महेश चौरसिया

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘उपेन्द्र यादवलाई एक्ल्याएर मधेशवादी दलहरुबीच बृहत्त मोर्चा निर्माण गरी तीन दलसँग वार्ता गर्ने र सरकारमा जाने’ आशयको खबर सार्वजनिक भएपछि यसबारे थप केही लेख्न मन लाग्यो । राजनीतिक बृत्तमा फैलिएको यो हल्लासँगै केही पत्रकारमित्रहरुले मलाई प्रश्न गरे,– ‘राजेन्द्र महतोले यो के गर्दैछन् ?’ मैले भनेँ,– ‘उपेन्द्र यादवलाई भित्र वा बाहिर राख्न खोज्ने राजेन्द्र महतो को हुन् ?’ मैले थपेँ,– ‘मोर्चा फुटाउने, हचुवाको भरमा वार्ता गर्ने र तत्कालै सरकारमा जाने गैरजिम्मेवार एवं आत्मघाती काम गरेर राजेन्द्र महतोजीले आफ्नो राजनीतिक भविष्य समाप्त गर्नुहोला जस्तो मलाई लाग्दैन ।’

अहिले मधेशी मोर्चालाई फुटाउन, मोर्चाका नेताहरुलाई बद्नाम गर्न र आन्दोलनलाई कमजोर बनाउन मधेशभित्र र इतरका धेरै तत्वहरु लागिपरेका छन् । मोर्चाका प्रमुख नेताहरु विरुद्ध भ्रामक प्रचारबाजी हुँदैछ । मोर्चाभित्रको विवादले आन्दोलन विरोधी तत्वहरुलाई गतिलै खुराक बन्यो । जसमा उपेन्द्र यादवलाई प्रमुख निशाना बनाइएको छ । आखिर मोर्चाभित्र विवाद किन देखियो ? उपेन्द्र यादवलाई किन निशाना बनाइँदै छ ? मोर्चाका नेताहरुबीच धु्रवीकरण किन भयो ? यसका लागि यहाँ चार वटा महत्वपूर्ण प्रसङ्ग उल्लेख गर्न जरुरी छ ।

संविधानसभाबाट राजीनामा

संविधानसभाबाट राजीनामा गर्ने सवालमा मोर्चाभित्रका चारवटै दल सहमत थिए । आन्दोलनमा होमिने, अनि आवश्यक परे अन्तिम अस्त्रको रुपमा सामूहिक राजीनामा दिने । यसमा सबै एक थिए । तर, सद्भावना पार्टीले मोर्चाका सहयात्री दलहरुलाई उछिन्दै अचानक संविधानसभाबाट राजीनामा दियो । महतोको टिमले मधेशमा राजीनामालाई व्यापक प्रचारप्रसार गरियो । जबकि, सदभावना पार्टीले बुझाएको राजीनामा अहिलेसम्म पनि स्वीकृत भएको छैन । पाँचमध्ये दुई जना सभाषद्ले राजीनामा नै बुझाएका छैनन् । मधेशका जिल्लाहरुमा राजीनामालाई ‘राजनीतिक स्टन्ड’ को रुपमा प्रयोग गर्दै आएका महतो पाँच जना सभाषद्को तलब भत्ता हरेक महिना संसद् सचिवालयबाट बुझिरहेका छन् । राजीनामा केवल राजनीतिक स्टन्डबाजी मात्रै रहेको धेरै दिन लुक्न सकेन ।

ढिलैगरी यथार्थ सार्वजनिक भयो । तर, मधेशको आमसभाहरुमा एउटै मञ्चबाट महतोले यादव र ठाकुरलाई लोभीस्वार्थीको आरोप लगाउँदै कार्यक्रममा अप्ठ्यारो पार्न पछि परेनन् । मधेशका जिल्लाहरुमा महतोले उनीहरुविरुद्ध चर्को भाषण गर्दै हिडिरहे । यादव र ठाकुरको साझा भनाई थियो–‘राजीनामा अन्तिम अस्त्र हो । यसलाई सस्तो लोकप्रियताका लागि प्रयोग नगरौं । राजीनामा गर्नै परेसँगै गरौँला ।’

