हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज प्रसूतिगृह केन्द्रको उद्घाटन गर्नुभएको छ ।

वडा नं ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपामा मन्त्री साह र सांसद सिंहले संयुक्तरुपमा प्रसूतिगृहको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि प्राथमिक स्वास्थ्य केन्द्रमा आजैदेखि प्रसुति सेवा केन्द्र सञ्चालन भएको छ । उद्घाटन समारोहमा मन्त्री साहले मातृ, बाल तथा शिशु मृत्युदर प्रदेश नं २ मा अत्यधिक रहेको हुँदा त्यसलाई कम गर्न सबैको सकारात्मक पहल आवश्यक रहेको बताउनुभयो ।

भौतिक विकासलाई मात्रै विकास भएको ठान्ने प्रवृत्ति उपयुक्त नरहेको उल्लेख गर्दै उहाँले शिक्षा र स्वास्थ्यको अवस्था राम्रो भएमा मात्रै विकासले गति लिने बताउनुभयो । निषेधाज्ञा मात्रै लगाएर कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न नसकिने उहाँको भनाइ थियो ।

राष्ट्रियसभा सदस्य सिंहले प्रसूति सेवा केन्द्रलाई नमूना बनाउन सबैसँग आग्रह गर्नुभयो । राजविराजमा बनाउन लागिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम यथाशीघ्र सूचारु गर्न उहाँले माग गर्नुभयो । निरन्तरको लकडाउनले अर्थतन्त्र खस्किँदो रहेको बताउनुहुँदै उहाँले लकडाउन मात्रै समस्याको समाधान नभएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले तिलाठी, लौनिया र सकरपुरामा समेत अबिलम्ब प्रसूति सेवा केन्द्र सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष सिंहले तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा निकट भविष्यमै टेलीमेट्री प्रणालीबाट सेवा प्रदान गरिनाका साथै एक्सरे सेवा तथा आकस्मिक सेवासमेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

सोही अवसरमा वडा नम्बर ८ को वडा कार्यालय भवन निर्माणका लागि जग्गादान गर्नुहुने इञ्जिनियर शैलेन्द्रकुमार झालाई गाउँपालिका अध्यक्ष सिंहले दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.