हुलाकी न्यूज, राजविराज, ३ असोज । आज जारी हुन लागेको ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताको माग गर्दै सप्तरीका पत्रकारहरुहरुले आइतवार मौन जुलुश प्रदर्शन गरेका छन् ।

राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुश नगरको विभिन्न भाग परिक्रमा पश्चात शहीद दशन चौकमा पुगेर टुङ्गिएको थियो । जुलुशमा मधेशी पत्रकार संघ, नेपाल प्रेस युनियन, राष्ट्रिय मिडिया पत्रकार सञ्जाल, मैथिल पत्रकार परिषद्, क्रान्तिकारी पत्रकार संघ, मधेशी पत्रकार समाज, आदिवासी जनजाति पत्रकार महासंघ, छिन्नमस्ता एफएम, सिएफएम, भोरुकवा एफएम, चन्द्रमा एफएम, दैनिक तथा साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक, वरिष्ठ पत्रकार समेतको सहभागिता रहेको थियो ।

सभामा वरिष्ठ पत्रकारहरु शिवहरि प्रसाद भट्टराई, अनिलकुमार अनल, विष्णुकुमार मण्डल, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष रामनारायण विश्वास, राष्ट्रिय मिडिया पत्रकार सञ्जालका संयोजक जितेन्द्र खड्गा, मैथिल पत्रकार परिषद्का अध्यक्ष जितेन्द्र कुमार झा, जितेन्द्र खड्गा क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, मधेशी पत्रकार समाजका अध्यक्ष शैलेन्द्र कुमार सिंह (मौखिक सहमति) आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष अध्यक्ष बृजमान तामाङ्ग, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप शाह, सिएफमका स्टेशन म्यानेजर भूषण सिंह भँवर, भोरुकवा एफएमका सञ्चालक समिति सदस्य गोपाल प्रसाद गुप्ता, चन्द्रमा एफएमका स्टेशन म्यानेजर शैलेश कर्ण, जनआक्रोश दैनिकका सम्पादक धीरेन्द्र प्रसाद साह, न्यूज टुडे दैनिकका प्रकाशक समेत रहेका संघका सल्लाहकार शिवनारायण साह ‘सुरज,’ राजविराज टुडे दैनिकका सह–सम्पादक राजेश झा, नटखट दैनिकका सम्पादक देवराम यादव, संघका कार्यालय सचिव रामनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।

मौन जुलुस प्रदर्शनसँगै वर्तमान संविधानको विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरिरहेका छन् ।

दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा असोज ३ र ४ गते सम्पादकीय स्तम्भमा कालो पोतेर प्रकाशन तथा स्थानीय एफएमहरुले असोज ३ र ४ गते साँझ ७ बजेदेखि ७.१५ बजेसम्म १५ मिनेट शोक धुन बजाउने बजाउने निर्णय गरेको छ ।