
मधेशवादी राजनीतिमा निकै चर्चित खुशीलाल मण्डल हाल मधेश राजनीतिबाट ओझेलमा परेका छन् । गजेन्द्र नारायण सिंहको आवश्यकता मधेशमा खड्किएको उनी ठान्छन् । र, एमालेले मात्रै होइन काँग्रेसले पनि मधेशीहरुसँग धोकाधडी गर्दै आएको बताउँछन् । मण्डलसँग गरिएको कुराकानीको संपादित अंश ।
० स्व. गजेन्द्रनारायण सिंहको १० औं पुण्यतिथि मनाइएको छ । स्व. सिंहलाई कसरी सम्झिनुहुन्छ ?
— गजेन्द्रनारायण सिंहको जीवन नेपाली कांग्रेसबाट सुरू भएको थियो । २००६ सालमा सत्याग्रह गरेर उहाँ जेलसमेत जानुभयो । यति योगदान हुँदाहुँदै पनि २०१५ सालको चुनावमा तुलसी गिरीको दबाबमा बीपी कोइरालाले उहाँलाई टिकट नदिएर नागेश्वर सिंहलाई टिकट दिनुभयो । गजेन्द्रनारायण सिंह जीवनभर शोषित उपेक्षित मधेशी, आदिवासी–जनजाति, दलितलगायतको अधिकारका लागि लड्नुभयो । बीपी कोइरालाले विश्वास पात्रका रूपमा मानेका तुलसी गिरी, विश्वबन्धु, नागेश्वर सिंहले सबैलाई धोका दिएर २०१७ साल पुष १ गते राजा महेन्द्रको साथ लागेर प्रजातन्त्रको विरोधमा उत्रिए । गजेन्द्रनारायण सिंह फेरि संघर्षमा आउनुभयो । सुवर्ण शमशेरको मृत्युपछि नेपाली कांगे्रसमा फेरि एक पटक बिचित्रको अवस्था श्रृजना भयो । सुवर्णजीले गोरखा परिषद्, तराई कांग्रेस, प्रजातान्त्रिक महासभालगायतलाई मिलाएर एउटा प्लेटफर्म बनाउनुभएको थियो । तर, बीपी आएपछि सबै विखण्डित भयो । र, गजेन्द्रनारायण सिंहले २०३२ सालमा पूर्वाञ्चल कांग्रेसको स्थापना गर्नुभयो । त्यसबाट फेरि राजनीति गर्नुभयो । २०३८ सालमा हर्क गुरूङको जनसंख्या आयोग गठनका बेलामा मधेशीमा आतंकको अवस्था थियो । मधेशीलाई सिधै भारतीय मुल र भारतबाट आएको भनेर भनिन्थ्यो । ६० लाख भारतीय नेपाल प्रवेश ग¥यो, भनेर सत्ता पक्षबाट प्रचार गराइन्थ्यो । त्यो बेला गजेन्द्रनारायण सिंहले मधेशीमा फैलिएको आतंक समाप्त गर्न सद्भावना परिषद् गठन गर्नुभयो ।
० मधेशीको हितका लागि संघर्ष गर्नुपर्छ, भन्ने भाव उहाँमा कसरी आयो ?
— सुवर्णजीको मृत्युपछि २०३२ सालमा नेपाली कांग्रेस अर्कै किसिमले चल्न थाल्यो । त्यो बेलामा मधेशको मुद्दा गौण थियो ।
० कांग्रेसले मधेशको मुद्दा उठाएन ?
