रेशम चौधरी जब जेलभित्र रोए….. (जन्मकैदको फैसलापछि कुराकानीमा आधारित)

बीपी साह-

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र पसेका उनको स्वागतमा माला लगाउनेहरुको पनि लर्को थियो। रेशमको शाही ठाँटको सपथ ग्रहण देख्दा लाग्थ्यो – यी अब छिट्टै छुट्दैछन्। सायद, रेशम चौधरी पनि त्यही सोचमा थिए। नत्र ‘रेशम चौधरी भिख माग्दैन, न्यायालयसँग न्याय खोजेको हुँ’ भन्ने थिएनन् सायद।

उनै चौधरीलाई बिहीवार जेलमा भेट्न पुग्दा उनको अवस्था विल्कुलै फरक थियो। सबैलाई चुनौती दिने चरित्रका चौधरी कुराकै सिलसिलामा रुन पुगे, जुन यसअघि पटक पटक जेलमा भेट्दा नदेखिएको दृश्य थियो।

उनको स्वभावमा देखिएको यस्तो परिवर्तन स्वभाविक थियो। उनको शाही शान सहितको सपथ ग्रहण र दुई महिना जेलभित्रै बिताएको ‘सांसद’को जीवनमा एकाएक बुधवारबाट ग्रहण लागेको थियो। कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएपछि उनीमात्र होइन, उनीमाथिको सोचहरु पनि बदलिए। टीकापुर काण्डमा दोषी ठहर गर्दै जिल्ला अदालतले उनलाई २०९४ सालसम्म जेलमै रहनुपर्ने फैसला दिएको छ।

भूमिगत रुपमा चुनावी अभियानमा जुटेर बलिया र ठूला पार्टीका नेतालाई पराजित गर्दै जनताको अदालतमा जित हासिल गरेका चौधरीले त्यसको एक वर्षपछि मात्रै सांसद पदको सपथ ग्रहण गरेर आफ्नो हैसियत प्राप्त गरेका थिए। त्यो हैसियत बुधवारको फैसलाले गुमेको छ। डिल्लीबजारको जेलभित्र ‘सांसद’कै हैसियतमा रहेका उनको अपेक्षा कसरी तोडियो त एउटा फैसलाबाट?

फैसलासँगै चौधरीको शान एकाएक गुमेको छ। त्यो उनैले अनुभव गरेका रहेछन्। फैसला आएको भोलिपल्ट बिहीवार विहानै शारीरिक व्यायम गर्न निस्किँदा रेशम चौधरीले नसोचेको अवस्था आइलाग्यो। उनलाई जेलभित्रकै क्यान्टिनवालाले भने, ‘दाइ क्यान्टिनको सामान सकिएको छ। यसो पैसा मिलाइदिएको भए सामान ल्याउन हुन्थ्यो।’

त्यसअघि पैसाका लागि उनले यस्तो सुन्न परेको थिएन। तर, जन्मकैदको फैसला आउने वित्तिकै क्यानटिनवालाले पैसा माग्नु संयोग हो या नियती उनले नै ठम्याउन सकेका रहेनछन्।

‘पहिले त माननीयज्यू हो भनेर पैसा दिन्छ ठान्थे होला। र, भएको बेला पनि पैसा दिएको छु। तर, आज बिहानै यस्तो सुन्नु पर्‍यो,’ जेलमा रहेका चौधरीले फैसलापछिको अवस्था सुनाए।

चौधरीले परिवारको आर्थिक अवस्था बिग्रिएको सुनाउँदै छोरालाई पढाउन पनि कठिन भइरहेको दावी गरे।

‘कोठा भाडादेखि छोराको पढाइ खर्च। झन् जेलभित्र कुनै दिन पचास जनाभन्दा बढी मान्छे भेट्न आउँछन्। उनीहरुलाई चिया खुवाउँदा महिनामा धेरै खर्च भएको छ,’ चौधरीले भने, ‘भविष्य दाउमा लागेको बेला आर्थिक अवस्थाले पनि सताएको छ।’

काठमाडौंदेखि कैलाली र भारतको दिल्लीसम्म भेट्दा पनि रेशमको शैली आक्रामक र जुझारु देखिन्थ्यो। तर, यसपटक उनको मनबोल कमजोर देखिएको छ। आर्थिक अभाव र छोराको प्रसंग जोडिनासाथ उनी भक्कानिएर रोए। तर, बोलीमा संयमता भने राखी नै रहे।

