Upendra-Yadav

हुलाकी न्यूज, काठमाडौं २२ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक संघीय समाजवादी फोरम नेपालले संविधानमा समानुपातिक समावेशीको माग राख्दै आन्दोलन गर्दैछ ।

तर उक्त पार्टी नै समानुपातिक समावेशी नभएपछि फुट्को संघारमा पुगेको हो ।

मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसहित तीन पार्टी एकीकरण भएर संघीय समाजवादी फोरम नेपाल बनेको हो ।
पार्टी एकीकरणका बखत पार्टीको हरेक तह तथा कार्यहरु समानुपातिक समावेशी हुने उल्लेख गरिएको थियो । तर संशोधनसहितको एकीकृत विधानमा ‘तोके बमोजिमको समानुपातिक समावेशी हुने’ भन्ने उल्लेख गरिएको छ ।

उक्त विषयलाई लिएर गएको साता भएको फोरम नेपालको केन्द्रीय समिति बैठकमा विवाद उत्पन्न भयो । उक्त विवादले उग्ररुप लिदै जाँदा नयाँ विचार समूह बनेको छ ।

उक्त विचार समूहले केन्द्रीय समिति बैठकमा ८ बुँदे माग राखेका छन् । जसमा मधेशमा जारी आन्दोलनमा भएको क्षति र उपलब्धीको मूल्यांकन गर्दै आत्मआलोचना गर्न पार्टी नेतृत्वसँग माँग गरिएको छ ।

संघीय नव विचार समूहको संयोजन गरिरहेका नेता रिजवान अन्सारीका अनुसार उत्पीडित जनताका लागि बनाइएको पार्टी सामन्ति प्रबृतिको हुँदै गएकोले नयाँ विचार समूह बनाउन परेको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै नेता अन्सारीले पार्टी अध्यक्ष उपेन्द्र यादवमा सामन्ति प्रवृति हावी हुँदै गएको र पार्टी निर्माणका बेला लिइएका संकल्पहरु विर्सिदै गएको बताए ।

अन्सारीले भने,‘नव विचार समूह बनाएर हामीले पार्टी भित्रै संघर्ष गर्नेछौं । यसलाई जिल्ला स्तरसम्म लग्दैछौं । हामी केही दिनमै राष्ट्रिय भेला बोलाएर आगामी विषयमा छलफल गर्नेछौं । पार्टीले हाम्रा मागहरु सम्बोधन नगरेको खण्डामा राष्ट्रिय भेलाबाट एउटा फरक शक्ति बन्नेछ ।’

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै यस सन्दर्भमा छानविन भइरहेको बताए । उनले पार्टीभित्र केही व्यक्तिहरुको असन्तुष्टिलाई समान्य रुपमा लिएको बताए ।

संघीय नव विचार समूहलाई कारवाही गर्ने सुरसार

Forum-press-release

हाल पार्टीभित्रै संघीय नव विचार समूह बनाएर संघर्ष गरिरहेका नेताहरुलाई कारवाही गर्ने सुरसार देखिएको छ । विहीबार केन्द्रीय सदस्य तथा पर्सा जिल्लाका इन्चार्ज विरेन्द्र प्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै नव विचार समूहका सदस्यहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिअनुसार फोरम नेपालको अनुसाशन समितिबाट कारवाहीको प्रक्रिया अगाडि बढाइएको बुझिन्छ । नव विचार समूहका सदस्यहरुले नयाँ पार्टी खोल्न लागेको आरोपसमेत लगाइएको छ ।