— उठाएन । यहाँसम्म कि पञ्चायतकालमा सूर्यबहादुर थापाको पालामा हर्क गुरूङको नेतृत्वमा आयोग गठन भयो । तर, गुरूङको प्रतिवेदन लाकेन्द्रबहादुर चन्दको पालामा सार्वजनिक गरिएको थियो । त्यसबेला पनि कांग्रेसले मधेशको पक्षमा आवाज उठाएन । बीपी कोइराला २०३६ सालको जनमत संग्रहपछि संविधान बन्ने बेलामा २०३७ सालमा मधेशको हितका लागि केही कुरा उठाउनुभएको थियो । मधेशको भाषा, संस्कृति, आर्थिक अधिकारलाई संविधानले सम्बोधन गर्नुपर्छ, भनेर बीपीले आवाज उठाउनुभएको थियो । तर, २०३८ सालमा मधेशीलाई भारतीय मुल र भारतीय हो भनेर भनिन थालियो । जो राजस्थान, मध्यप्रदेशलगायतका स्थानबाट आए, उनीहरू नेपाली मुलका भए । जसको बसोबास यो भूमिमा रामकाल, कृष्णकाल र बुद्धकालदेखि छ, त्यसलाई भारतीय मुलका भनिन थालियो । त्यो बेला मधेशीका लागि गजेन्द्रबाबुले आवाज उठाउनुभयो । त्यही आवाजका कारण कांग्रेसबाट उहाँको दूरी बढ्यो । र, सदाका लागि उहाँले कांग्रेस परित्याग गर्नुभयो ।
० गजेन्द्रनारायण सिंहले त्यतिबेला मधेशीको पहिचान र अधिकारका लागि उठान गर्नुभएका मुद्दा अहिले कतिको सान्दर्भिक छ ?
— यसमा दुईवटा कुरा छ । एउटा त उहाँले मधेशीमाथि प्रयोग भएको भारतीय मुल शब्दकै विरोध गर्नुभयो । आज कसैले पनि मधेशीलाई भारतीय भन्न सक्दैनन् । मधेशीको पहिचान स्थापित भयो । एउटा यो सोचको अन्त्य भयो । दोश्रो कुरा, २०४६ सालको आन्दोलनका बेला जब प्रजातन्त्र स्थापना भयो, त्यसबेला गजेन्द्रबाबु सद्भावना परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । म त्यतिबेला कांग्रेसमै थिएँ । गजेन्द्रबाबु सद्भावना परिषद्लाई सद्भावना पार्टीमा रूपान्तरित गरेर चार–पाँच वटा बुँदा उठाउनुभयो । गजेन्द्रबाबुले त्यतिबेला नै संघीय प्रणाली, सामाजिक न्याय, जनसंख्याका आधारमा प्रतिनिधित्व, नागरिकता समस्याको समाधानलगायत मुद्दा उठान गर्नुभयो । यी मुद्दाहरू अहिले पनि त्यही धु्रवमा चलिरहेका छन् । सद्भावना पार्टीका सदस्यहरूले त्यसबेला पाँच प्रदेशको माग गरेका थिए ।
० संघीयतालगायतका मुद्दा उठान गर्दा उहाँले कस्ता किसिमका आरोपहरूको सामना गर्नुपरेको थियो ?
— २००७ सालको क्रान्तिअघि कृष्णप्रसाद भट्टराई कुनौली क्याम्पका ईन्चार्ज थिए । उहाँले नै गजेन्द्रनारायण सिंहलाई फुलमाला र अबिरको टीका लगाएर राजविराजमा सत्याग्रह गर्न पठाउनुभएको थियो । त्यसबेला गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक र महेन्द्र राय अमात जेल चलान भए । तर, दुर्भाग्य २०४७ सालमा कृष्णप्रसाद भट्टराईकै सरकारका बेला गजेन्द्रबाबुमाथि कुटपिट भएको थियो । अन्तरिम सरकार गठन भइसकेपछि मधेशको माग लिएर गजेन्द्रबाबु ज्ञापनपत्र दिन जाने क्रममा कुटपिट भएको थियो । ५० जनाभन्दा बढी मानिस घाइते भएका थिए । नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलोपटक एक राष्ट्रिय पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहलाई कृष्णप्रसाद भट्टराईकै सरकारको प्रहरीले लाठीले कुटपिट गरेको थियो । त्यसबेला मधेशीको पहिचान र अधिकारका लागि आवाज उठाउँदा गजेन्द्रनारायण सिंहलाई साम्प्रादायिक मानिस भनेर भन्न थालियो । संघीयता भनेको देशलाई विखण्डन गर्ने माग हो भनेर भनिन्थ्यो । सामाजिक न्यायको कुरा गर्दा साम्प्रादायिक कुरा गरेको भनिन्थ्यो । नागरिकताका कुरा गर्दा भारतीयलाई नागरिकता दिलाउन खोजेको