दक्षिण भारतको हैदराबाद सहरमा रहेको हुसैन सागर तालमा शिवाले वर्षौँसम्म शव निकाल्न प्रहरीलाई सहयोग गरे।

अनि एक दिन उनले तलाउमा हाम फाल्न लागेका व्यक्तिलाई रोक्दै पहिलोपटक कसैको ज्यान जोगाए।

आफ्नो नाम शिवा मात्रै बताउने उनी १० वर्षको हुँदा प्रहरीहरूको सम्पर्कमा आएको बताउँछन्। प्रहरीले नजिकैको तालबाट शव निकाल्ने व्यक्तिलाई पैसा दिने बताइरहेका थिए।

“सुरुमा त मेरो उमेर कम भएको बताउँदै उनीहरूले अस्वीकार गरे। तर मैले उनीहरूलाई विश्वस्त पारे,” उनी सम्झन्छन्।

 

प्रहरीको बाध्यता

 

भारतमा प्रहरीहरूसँग पर्याप्त मात्रामा बजेट उपलब्ध हुँदैन र उनीहरूलाई राम्रोसँग तालिम दिइएको हुँदैन।

धेरैले पौडन जान्दैनन् र व्यावसायिक रूपमा त्यस्ता कार्य गर्नसक्ने व्यक्तिलाई उनीहरूले पैसा तिरेर काम गराउन सक्दैनन्। त्यसैकारण उनीहरू यस्ता किसिमका अनौपचारिक अनि जोखिमपूर्ण व्यवस्थामा भर पर्न बाध्य छन्।

जब शिवाले उक्त काम गर्न आफू तयार रहेको बताए प्रहरी आश्चर्यमा परे।

शव निकालेपछि उनले ४० भारतीय रुपैयाँ प्राप्त गरेका थिए।

त्यो २० वर्ष अघिको कुरा हो। अहिले उनी ३० वर्षका भए र उनी अझै पनि स्थानीय प्रहरीलाई सहयोग गरिरहेका छन्।

सहरको बीचमा रहेको विशाल हुसैन सागर ताल नजिकै शिवा बस्छन्।

त्यहाँ आत्महत्या गर्नेहरूको शव निकाल्न शिवाले प्रहरीलाई सहयोग गर्छन्। अन्य नदी अनि तालबाट पनि शव निकाल्न शिवाले प्रहरीलाई सहयोग गर्छन्।

तर उनको काम तालबाट शव निकाल्नमा मात्रै सीमित छैन। कतिपय बेला उनले मानिसहरूलाई पानीमा हाम फाल्न रोक्ने अनि हाम फाल्ने बित्तिकै जोगाएका पनि छन्।

“मैले कति शव फेला पारे भन्ने गन्ती बिर्सिसके। तर मैले ११४ जनाको ज्यान जोगाएको छु,” उनले बीबीसीलाई बताए।

उनी श्रीमतीलाई पनि पौडन सिकाइरहेका छन् जसको उद्देश्य महिलाहरूको शव निकाल्न सहयोग होस् भन्ने हो।

हुसैन सागर ताल नजिकै रहेको कार्यालयमा कार्यरत प्रहरी निरीक्षक बी धनलक्ष्मी शिवाको कामले प्रहरीलाई “ठूलो सहयोग पुगेको” बताँउछिन्।

“उनले कति मानिसको जीवन जोगाए भन्ने कुरा म पुष्टि गर्न सक्दिन तर त्यो सङ्ख्या १०० भन्दा बढी हुनुपर्छ,” उनले बीबीसीलाई भनिन्।

भारतमा आत्महत्यालाई अपराध मानिन्छ जसकारण शिवाले जोगाएका मानिसहरू उनले प्रहरीलाई खबर गर्नुअघि नै भाग्छन्।

शिवाले आफूलाई जन्म दिने आमाबाबु को हुन थाहा पाएनन्। उनको बाल्यकाल सडकमै बित्यो।

पछि उनी घरविहीन एक महिला र उनका बच्चाहरूसँगै बस्न थाले। सँगै हुर्किएका ती बालकमध्ये एकले शिवालाई पौडन सिकाएका थिए जसले उनको जीवन परिवर्तन गरिदियो।

“मैले कैयौँ साथीहरू गुमाएको छु। मलाई पौडी खेल्न सिकाउने लक्ष्मण दुर्घटनामा पानीमा डुबे र उनलाई बचाउन खोज्दा अर्का साथीको पनि ज्यान गयो।”

उनीहरूलाई बचाउन नसकेका कारण अरूको जीवन बचाउन लागि परेको शिवा बताउँछन्।

जीवन जोगाएको कतिपय बेला उनले अतिरिक्त रकम पाउँछन्।

स्थानीय सञ्चारमाध्यममा उनको विषयमा समाचार प्रकाशन हुन्छ जसकारण उनी चर्चित छन् र उनलाई तेलुगु चलचित्रहरूमा साना भूमिका पाउन समेत सहयोग गरेको छ।

तर शिवा जीवन जोगाउनुलाई कामका रूपमा हेर्दैनन्।

मानिसले प्रेम सम्बन्धदेखि पारिवारिक झगडा अनि आर्थिक कष्ट लगायतका कारण प्राण अन्त्य गर्न खोज्ने उनी बताउँछन्।

हालसालै मात्र कोरोनाभाइरसबाट सङ्क्रमित भएको हुनसक्ने डरका कारण एकजना व्यक्तिले तालमा हाम फाले। ती व्यक्तिलाई जोगाउन उनका साथी पनि हाम फाले र शिवा पनि हाम फाले।

तर शिवाले ती साथीलाई मात्रै जोगाउन सफल भए। उनका अनुसार मृत्यु भएका व्यक्तिका परिवारले कोरोनाभाइरस सङ्क्रमण सर्नसक्ने खतराका कारण शव उठाएनन्।

“त्यसैले मैले उसको दाहसंस्कार गरेँ,” उनले भने। तर यो कार्यको उनले मूल्य पनि चुकाउनु परेको छ।

हुसैन सागर ताल प्रदूषित छ र विशेष पहिरनबिना पौडने शिवाको स्वास्थ्यमा समस्या देखिएको छ।

“त्यस्ता पहिरन लगाउने समय नै हुँदैन। तत्काल आफू पनि हाम फाल्नुपर्ने हुन्छ,” उनले भने।

दुर्गन्धित तालको किनारमा गर्मी मौसममा सर्प पनि भेटिन्छन् तर शिवाको यसबाट अन्त सर्ने योजना छैन।

“म यहीँ बस्न चाहन्छु,” उनी भन्छन्। “म यहाँ बसे मात्रै ज्यान जोगाउन सक्छु। जीवन जोगाउनुको सन्तुष्टिभन्दा ठूलो अरू केही छैन।”

बीबीसी नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.