Dr.ckraut-speaking
हुलाकी न्यूज, काठमाडौं ४ माघ । स्वतन्त्र मधेश गठबन्धनले मधेश बलिदानी दिवसको अवसरमा बुधबार शक्ति प्रदर्शन गर्दैछ । मधेशी सहिदहरुको सम्झनामा मनाइने दशौं मधेश बलिदानी दिवसको अवसरमा बुधबार लाहानमा गठबन्धनले शक्ति प्रदर्शन गर्न लागेको हो ।

पहिलो मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मधेशभरी बलिदानी दिवस मनाइन्छ । सोही अवसरमा लाहानस्थित सहिद रमेश महतोसहितको शालिकमा गठबन्धनका संयोजक डा.सीके राउतले माल्यार्पण गर्नेछ ।

बुधबार दिउँसो १२ बजे डा.राउतले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने त्यसपछि गठबन्धनले स्थानीय एक विद्यालयको मैदानमा आयोजना गरेको कार्यक्रमलाई डा. राउतले सम्बोधन गर्नेछ ।

उक्त कार्यक्रमका लागि गठबन्धनले दुईसाता अघिदेखि तयारी गर्दै आएको छ । गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार सिरहा र सप्तरीसहित मधेशका विभिन्न जिल्लाबाट करिब पचास हजारको संख्यामा मधेशीहरु आउनेछन् ।

कार्यक्रम परिचालनका लागि गठबन्धनका तालिम प्राप्त एक हजार स्वयम् सेवक खडा गरिएको प्रवक्ता खानले बताए । कार्यक्रमलाई मर्यादित एवं सयम् बनाउन यति ठूलो संख्यामा तालिम प्राप्त स्वयम् सेवक परिचालन गरिएको खानको दाबी छ ।

स्वतन्त्र मधेश गठबन्धनले सिरहामा यसअघि जनमत संग्रह गराइसकेको छ भने सयौं स्थानमा युवा स्वयम् सेवक प्रशिक्षण दिइसकेको छ । जसकारण सिरहाबासीको उपस्थिति उल्लेखिय हुने खान बताउँछन् ।

त्यस्तै, सिरहाको छिमेकी जिल्ला सप्तरी डा.सीके राउतको गृहजिल्ला भएकोले त्यहाँबाट पनि अधिक संख्यामा मधेशीहरु कार्यक्रममा आउने तयारी रहेको छ । हाल जनकपुरधाममा बस्दै आएका डा.राउतको प्रशिक्षण धनुषा र महोत्तरीमा केन्द्रीत रहेकोले यस जिल्लाहरुबाट हजारौंको संख्यामा मधेशीहरु कार्यक्रममा सहभागी हुने खानले बताए ।

डा.राउतले स्वयम् विभिन्न सोशल मिडियाहरुमार्फत कार्यक्रमको प्रचारप्रसार गरेको र स्वतन्त्र मधेश गठबन्धनले अन्य जिल्लाहरुबाट पनि सर्वसाधारण ल्याउने तयारी गरेको छ । समग्रमा डा.राउतको कार्यक्रममा ५० हजारभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

Dr.raut-program

पछिल्लो समय मधेशवादी दलहरु विभाजित भएपछि लाहानमा बलिदानी दिवस फाट्फुट् रुपमा मनाइदै आइएको थियो । विभिन्न दलहरुले अलग अलग बलिदानी दिवस मनाउँदै सहिदहरु आ–आफ्नो पार्टीको कार्यकर्ता भएको दाबी गर्दै आएका छन् ।

यस पटक पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध दलहरुले मधेश बलिदानी दिवस मनाउने तयारी गरेको छ ।

तस्बीरहरु : डा.राउतको फेसबुक पेजबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.