भनेर भनिन्थ्यो । त्यो बेलामा निर्मल लामा २०४७ सालको संविधानमा राय लिन सप्तरी जानुभएको थियो । जब हामीले संघीयतालगायतका कुरा उठाएँ, तब यिनीहरूले राष्ट्र विखण्डन गर्न लागेर भनेर आरोप लगाइयो । हाम्रो सुझाव पेश गर्ने कामसमेत भएन । गजेन्द्रबाबुले प्रतिपादन गरेका एजेण्डा आज देशले स्वीकार गरेको छ । २०६२ मा सात दलले बनाएको दस्तावेजमा गजेन्द्रबाबुले उठान गरेका एजेण्डाहरू लेखिएका छन् । निर्वाचन क्षेत्रमा सुधार गर्ने, मधेशी, आदिवासी–जनजाति, दलितलगायतलाई आरक्षणको व्यवस्था गर्ने, नागरिकता समस्या समाधान गर्नेलगायत कुरा उल्लेख छन् । २०४७ सालमा उठाइएका कुरा १५ वर्षपछि राज्यले स्वीकार ग¥यो । तर, गजेन्द्रबाबु त्यो परिवर्तन हेर्न सक्नुभएन ।
० मधेशकेन्द्रित दलका नेताहरूले आफूहरू गजेन्द्रबाबुकै पथमा हिंडिरहेको भन्ने गर्छन् । उनीहरू वास्तवमा गजेन्द्रबाबुको पथमा हिंडेका हुन् त ?
— यिनीहरू गजेन्द्रबाबुको पथमा हिंडेको भए मधेशको यो अवस्था हुने थिएन । मधेशका सपुतलाई अहिले शहादत दिनुपर्ने थिएन । सद्भावना नामधारी पार्टीकै कुरा गर्ने हो भने, सबैले आफूलाई गजेन्द्रबाबुको अनुयायी भन्ने गरेका छन् । तर, यिनीहरूले सद्भावना नाम गरेका पसल थापेर बसेका छन् । यिनीहरूमा इमान्दारी भइदिएको भए सद्भावना पार्टी मधेशमा नम्बर एक पार्टी हुन्थ्यो । तर, उहाँको अनुयायीमा पनि विचलन आयो । यिनीहरू मन्त्री र पैसाका लागि फुटे । यिनीहरू सिद्धान्तलाई लिएर फुटेकै होइनन् । २०६४ देखि २०६९ सम्म पार्टी तोड्ने र मन्त्री बन्ने काममै मधेशकेन्द्रित दलका नेताहरू लागिरहे । गजेन्द्रबाबु र अहिलेका नेताहरूमा धेरै फरक छ । गजेन्द्रबाबु गान्धीवादी विचारका थिए । उहाँले जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो । उहाँले सिद्धान्त र लक्ष्यलाई प्राथमिकता दिनुभयो । तर, अहिले लक्ष्यका नाममा व्यापार भइरहेको छ ।
० गजेन्द्रनारायण सिंह जस्तो त्यागी वा राजनेता नपाएकै कारण मधेशीले पटक–पटक आन्दोलन गर्नुपरेको हो ?
— हो । २०६४ सालमा मधेशी जनताले ठूलो आश र विश्वासका साथ मधेशकेन्द्रित दलहरूलाई जिताएर पठाएका थिए । त्यसबेला यिनीहरू एकताबद्ध भइदिएको भए, मधेशीको अधिकार त्यहीबेला सुनिश्चित भइसक्थ्यो । २०६३ साल पुष १० गते मधेशी जनताले मधेश बन्दको माध्यमबाट आफ्नो आकांक्षा प्रकट गरिसकेका थिए । २०६३ माघको आन्दोलनले मधेशका मुद्दालाई उचाईमा पु¥यायो । तर, केही पनि भएन । मधेशकेन्द्रित दलका नेताहरूले मन्त्री बन्ने र पैसा कमाउनमै आफ्नो शक्ति लगाए । म चुनौती दिन्छु कि यिनीहरूले आ–आफ्नो सम्पति सार्वजनिक गरोस् । मन्त्री बन्नुअघि र अहिलेको सम्पतिको विवरण सार्वजनिक गर्न यिनीहरूलाई म चुनौती दिन्छु । गजेन्द्रबाबुको नाममा राजनीति गर्ने हक यिनीहरूलाई छैन । मैले सबैको राजनीति जीवन देखेको छु । २००९ सालमा मातृकाप्रसाद कोइरालाले संविधानसभाको चुनाव गर्नु हुँदैन, भनेर षड्यन्त्र गर्नुभयो । उहाँले ठूलो घर बनाउनुभयो । २०४७ सालपछि दुई–चार जना नेताबाहेक सबै नेताको चरित्र उदाङ्गो भइसकेको छ । यिनीहरूले नै अहिले आफूलाई राष्ट्रवादी र राष्ट्रिय नेता भन्छन् । यिनीहरूभन्दा फरक चरित्र मधेशी नेताहरूले पनि प्रदर्शित गर्न सकेका छैनन् । सत्ता, शक्ति र पैसाको भुलभुलैयामा मधेशी नेताहरू पनि लागेका छन् ।
० गजेन्द्रनारायण सिंह जस्तो राजनेता मधेशीले किन पाउन सकेनन् ?