यादव र ठाकुर विरुद्ध भ्रामक प्रचारबाजी

भाद्रको दोस्रो साता सप्तरीको भारदहमा आयोजित मोर्चाको आमसभा सकाएर भोलिपल्ट उपेन्द्र यादव काठमाडौं फर्किए । भोजपुरको पार्टी कार्यक्रममा सहभागी हुन यादव त्यता लागे । सोही दिन महन्थ ठाकुर पनि राजधानी आए । यादव र ठाकुरको राजधानी आगमनलाई महतोले भ्रामक प्रचारबाजी गर्न भ्याएछन् । महतोले अफवाह फैलाए,– ‘निजिस्वार्थ पूर्तिका लागि सरकारसँग वार्ता गर्न यादव र ठाकुर काठमाडौं गएका हुन् ।’ महतो आफैले राजधानीमा पत्रकारहरुलाई टेलिफोन गरी यादव र ठाकुर विरुद्ध समाचार लेख्न अनुरोध गरेका रहेछन् । पछि तिनै पत्रकार मित्रहरुबाट यथार्थ खुलाए । महतोका फेसबुक कार्यकर्ताहरुले पनि यादव र ठाकुरलाई मधेश विरोधीको रुपमा चित्रण गर्न भरमुग्दर प्रयत्न गरे । तर, सफल भएन । योजनाबद्व रुपमा महतो खटाएको गिरोहको पर्दाफास भयो । महतोको रणनीति त्यहीँनेर चूक्यो ।

उपेन्द्र यादवले त्यतिबेलै भनेका थिए,– ‘मधेश आन्दोलनका सहयात्री दल वा नेतालाई मोर्चाभित्रकै नेताहरुले बद्नाम गर्न खोज्नु आन्दोलनका लागि घातक हो । एउटै ढुङ्गामा सवार भएपछि कसैले पनि आत्मघाती काम नगरौं ।’ मोर्चाका सहयात्री नेताहरुलाई राजधानी गएर मधेश विरोधी गतिविधि गरेको आरोप लगाउने महतो असोज ८ शुक्रवार काठमाडौं आएर भोली पल्ट बीरगंज फर्केका थिए । जबकी, राजीनामा बुझाएर उनले घोषणा गरेका थिए, वार्ता सफल नभएसम्म म राजधानी फर्कन्न । काठमाडौं नफर्किने त्यो घोषणा आखिर राजनीतिक स्टन्डबाजी मात्रै रहेको पुष्टि भयो । सस्तो लोकप्रियताका लागि रचियएको यो षड्यन्त्र फेल भयो ।

चिनियाँ झन्डामा आगजनी

असोज ५ गते सुनसरीमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका कार्यकर्ताहरुले छिमेकी मुलुक चीनको झन्डा जलाएका थिए । आन्दोलनको समिक्षा गर्न भोलिपल्ट सप्तरीमा मोर्चाको बैठक बस्यो । बैठकले संयुक्त रुपमा ७ बुँदे विज्ञप्ति जारी गर्यो । जसको अन्तिम बुँदामा छिमेकी चीनको झन्डा जलाएकोप्रति खेद व्यक्त गरियो । मोर्चाभित्र यो विषय विवादको महत्वपूर्ण कारण बन्यो । चीनको झन्डा जलाइएको घटनाप्रति दुःख व्यक्त गर्न महतो राजी थिएनन् । महतोको भनाई थियो, ‘चीनको झन्डाप्रति दुःख व्यक्त गर्ने हो भने अर्को छिमेकी मुलुक भारतलाई धन्यवाद दिँऊ ।’ तर, उपेन्द्र यादवको आग्रह थियो,– ‘मधेश आन्दोलन विशुद्धरुपमा यहाँका स्थानीय जनताको आन्दोलन भएकोले चाहे भारत होस् वा चीन, यसमा कुनै पनि मुलुकको झन्डा जलाउनु गलत हो । आन्दोलनलाई छिमेकीहरुसँग जोड्नु वा मुछ्नु हुँदैन ।’ महतो र उनको मिडिया टिमले खुलेरै भारतको समर्थन गर्दै यादवलाई भारत विरोधीको रुपमा भ्रामक प्रचराबाजी गरे ।

