
मधेशवादी विद्यार्थी राजनीतिमा सक्रिय भई हाल तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल मधेश आन्दोलन सुरु भएयता सिरहामा रहेर आन्दोलनमा सक्रिय छन् । मण्डलसँग मधेश आन्दोलनलगायतका विषयमा हुलाकी न्यूजले गरेको कुराकानीको सम्पादित अंश ।
मधेशमा आन्दोलन जारी छ, आन्दोलनमा चारवटा मोर्चा देखिन्छन् । अहिलेसम्म किन मिल्न नसकेको होला ?
पहिले मोर्चा एउटै थियो । कहिले उपेन्द्र यादव बाहिरिए त कहिले गच्छदार निस्किए । आन्दोलन शुरु हुनुभन्दा पहिले राजकिशोर यादव, शरत्सिंह भण्डारी, अनिल झालगायतलाई मोर्चामा ल्याउने प्रयास भयो । तर, यिनीहरु सरकारमा जाने लोभमा गच्छदारसँग गए । अन्यहरुको पनि यस्तै अवस्था । नेताहरुको व्यक्तिगत टकरावले एकअर्कालाई हेरिनसक्नुको अवस्था छ ।
मैले सबै मोर्चालाई एकै ठाउँमा ल्याएर आन्दोलन गर्ने प्रयास पनि गरेको छु । मैले नेतृत्व गर्ने सिरहा जिल्लामा संयुक्त मधेशी मोर्चा बनाएर आन्दोलन पनि गरेको छु । एउटा अवधारणा वा आचार संहिता बनाएर चारवटै मोर्चालाई एकै ठाउँमा ल्याउनु पर्छ । जसका लागि मधेशी जनताले दबाब दिनु आवश्यक छ ।
राज्य र काठमाडौंका सञ्चारगृहले आन्दोलन सम्बन्धी विभिन्न हल्ला फैलाउने गरेको छ । वास्तवमा आन्दोलनको ग्राउण्ड के छ ?
नेपाली राजनीतिमा अहिलेको मधेश आन्दोलन नयाँ कुरा हो । कुनै पनि आन्दोलन एकरुपमा रहदैन तर मधेश आन्दोलन निरन्तर एकरुपमा चलेको छ । यसले नयाँ इतिहास रचेको छ । आन्दोलनमा अहिले पनि त्यस्तै उपस्थित छ । सबै विश्वस्त छन् कि सफलता मधेशीकै हुनेछ ।
अहिलेको आन्दोलनमा राज्यले मधेशी जनतालाई महसुस गरायो कि तिमीहरु नेपाली होइनौं । यस्तो अवस्थामा पनि शान्तिपूर्ण आन्दोलन जारी छ । मधेशी जनता त काठमाडौंमा बसेका मधेशी नेताहरुप्रति नै सशंकित छन् । मधेशी नेताले कहाँ सहमति गर्ला भन्ने शंका मधेशीमा छ । तर पनि निरन्तर आन्दोलन गर्दैछन् ।
जारी आन्दोलनमा मधेशीलाई धेरै क्षति भएको छ तर यसबाट केही पनि उपलब्धी भएको छ कि ?
राज्यले आन्दोलनलाई दबाए । विभिन्न षड्यन्त्र गरे । त्यसको प्रभाव दूरगामी रुपमा पर्नेछ । र, त्यसले क्षति अझै गर्नेछ । तर आन्दोलनका सकारात्मक पक्षहरु पनि देखिएका छन् ।
मधेशीहरुको तल्लो तहसम्म चेतनाको स्तर बृद्धि भएको छ । बच्चा–बच्चामा मधेशीपनाको विस्तार भएको छ । मधेशी भावनामा बृद्धि भएको छ । मधेशप्रति मधेशीको लगाव बढेको छ । धोती रैली र मानव साङ्लो जस्ता कार्यक्रमले मधेशीहरुलाई झनै हर्षित बनाएको छ ।
यति हुँदा आन्दोलनमा भारतीय पक्षको भूमिकालाई कसरी लिनु भएको छ ?
