
रंजन भण्डारी, जलेश्वर २४ माघ । नेपाली काँग्रेस महोत्तरीको क्षेत्रिय अधिवेशनमा आन्तरिक विवाद उत्पन्न हुँदा सोमबार हुने भनिएको जिल्ला अधिवेशन अन्यौलमा रहेको छ ।
माघ २२ गते नै सबै क्षेत्रको अधिवेशन भैसक्नु पर्नेमा क्षेत्र नं. ५ को मात्र हुन सकेको छ भने अन्य पाँचवटा क्षेत्रको अधिवेशन अझै बाँकी रहेकोले जिल्ला अधिवेशनको मिति सर्ने भएको छ ।
पार्टी भित्र देउवा र कोईराला पक्षबीचको विवाद केन्द्रदेखि नै हावी रहेकोमा यसले जिल्लालाई समेत प्रभावित गरेको छ ।
यता महोत्तरी क्षेत्र नं. ३ को गाउँ अधिवेशनमा सक्रिय सदस्यहरुलाई समेत जानकारी विना गोप्य तरिकाले अधिवेशन गरेको भन्दै पिगौना, पर्सापतैली, सुगा, फुलहटटा प्रकौली, एकरहिया र बनौलीमा विवाद चुलिएको छ । आईतबार साँझसम्म भने पुनः अधिवेशन गराउने वा भएकोलाई नै सदर गर्ने निर्णय भैसक्ने सहायक निर्वाचन अधिकारी शुसिल यादव ले बताएका छन् ।
साथै महोत्तरीमा रहेको ३ नगरपालिका मध्ये जलेश्वरमा अशोक साह, गौशालामा विरेन्द्र चौधरी सर्वसम्मतीले चयन भैसकेका छन् ।
यता मधेशवादी दलहरुले जिल्लामा अधिवेशन हुन नदिने भनि जारी गरेको उर्दीका कारण आफुहरु कसैलाई हानी नपुगोस भनी सदरमुकाममा जिल्ला अधिवेशन गर्ने नगर्ने भनी अन्यौलमा परेको समेत यादव बताउँछन् । प्रशासनले सुरक्षाको प्रत्याभुति गर्न सके सदरमुकाममा अधिवेशन सम्पन्न गर्छौ हैन भने बर्दिवास वा अन्यत्रनै अधिवेशन हुन सक्ने उनले बताए ।



