककको मृत्यु भएको छ ।
दुवै तीर्थयात्रु बोलबम आएका तीर्थयात्री चढेको ट्र्याक्टर दुर्घटना हुँदा अन्य ७ जना घाइते भएका छन् । दुर्घटनामा भारतको मोतिहारी जिल्ला थाना रक्सौल ग्राम पञ्चायत पनटोकाका ५० वर्षीय महेन्द्र पसवान र ९वर्षीया पूजा कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटनमा पर्साको सिमावर्ती गाउँ पन्टोकाका सोभादेवी राम, राधिकादेवी पासवान, सन्तोष राम, बिटुकुमार साह, सुमित्रा राम र ट्याक्टर चालक बुनिलाल राम घाइते भएका हुन् । सोभादेवीबाहेक अन्य घाइते उपचारपछि घर फर्किएका छन् । सोभादेवीको खुट्टा भाँचिएकाले नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ । पर्साको दुग्धेश्वर माहदेव मन्दिरमा लाग्ने सोमबारे भाथा मेलामा जल चढाउन जाने क्रममा उनीहरू चढेको ना. ५त ३६३० नम्बरको ट्याक्टर मध्यरातमा सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ बलुवा र देवारवानाको बीचमा पल्टिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिए । चालकले अत्याधिक मदिरा सेवन गरी ट्याक्टर चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।