‘म अदालतलाई सम्मान गर्छु। तर, यस्तो पनि फैसला हुन्छ? कुनै प्रमाण बिना नै जन्मकैद हुन्छ?,’ प्रश्नसहित प्रतिक्रिया दिए रेशमले।

रेशमकै दावीलाई मान्ने हो भने फैसलाको दुई दिन अघि नै उनले यस्तो हुँदैछ भन्ने जानकारी पाएका थिए। त्यसैले फैसला आउनुअघि नै आफ्नो दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेतालाई जानकारी गराएका थिए – ‘मलाई अपराधी घोषित गरिँदैछ। मेरो करिअर समाप्त पार्ने खेल भयो।’

उनको पूर्व सूचनापछि ती नेताले ‘केही हुँदैन’ भन्ने प्रतिक्रिया दिएको रेशमले बताए।

अपराधी घोषित भएपछिको पहिलो बिहान रेशमलाई भेट्न सबैभन्दा पहिले उनकी श्रीमती डिल्ली बजार पुगेकी थिइन्। छोरालाई स्कुल पठाएपछि रेशमलाई भेट्न उनी पुगेकी थिइन्। त्यसपछि साथीभाइ र समर्थकहरु जेल पुगेका थिए।

जेलभित्र उनीसँग भेट्न पुग्दा सुरुमा त उनले आफ्नो आत्मबल बलियो रहेको देखाउन प्रयास गरे। अदालतको फैसलाको विषयलाई केलाए। ‘जन्मकैद हुनका लागि वारदात स्थलमा उपस्थित हुनुपर्ने हो। प्रयोग भएको हातहतियार अथवा अन्य प्रमाण फेला पार्नुपर्ने हो। तर, केही प्रमाण नै नदेखाई मलाई जन्मकैद सुनाइएको छ,’ उनको दावी थियो।

अदालको सम्मान गर्ने बताउँदै फैसलाप्रति असन्तुष्ट सुनिएका उनले आफ्नो रणनीति सेयर गर्दै उच्च अदालत जाने पनि बताए।

त्यसपछि राजनीतिक विषयमा उनको बुझाई के छ त भन्ने प्रश्न गर्दा उनी – सन्तुलित नै सुनिए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा केही हुँदैन,’ रेशमले भने, ‘आन्दोलन नगरी मुद्दा फिर्ता हुँदैन। चलखेल भएको छ, फैसला एकतर्फी आयो।’

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठनमा समेत सक्रिय रेशमले पत्रकारिता पनि गरेका छन्। त्यसकै प्रभाव हो, उनको बोलीमा कमाण्ड छ। तर्क पनि बलियै गर्छन्।

‘१७ हजार मान्छे मार्ने प्रचण्डज्यू प्रधानमन्त्री हुनुभयो। अहिले हामीमाथि आरोप मात्रै लाग्दैमा हामीलाई जन्मकैद?,’ उनले प्रश्न गरे, ‘सायद म राजपाबाहेक कांग्रेस, नेकपा अथवा राजावादी पार्टीमा भएको भए यस्तो फैसला आउने थिएन।’

उनले फैसलाको पूर्ण पाठ पढ्नेहरुले त्यसमा विभेदका बीजहरु भेट्ने दावीसमेत गरे। ‘१५७ पेजको फैसला पढ्यो भने विभेदका बीजहरु त्यहीँ भेटिनेछ,’ उनले भने।

पत्नी र छोराको प्रसंग उठेपछि भने उनको बोलीमा केही त्रास र भय मिसियो। राजनीतिक विषयमा दरिलो गरी बोलेका उनी जतिखेर पारिवारिक विषयमा प्रवेश गरे, उनको आँखामा आँशु देखियो – पटक पटक यो संवाददाताले भेट्दा नदेखिएको दृश्य थियो त्यो।

‘मैले देशका लागि के गरिन? सबैभन्दा बढी राष्ट्रप्रति समर्पित गीत मैले नै लेखेको होला। २० वर्ष पत्रकारिता गरेर देशकै सेवा गरेँ। तर, यो राजनीतिक दाउपेचमा मलाई कहाँ पुर्याइयो?,’ उनले यसो भनिरहँदा उनी भक्कानिए।

नजिकै रहेकी उनकी पत्नीले यो दृश्य देखेपछि दौडिँदै आइन्। धाप थप्थप्याइन् र भनिन् – ‘बी स्ट्रोङ।’

साभार http://www.pahilopost.com/content/20190307172303.html

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.