संघीय नव विचार समूह

नेपाल एक बहुजातीय, बहुराष्ट्रिय, बहुभाषिक, बहुसांंस्कृतिक र बहुधार्मिक मुलुक हो । राज्यले आदिवासी–जनजाति, मधेशी, दलित (शिल्पी), थारू, महिला, मुस्लिम, पिछडावर्ग, खस समुदाय लगायत सवै जातजाति, भाषाभाषी, धर्म संस्कृकिो सम्मान गर्नुको सट्टा उनीहरूहरूमाथि राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक अन्याय र उत्पीडन गर्दै आइरहेको हो । अग्रगामी परिवर्तनका लागि नयाँ बैकल्पिक राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरी संघीय समाजवादी पार्टी नेपालको स्थापना भएको थियो । र, यही महान् उद्देश्यसाथ एकीकरण अभियानद्वारा ‘संघीय समाजवादी फोरम नेपाल’ को उदय भएको हो ।
संघीय समाजवादी पार्टीको स्थापनाको पृष्ठभूमि नै उत्पीडन र बहिष्करणमा परेका जाति, समुदाय र राष्ट्रियताहरूको पहिचान र अधिकार स्थापित गराउनु रहेको थियो । यस महान् उद्देश्यका साथ संघीय समाजवादी पार्टीको नामले नयाँ खालको बैकल्पिक राष्ट्रिय शक्ति निर्माणमा जुटेका तत्कालीन समयका संघर्षशील नेताहरू दुईवटा कुरामा केन्द्रित थिए (१) सवै जातजाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दाहरू समेटिने पार्टीको निर्माण (२) पार्टीको तलदेखि माथिल्लो निकायमा सवै जातजाति, वर्ग, समुदाय र क्षेत्रको समानुपातिक नेतृत्वको प्रत्याभूति । र, यही पृष्ठभूमिमा वर्षाैंदेखिको राजनीतिक लगानी त्यागेर नेताहरूले यो बैकल्पिक राजनीतिक शक्ति ‘संघीय समाजवादी पार्टी’ को निर्माण गरेका थिए ।
संघीय समाजवादी पार्टीले आफ्नो अभियान मुताबिक एकताको बाटोलाई खुला राख्यो । एकता अभियानमुताबिक नै संघीय समाजवादी पार्टी, मेधेशी जनअधिकार फोरम नेपाल र खस राष्ट्रिय समावेशी पार्टीबीच एकीकरण सम्भव भई उपेन्द्र यादवको नेतृत्वमा ‘संघीय समाजवादी फोरम नेपाल’ को नामले एकता हुन गयो ।
एकीकरणको नाममा बिचलनको शुरूआत भयो । समानुपातिक समावेशीताको आधारभूत मूल्य–मान्यता बोेकेको पार्टीले एकीकरण गर्ने समयमा समानुपातिक समावेशीको सिद्धान्त नै छोडिदियो । एकीकरण अभियानमा झन् समावेशीताको मलजल हुनुका सट्टा संगठन नै तहसनहस हुने गरी संरचना बन्यो । पार्टीमा केही नेताहरूको व्यक्तिवादी सोचले पार्टीलाई आफ्नो विचारबाट बिमुख गरायो । एकीकरणको नाममा संघीय समाजवादीको विधानमा रहेको समानुपातिक समावेशीको नीतिलाई अस्वीकृत गरिदियो । केही नेताहरूको स्वार्थी चरित्रले उत्पीडित जनताको समानुपातिक समावेशिताको हकलाई नै कुण्ठित पार्ने षडयन्त्रले हामी सच्चा जनताका सिपाहीहरूलाई मर्माहत तुल्याउनु स्वभाविक बन्यो । पूर्ण समानुपातिक चरित्रको एक मात्र पार्टीको संज्ञा पाउन थालेको पार्टीमा आएको यस बिचलनले जनताले अपेक्षा गरेको समानुपातिक चरित्र भएको नयाँ खालको राष्ट्रिय पार्टीको निर्माण हुन नसक्ने हाम्रो ठहर छ । यसरी कसरी नयाँ खालको बैकल्पिक राजनीतिक शक्तिको निर्माण हुने आशा गर्न सकिन्छ ? हामीले विरोध गर्यौं, फरक मत दर्ज गरायौं तर अन्तरपार्टी लोकतन्त्रको बैधानिक अधिकारलाई प्रयोग गर्न नदिई नेतृत्वले निरंकुश, स्वेच्छाचारी र गैरबैधानिक चरित्र प्रदर्शन गर्यो । यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत धज्जी उडाउँदै नेतृत्वले नै एउटा अग्रपंक्तिको क्रान्तिकारी शक्ति बन्ने सपना बोेकेको पार्टीलाई परम्परागत तथा यास्थितिवादी पार्टीको रूपमा परिणत गरिदिएको छ ।

आम नेपाली जनता जो हिजो उत्पीडन, दमन र शोषण सहँदै आएका थिए, आज सवै तह र निकायमा समानुपातिक समावेशीता र विशेषाधिकारको माग गरिरहेको बेला क्रान्तिकारी पूर्ण समानुपातिक समावेशी चरित्र भएको नयाँ खालको पार्टी निर्माणको बाटो छोडेर यथास्तिवादी पूरानै खालको एक थान पार्टी बनाउने नेतृत्वको नीयतिले हामीलाई सशंकित पारेको छ । हामी, अग्रगामी नयाँ खालको राजनीतिक शक्तिको निर्माणको पक्षका भएका असन्तुष्ट साथीहरूले पार्टीमा भइरहेको यस दुष्चक्रबारे सचेत गराई नेतृत्वलाई सच्याउने सुझाव दिन चाहन्छौं । यस पाराले पार्टीका केही नेताविशेषको स्वार्थीसिद्धि हुने भएपनि सिंगो पार्टी चाहिँ विसर्जनको स्थितिमा पुग्ने पक्कापक्की छ । यसरी उत्पीडनमा परेका नेपाली जनताको चाहनालाई सम्बोधन नगरेपछि जनता यस पार्टीबाट टाढिंदै जाने निश्चित प्रायः छ ।
दुई हप्ताभित्र निम्न सुधारहरू गर्न हामी नेतृत्वलाई चेतावनी दिन्छौं । यसो नभएको खण्डमा यो विचार समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाई आवश्यक कदम चाल्न विवश हुनेछ ।

