
हुलाकी न्यूज, काठमाडौं २७ चैत । तराई–मधेश विद्यार्थी फ्रण्टले कुनै पनि हालतमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को चुनाव हुन नदिने निर्णय गरेको छ ।
विद्यार्थी फ्रण्टको शनिबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलन जारी रहेको अवस्थामा स्ववियु चुनाव गर्न नदिने निर्णय गरेको हो ।
विद्यार्थी फ्रण्टका प्रवक्ता रामप्रकाश महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘अहिले सम्पूर्ण मधेश शोकमा डुबेको छ । यस्तो अवस्थामा चुनावको नाउँमा मधेश विरोधीहरु मधेश प्रवेश गर्नेछन् । चुनाव आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र हो । त्यसैले अहिलकै अवस्थामा स्ववियु चुनाव हुन दिन्नौं ।’
विद्यार्थी फ्रण्टको केन्द्रीय समिति बैठकमा आन्दोलनको समिक्षा गर्नुका साथै आगामी योजनाका बारे पनि छलफल भएको छ ।
संगठनको बैशाखमा महाधिवेशन गर्ने निर्णय पनि गरिएको प्रवक्ता महतोले बताए ।
उनका अनुसार अहिले विभिन्न विद्यालयमा भईरहेको भर्ना शुल्कमा मनोमानीको संगठनले विरोध गरेको छ । यसका लागि छिटै कार्यक्रमहरु ल्याइने महतोले बताए ।