त्यहीबीच नेपालमा भारतविरोधी स्वर चर्को हुँदै गएपछि आन्दोलनलाई बद्नाम हुनबाट जोगाउन असोज ७ गते उपेन्द्र यादवले विज्ञप्ति जारी गरे । विज्ञप्तिमा भनिएको थियो,– ‘न्यायोचित अधिकार प्राप्तिका लागि उठेका नेपाली जनताको आवाज सुन्न सरकारले पूर्णरुपमा बेवास्ता गरिरहेको सन्दर्भमा छिमेकीको हैसियतले भारतले त्यसमा चासो दिनु वा जायज माग सम्बोधनका लागि पहल गर्नु अन्यथा होइन । भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएकोले नेपालको विभिन्न क्षेत्रबाट भइरहेको भारत विरोधी वक्तव्यबाजी देश हितमा नरहेको र छिमेकीसँगको सम्बन्धप्रति संवेदनशील रही यस्ता गलत तत्वबाट सचेत रहन सबैमा अनुरोध छ ।’ भारत र चीनको प्रसङ्गले मोर्चाभित्र नयाँ विवाद सिर्जना गर्यो ।

बृहत्त् मोर्चा निर्माण

सप्तरीमा असोज ७ गतेकै मोर्चाको बैठकले मधेश आन्दोलनलाई सार्थक निष्कर्षमा पुर्याउन मधेश–थरुहटमा आन्दोलनरत विभिन्न शक्तिहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने औपचारिक निर्णय गरेको थियो । विज्ञप्तिको छैठौं बुँदामा भनिएको छ, ‘मोर्चा र थारुवान संघर्ष समिति एवम् मुस्लिम संघर्ष समिति लगायतसँग भइरहेको सहकार्यलाई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नका लागि मोर्चाको चार सदस्यीय सचिवालयका सदस्यहरु राजेन्द्र श्रेष्ठ, गोविन्द चौधरी, मनिश सुमन र रामनरेश राय यादवलाई जिम्मेवारी दिइएको छ ।’ तर, मोर्चाको निर्णय विपरीत महतो छुट्टै मोर्चा निर्माण गर्ने योजनामा रहेको खबरहरु सार्वजनकि हुँदैछन् । जसमा उपेन्द्र यादवलाई एक्ल्याएर गच्छदारसहितको मोर्चा बनाउन महतो सक्रिय रहेको खबर सतहमा देखिएका छन् । छुट्टै मोर्चा निर्माणका लागि महतोले विजय गच्छदार र राजकिशोर यादवसँग असोज ८ गते छलफल गरेको पनि पुष्टि भयो ।

राजेन्द्र महतो एकतर्फी रुपमा यादवमाथि खनिँदै आएको पछाडि केही ठोस कारण छन् । पछिल्लो समय महतोले आफूलाई ‘मधेशको मसिहा’ को रुपमा प्रस्तुत गर्दै आएका छन् । आन्दोलनसँगै आफ्नो ‘राजनीतिक स्पेस’ तयार गर्ने महतोको यो प्रमुख रणनीति हो । यसका लागि उनले उपेन्द्र यादवलाई आफ्नो मुख्य शत्रु देख्दैछन् । र नै, महतोले एउटा सुनियोजित टिम बनाएर उपेन्द्र यादव विरुद्ध भ्रामक प्रचारबाजी गर्न खटाएका हुन् । यादवलाई नहटाएसम्म आफू सुरक्षित नहुने महतोको ठम्याई छ । ठाकुर र गच्छदार खास प्रतिस्पर्धी नभएको महतोको बुझाई हो । त्यसैले मधेशको ‘महिसा’ बन्ने महतोको उच्च महत्वकांक्षा नै मोर्चाभित्र विवादको मुख्य कारण रहेको मोर्चाकै नेताहरुले टिप्पणी गर्ने गरेका छन् । वर्तमान मधेशी मोर्चालाई फराकिलो बनाउने कुरामा मोर्चाभित्र कुनै विवाद छैन ।

मोर्चामा सबैलाई हुल्नु पर्ने महतोको जोड छ भने त्यो भन्दा फरक विचार उपेन्द्र यादवको । तीन दलसँग गोप्य साँठगाँठ गर्दै हिड्ने गच्छदारबाट सावधान हुनुपर्ने यादवको तर्क छ । कुनै बेला मधेशी मोर्चामै रहेका गच्छदार मोर्चालाई खबरनै नगरी तीन दलको बैठकमा सहभागी हुने गर्थे । आफूलाई आफै मोर्चाको संयोजक घोषणा गर्न भ्याएका थिए । गच्छदारको यस्ता हर्कतले मोर्चाका नेताहरु आजीत थिए । यहाँसम्म कि तीन दलले तयार गरेको १६ बुँदे सहमतिमा गच्छदारले हस्ताक्षर गरेपछि मोर्चाभित्र विवाद चुलियो । र अन्ततः मोर्चाले औपचारिक रुपमै गच्छदारलाई गठबन्धनबाट निकाल्यो । नयाँ संविधान जारी हुने अन्तिम समयसम्म हस्ताक्षर गर्न आतूर देखिएका गच्छदारले तीन दलसँग मिलेर फेरि मधेशलाई कमजोर बनाएर तुहाउँछन् कि भन्ने उपेन्द्र यादवको चिन्ता र चासो हो ।