नेपालको हरेक परिवर्तनमा भारतले सहयोग गरेको छ । भारत र मधेशबीच रगतको सम्बन्ध छ । बिहाबारीको सम्बन्ध छ । कोही मधेशमा मारिदा भारतमा रहेका तिनका मामा–माइजु रुन्छन्, फुपु–फुपाजु रुन्छन् । जसकारण दुबैतिर आन्दोलनको माहोल बन्छ । भारतले अहिलेको मधेश आन्दोलनलाई व्यवस्थापन गरेन भने त्यहीं मधेशी भारतको विरुद्ध जान सक्छन् । लोकतान्त्रिक राष्ट्रको मूल्यमान्यताको हिसाबले भारतले सहयोग गर्नु स्वागत योग्य छ ।
आन्दोलन लम्बिने देखिन्छ, तत्काल आन्दोलन व्यवस्थापन भएन भने ?
अहिलेसम्म शान्तिपूर्ण प्रदर्शन हुँदैछ, त्यसमा पनि गोली खाएर । अहिले बन्दुक उठाउने आवाज उठ्दैछ । डा.सीके राउतको कुरा पनि उठ्दैछ । अहिले मधेशीहरु थोरै कुरा माग्दैछन् । भोलि नेपाली शासकले मधेशीलाई ठूलो कुरा दिनु पर्ने हुन्छ ।
अहिले मधेशमा तीन धार छ ।
१) काँग्रेस–एमाले–एमाओवादीका कोटा धारी–अवसरवादी मधेशी
२) मधेशवादी पार्टीका मेनस्ट्रिम मधेशी
३) छुट्टै मधेश देशको माग गर्ने
हामी असफल भए मधेश देश माग्नेको हातमा पुग्नेछ अथवा अवसरवादी मधेशीहरुको हातमा पुग्नेछ । यस्तो अवस्थामा सामान्य मधेशीलाई फाइदा हुने छैन ।
सशस्त्र गतिविधि भयो भने ?
सप्तरी–सिरहामा घटना भयो । यो आन्दोलन लम्बिए यस्ता घटनाहरु बढ्दै जानेछन् । हामीमाथि पनि खतरा छ । किनभने यस्तो घटना बढ्दै गए राज्यले हामीलाई दबाउन दाउ पाउनेछ । जति सक्दो चाँडो राज्यले आन्दोलनको व्यवस्थापन गर्नुपर्छ । होइन भने अवस्था भयावह हुन सक्छ ।
स्वतन्त्र मधेश माग्नेहरुको भूमिकालाई कसरी लिनु भएको छ ?
सबै मधेशकै लागि लड्दैछन् । अरुभन्दा पनि डा.सीके राउत सक्रिय छन् । मलाई लाग्छ सबैलाई एक ठाउँमा ल्याएर एजेण्डा प्रष्ट पार्नु पर्छ । यस विषयमा छलफल हुनु जरुरी छ । यिनीहरुको लाइन नै फरक छ । राज्यप्रतिको वितृष्णा र राज्यको दम्भले डा.राउतको समर्थक बढ्दैछ ।
यति हुँदा पनि वार्ता त चलेकै छ । अहिलेसम्मको वार्तालाई कसरी लिनु भएको छ ?
आन्दोलनको भावना अनरुप वार्ता सफल हुनु पर्यो । मेरो धारणा के छ भने राज्य सामु आत्मसमर्पण गर्नुभन्दा मधेशी जनतामा गएर आत्मसमर्पण गर्नु पर्छ । राज्यका अगाडि मधेशी मोर्चाले आत्मसमपर्ण गरेर मधेशीलाई झनै समस्यामा पार्नेछ । त्यसैले मोर्चा असफल भए जनतामा आत्मसमर्पण गर्नुपर्छ ।
मधेशी मोर्चा असफल हुँदै गएको छ, अबको अवस्थामा के गर्नु पर्ला ?
मधेशका सबै शक्ति गोलबद्ध भएर छलफल गर्नु पर्यो । त्यो चाहे वार्ताअघि होस् वा वार्ता पछि । त्यो मधेश आन्दोलनका सन्दर्भमा होस् वा मधेश विकासको सन्दर्भमा । सबै शक्ति मिलेर मात्र मधेशलाई अगाडि बढाउन सकिन्छ भन्ने मेरा बझुाई छ ।



