
हुलाकी न्यूज, काठमाडौं ११ भदौ । मैथिली सिनेमा जगतका उदाउँदो चर्चित कलाकार सँगीत सिंहको निधनप्रति मैथिली सिने संसार पत्रिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
मैथिली सिने संसार पत्रिकाले शनिबार मधेश मिडिया हाउसमा श्रद्धाञ्जली सभाको आयोजना गरी सिंहको निधनप्रति मैथिली सिनेमा जगतमा ठूलो क्षति पुगेको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
वरिष्ठ शास्त्रीय सँगीतका गुरु गुरुदेव कामतले मैथिली सिनेमालाई नयाँ ऊर्जा दिइरहेका सिंहको असामयिक निधनले मैथिली सिने जगतलाई ठूलो क्षति भएको टिप्पणी गरेका छन् । उनले मैथिली सिने जगतले एउटा प्रतिभावान कलाकार गुमाएको बताए ।
यस्तै, गायक हरिशंकर चौधरी, सञ्चारकर्मी अरविन्द मिश्र, सरोज खेलाडी, गीतकार विनीत ठाकुर, कलाकार ममता देव, सांसद तथा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, नायक लालकिशोर यादव, भारतका निर्देशक मिथलेश निषाद, नायिकाहरु समिता गिरी, स्वानिका बास्तोला, तुलसी चौधरीलगायतले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रम मैथिली सिने संसारका प्रकाशक तथा सँगीतकार कमल मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन निराजन झाले गरेका थिए । सोही कार्यक्रममा सिंहद्वारा अभिनित अन्तिम फिल्म ‘मजाक’को पहिलो पोष्टरसमेत सार्वजनिक गरिएको थियो ।
सिरहाको सोहपुर स्थायी घर भएका मैथिली सिने क्षेत्रका कलाकार सिंहको भाद्र २ गते बिहीबार राति मोटरसाइकल दुर्घटनामा निधन भएको थियो ।
उनले मैथिली फिल्म ‘पिया भेल परदेशी’बाट अभिनय यात्रा सुरु गरेका थिए । उनले अहिलेसम्म १३ वटा फिल्ममा अभिनय गरिसकेका थिए ।



