हुलाकी न्यूज, काठमाडौं, १३ असोज । रौतहटको गौरमा भइरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सकिएको छ । मोर्चाको बैठकले सरकारले वार्ताका लागि सार्थक प्रयास गरे आफूहरु पनि अगाडि बढ्ने निर्णय गरेको मोर्चा स्रोतले जनाएको छ ।

गौरमा बसेको मोर्चाको बैठकले वार्ताप्रति सकारात्मकता देखाउनुका साथै अन्य निर्णय पनि लिएको छ ।

वार्ताका लागि सेना ब्यारेकमा फिर्ता पठाउनु पर्ने, मधेशका सबै जिल्लामा निषेधाज्ञा खारेज गर्नुपर्ने, कफ्र्यू नलगाउने प्रतिबद्धता जनाउनुपर्ने लगायतका मधेशी मोर्चाका पूर्व सर्तहरु मानेको खण्डमा मोर्चा वार्तामा बस्न तयार रहेको मोर्चा स्रोतले जनाएको छ । सरकारको तर्फबाट औपचारिक रुपमा वार्ताका लागि आह्वान गरिए मधेशी मोर्चाले पनि वार्ता समिति गठन गर्ने मोर्चा स्रोतले जनाएको छ ।

यता, मधेशी मोर्चा घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुर तीन प्रमुख दलका शिर्षस्थ नेतासँग अनौपचारिक वार्ताका लागि काठमाडौं आउने भएका छन् । ठाकुरले तीन दलका शिर्षस्थ नेतासँग भोली नै अनौपचारिक वार्ता गर्ने बुझिएको छ ।

मधेशी मोर्चाले भोली हुलाकी राजमार्गमा बन्ने मानव साङ्लोका लागि प्रत्येक मधेशीलाई घरबाट सडकमा आउन आह्वान गरेको छ । मधेशी मोर्चाले सार्वजनिक रुपमा अपिल गर्दै प्रत्येक घरबाट सबै मधेशीलाई आउन आह्वान गर्ने मोर्चा निकट स्रोतले जनाएको छ ।

मधेशी मोर्चाको बैठकले सरकारलाई असहयोग आन्दोलन सुरु गर्ने निर्णय पनि लिएको छ । असहयोग आन्दोलनअन्तर्गत सरकारलाई कर नतिर्ने, टैक्स, भ्याट केही नतिर्ने निर्णय गरेको छ । त्यस्तै, नेपालमा भारतीय च्यानलहरु प्रसारणमा रोक लगाउने केबल महासंघको निर्णयको मोर्चाले भत्र्सना गरेको छ ।

सरकारसँग वार्ता नभएसम्म आन्दोलन जारी रहने मोर्चा स्रोतले जनाएको छ ।

madheshi-morcha-press-release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.