१. हामी सातजना केन्द्रीय सदस्यहरूले पार्टी विधानले दिएको अधिकार अनुसार पार्टीको दोस्रो केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गरि निर्णय गर्न केन्द्रीय कमिटिको विशेष बैठक अविलम्व बोलाइयोस् ।
२. केन्द्रीय समितिको दोस्रा बैठकले गरेको कार्य विभाजनले कामको जिम्ेवारी सहि र समावेशी ढंगले नभएकोले यसमा हाम्रो असहमति छ । यसलाई अविलम्व सच्याइयोस् ।
३. प्रधानमन्त्रीको निर्वाचनमा दलले भाग लिनु बिलकुल गलत थियो । यसबारे आम जनतासँग नेतृत्वले आत्मालोचना गरोस् ।
४. केन्द्रीय समितिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधानसँग सम्बन्धित मुद्दाको बारेमा भएको व्याख्या अपूरो छ । यसमा आदिवासी जनजाति, मधेशी, दलित, खस समुदाय, महिला, मुस्लिम, पिछडा वर्गको विभिन्न हक र शिवेषाधिकारहरूलाई छोडेको छ । संविधान संशोधनले मात्र यी उत्पीडितहरूको माग पूरा हुन सक्दैन । पार्टीले प्रस्तुत गरेको ‘नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरू’ को ३६ बुंदे व्याख्याअनुसार संविधानको सशोधन मात्र गरेर पुग्दैन । यसको पूनरलेखनकै आवश्यकता छ । प्रतिवेदनको यो धारा सच्याइयोस् । र, संविधान पुनरलेखनलाई प्रमुख मुद्दा बनाइयोस् ।
५. वर्तमान व्यवस्थापिका संसद प्रतिक्रान्तिको साधन भएको स्वयं राजनीतिक प्रतिवेदनमा उल्लेख भएको छ । त्यसकारण यसले जनताको अधिकार स्थापित गर्न सक्दैन । त्यसैले पार्टीले आफ्नो सांसदहरूलाई फिर्ता बोलाई उनीहरूलाई आन्दोलनमा परिचालित गर्नुपर्छ ।
६. मधेसी जनताको जारी वलिदानीपूर्ण र साहसी आन्दोलनलाई ठीक ढंगले व्यवस्थापन र नेतृत्व दिन नसकेको जसका कारण वलिदान बढी र उपलब्धी न्यून प्राप्त भएको छ । आन्दोलनरत सबै पक्षलाई संगठीत गर्न नचाहनु यसको एउटा प्रमुख कारण हो । यसकारणले अविलम्ब आन्दोलनरत सबै पक्ष र संगठनहरूलाई संगठीत गरि महा गठबन्धनको निर्माण गरियोस् ।
संघीय नव विचार समूह ः
आजको भेलाले केन्द्रीय स्तरमा निम्नानुसारको समन्वय समिति गठन गरेको छ ।
रिजवान अन्सारी (सर्लाही) – संयोजक
वीरबहादुर लामा (मकवानपुर) – सदस्य
नोरशाङ शेर्पा (दोलखा) – सदस्य
राजकुमार यादव (पर्सा) – सदस्य
रामेश्वरप्रसाद यादव (रौतहट) – सदस्य
बाबुराम भुषाल (बर्दिया) – सदस्य
विश्वदीप लिङ्देल (झापा) – सदस्य
नवीन्द्रकुमार योञ्जन (सिन्धुपाल्चोक) – सदस्य
देवेन्द्र राई (इलाम) – सदस्य
मेम्बर लो (मकवानपुर) – सदस्य
शम्भु चौधरी (बारा) – सदस्य
उपेन्द्र साह (महोत्तरी) – सदस्य
रामेन्द्र साह (सर्लाही) – सदस्य
कलामुद्दीन मदनी (बारा) – सदस्य
रिजवान अन्सारी
संयोजक

मिति ः २०७२÷१०÷१९

1 COMMENT

  1. This shows that Madheshi youths are against the bosses of Madhesh based parties. They will gradually split and eventually support Dr. CK Raut’s Andolan for independent Madhesh. Similarly, Pahadi youths will largely support Dr. Babu Ram’ Naya Shakti party. In 10 years time, political equation will completely change.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.