— राजनेता सधैँ जन्मिदैनन् । कांग्रेसमा फेरि पनि सवर्ण शमशेर र बीपी कोइराला जन्मिएनन् । २०४७ सालपछि कृष्णप्रसाद भट्टराईले स्थापित गरेको चरित्र अहिले कांग्रेसभित्र छैन । त्यस्तै, मधेशी दलहरूभित्र पनि गजेन्द्रबाबुको जस्तो चरित्र बोकेका नेताहरू जन्मिएनन् ।
० विगतदेखि अहिलेसम्म मधेशीहरूले पटक–पटक आन्दोलन गरे । अहिले पनि मधेशी जनता आन्दोलनमा छन् । तर, पनि मधेशका एजेण्डा सम्बोधन भइरहेको छैन । अब मधेशकेन्द्रित दल र मधेशी जनता कसरी अगाडि बढ्नुपर्छ ?
— मधेशी जनताले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् । मधेशी जनताले ६ महिनादेखि सारा पीडालाई बिर्सेर आन्दोलनमा छन् । मधेशीहरू गोली खाइरहेका छन् ।
० विगतमा गजेन्द्रनारायण सिंहले एक्लैले मधेशका आवाज सशक्त रूपमा उठान गर्नुहुन्थ्यो । तर, अहिले त्यतिका मानिसले शहादत दिँदासमेत मधेशीका आवाज सुनिँदैन । किन होला ?
— समस्या शासकको मनस्थिति र मधेशी नेताको कर्तुतमा पनि छ । त्यो बेलाको म प्रत्यक्षीदर्शी हुँ । त्यतिखेर मधेशी जनता पनि आफ्नो अधिकारप्रति त्यति जाकरूक थिएनन् । त्यो बेला गजेन्द्रबाबुले मधेशीको पहिचान र अधिकारका लागि आवाज उठाउनुभयो । आज सम्पूर्ण मधेशी जनता आन्दोलनमा छन् । तर, पनि केही हुन सकेको छैन । मधेशी नेतृत्व इमान्दार भइदिएको भए मधेशीलाई यतिका दिनसम्म आन्दोलन नै गर्नु पर्ने थिएन । त्यति बेलाका क्रुर राजाहरूलाई त जनताले धुँडा टेकाए भने अहिले शासन चलाउने र आफूलाई राजा ठान्नेहरूको के हैसियत ! यिनीहरू मधेशी नेतृत्वको कमजोरीले नै टिकिरहेका छन् ।
० मधेश जनता र मधेशी नेतृत्वले के गरे भने स्व. गजेन्द्रनारायण सिंहप्रति सच्चा श्रद्धाञ्जली हुन सक्छ ?
— मधेशी जनता आफ्नो अधिकारका लागि मृत्युवरण गर्नसमेत तयार छन् । नेताहरू जनताका बीचमा पुगेर आन्दोलनलाई उचाईमा पु¥याउन सके भने यथाशीघ्र मधेशका एजेण्डा पूरा गर्न सरकार र ठूला तीन दल बाध्य हुने छन् । यो अन्तर्वार्ता मधेशवाणीमा प्रकाशित छ । कभर तस्बिर : मधेशस्पेशल



