टीकापुरमा भइरहेको थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा संविधान संशोधनसहित थरुहट प्रदेशका लागि फेरि आन्दोलन गर्नुपर्ने मुद्दा प्रस्ताव गरिएको छ।
शनिबारको सभापछि आइतबारको बन्द सत्रमा अधिकारका लागि शान्तिपूर्ण आन्दोलनको प्रस्ताव गरिएको छ। बन्दसत्रमा मुलुकभरीका एक हजार थारु अगुवाहरु सहभागी रहेको आयोजकले जनाएको छ। बन्दसत्रमा थरुहट प्रदेशका लागि आन्दोलनको विकल्प नभएकोमा एकमत देखिएका छन्।
आन्दोलनका लागि आवश्यक पर्ने संगठनको नामाकरणका लागि पनि प्रस्ताव गरिएको छ। त्यससँगै आन्दोलनका लागि आवश्यक पर्ने जनशक्ति, आवश्यक पर्ने संगठन र आन्दोलनका चरणका बारेमा पनि छलफल भइरहेको छ।
टीकापुर घटनाको चार वर्ष भएको अवसरमा शनिबार करिब २० हजारको संख्यामा थारुहरु भेला भएका थिए।
सम्मेलन तयारी संयोजक मीनराज चौधरीले थरुहट आन्दोलन, अबको बाटो र आन्दोलनका चरणबारे प्रस्ताव पेश गरेका छन्। उनले पहिलो चरणमा थरुहट प्रदेशका लागि शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ताव पेश गरेका छन्।
दोस्रो चरणमा थारु बहुल क्षेत्रमा शान्तिपूर्ण प्रर्दशन, आमसभा लगायतका कार्यक्रमहरु गरिने उनले बताए। तेस्रो चरणमा थरुहट बिरोधीहरुलाई सामाजिक बहिष्कारदेखि संघर्षका कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ।
उक्त प्रस्तावमा बन्दसत्रमा सहभागी थारु अगुवाहरुले आफ्नो धारणा राखिरहेका छन्। बन्दसत्रले पास गरेको निर्णयका आधारमा थरुहट आन्दोलनको बाटो तय हुने आयोजकले जनाएको छ। सम्पूर्ण तस्वीर थारुवान डटकमबाट







[…] […]