
हुलाकी न्यूज, काठमाडौं २४ माघ । सदभावना पार्टी र संघीय समाजवादी फोरम नेपालबीच फेसबुक युद्ध सुरु भएको छ । मधेशका जिल्लाहरुमा मधेशी मोर्चाले आन्दोलन तुहाएको आरोप लागिरहँदा मोर्चाका घटक पार्टीहरुबीच आरोप प्रत्यारोप शुरु भएको हो ।
आइतबार फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसीयाले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि राजावादीको आरोप लगाएका थिए ।
दिउँसो सदभावना पार्टीका कार्यालय सचिव राजेश चौधरीले फोरम अध्यक्ष उपेन्द्र यादव चिनीया एजेन्ट रहेको आरोप लगाएका छन् ।
चौधरीले लेखेका छन्,‘मधेशी नेता कम र स्वघोशित राष्ट्रीय नेता भन्न रूचाउने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पार्टी मधेशी जनअधिकार फोरम र संघिय समाजवादी पार्टी मिलेर बनेको पार्टी हो । मधेश शब्द हटाएर बनेको पार्टी सम्पूर्ण आन्दोलनमा आधा पार्टी मात्र आन्दोलनमा रह्यो । आफ्नो जिम्मामा पाएको बिराटनगर नाकामा बसे संघिय समाजवादी पार्टी फेरी छुट्टीने डरले कहीले नाकामा बसेन, आफ्नो निर्वाचन क्षेत्र मोरंग र सुनसरीमा कहीले आन्दोलनको नेतृत्व गरेन ।’
चिनीया एजेन्टको आरोप लगाउँदै चौधरीले लेखेका छन्,‘एमालेबाट माओवादी हुँदै नव मधेशवादी चाईनिज एजेन्ट नेता उपेन्द्र यादव भारतको झण्डा र मोदीको पुतला जलाउँदा चुप लाग्ने मोर्चाबाट बिज्ञप्ती निकाल्न नदिने तर चाईनाको झण्डा जल्दा मोर्चामा बितण्डा मचाउने गरेका छन् । मधेशमा आन्दोलन र नाकाबन्दी घोषणा गरेर काठमाण्डौ र पहाडमा संगठन बिस्तारमा ब्यस्त रहेका छन् । मधेश र मधेशीलाई यूज एन थ्रो गर्ने, मधेश शब्दबाट नै घृणा गर्ने उपेन्द्र यादवबाट मधेश, मधेशी र मधेशी मोर्चा सावधान रहन जÞरूरी छ ।’
यता फोरम अध्यक्ष उपेन्द्र यादवले आफुले बोल्न चाहेका कुरा प्रेस संयोजक चौरसीया मार्फत समाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् । चौरसीयाले लेखेका छन्, ‘पहाडे विरोधी, स्टन्टबाज र विवादास्पद नेता राजेन्द्र महतोले तत्काललाई मधेश आन्दोलन तुहाउन सफल भए । महतोले मधेशलाई फेरि धोका दिए । किनकि, महतो मधेशका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् । यो भन्दा बढी महतोसँग अपेक्षा गर्न हुन्न ।’
महतोमाथि राजावादीको आरोप लगाउँदै चौरसीयाले लेखेका छन्,‘पूर्वराजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेर मधेश आन्दोलन तुहाउने गद्दार राजेन्द्र महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् । आजीवन मन्त्री हुँदा अकूत सम्पत्ति कुम्ल्याएका महतो जस्ता मधेश विरोधी गद्दार नेताहरु अख्तियारको कारबाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको यथार्थ जनताले बुझिसकेका छन् ।’
‘पूर्वराजा वादी बद्री प्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनु पर्छ । मधेशी लगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फूके हुन्छ । । तर, मोर्चा र मधेशलाई अब महतो जस्ता प्रतिघाती नेताको साथ चाहिँदैन ।–चौरसीयाले लेखेका छन् ।
कभर फोटो : अनलाईनखबर