त्यसैले उनी सशंकित देखिएका हुन् । यादव भन्छन्,– ‘गच्छदारको विगतको भूमिका विश्वासयोग्य छैन । मधेशमा ५० भन्दा आन्दोलनकारीको ज्यान गइसकेको र आन्दोलन उत्कर्षमा रहेको बेला मधेश विरोधी गतिविधि नगर्ने ठोस प्रतिबद्धता नगर्दासम्म गच्छदारलाई मोर्चामा सहभागी गराउनु हुन्न ।’ तर पनि, उपेन्द्र यादवबिनाको महतोले बनाउने भनिएकोे नयाँ मोर्चा कस्तो होला हेर्न बाकी छ ।

र अन्त्यमा,

मधेश आन्दोलन ‘गर या मर’ को अवस्थामा छ । चार दर्जन बढी मधेशी सहीद भइसकेका छन् । हजारौं जनता घाइते तथा अंगभङ्ग छन् । सरकार र प्रहरीको क्रूर रवैया जारी नै छ । आन्दोलनलाई सरकारले पूर्णरुपमा उपेक्षा गरेको अवस्था छ । कसैगरी आन्दोलन कमजोर भयो वा तुहियो भने राज्यले वर्षौसम्म मधेशलाई अपमानित गर्नेछ । मधेशीलाई अधिकारबाट बञ्चित राख्नेछ । मधेशी जनता वर्षौसम्म सडकमा उत्रिने साहस जुटाउने छैनन् । बेला आन्दोलनका सहयात्री दलहरुले विवाद होइन, मनको सबै तूष बिर्सेर आन्दोलनलाई नयाँ उचाई दिनुनै अहिलेको प्रमुख कार्यभार हो । यहाँ बुझ्न जरुरी छ, आन्दोलनकारी सबै शक्तिहरु एउटै ढुङ्गामा सवार छन् । डूबे सबैसँगै डूब्नेछन् । एउटाको खुट्टा तानेर अर्को जोगिनेवाला छैन । अरुलाई आरोप लगाउँदैमा आफ्नो गल्ती ढाकछोप हुँदैन । मोर्चाको आह्वानमा आन्दोलन जनताले गर्दैछन् । सहादत जनताले दिँदैछन् । जनता भोकभोकै सडकमा छन् । मधेशमा राज्यविरुद्ध आक्रोश र असन्तुष्टि चरम छ । त्यसैले जनता कुनै पनि झेली सम्झौता गर्न तयार छैनन् ।

मोर्चाभित्र कै टकरावले गर्दा कतै सरकारले पनि माग सम्बोधन गर्न बेवास्ता गरेको हो कि भन्ने शंका गर्ने ठाँउ प्रशस्त छ । त्यसकारण, महतोको व्यक्तिगत महत्वकांक्षा र इगोले गर्दा आन्दोलनलाई कमजोर बन्न दिनु हुँदैन । आफूलाई आफूलाई मधेशको मसिहा सावित गर्न अनेक प्रपञ्च रच्न माहिर महतोजी मोर्चा र आन्दोलनको बृहत्त हितका लागि भ्रम र जालझेलको राजनीतिक बन्द गर्नुस् । आपसमा लड्ने समय यो होइन । लडाई सरकारसँग छ, नकि मोर्चाभित्र । आन्दोलन सफल बनाउन सबैलाई समेट्न जरुरी छ । तर, आन्दोलन कमजोर बनाउने तत्वबाट सचेत हुनैपर्छ । त्यसैले, उपरान्त मधेश आन्दोलनको भावना विपरीत संगठन वा सम्झौता गर्ने जुनसुकै नेता तथा पार्टीको राजनीतिक भविष्य समाप्त हुनेमा कसैले शंका नगरे हुन्छ ।

लेखक चौरसिया संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक हुन् ।  

chaurasiyanp@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.