हलाकी न्यूज ,जनकपुरधाम : जनकपुरमा एक युवतीलाई उनकै पतिले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहका २६ वर्षीया छोरी आरती साहमाथि उनकै पति सन्जिव साहले एसिड प्रहार गरेका हुन्।

एसिड प्रहार गरेको अभियोगमा जनकपुरधाम उपमहानगरपालिका २० बस्ने २७ वर्षीय सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।

शनिबार बिहान साढे ९ बजे एक युवकले आरतीलाई एसिड प्रहार गरेका हुन्। उनको मुहार र छातीको भाग एसिड प्रहारका कारण जलेको छ। आरतीको अहिले जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।

जनकपुरको देवपुरा रुपैठा घर भएकी आरती माइती घरमै बसेको बेला शनिबार बिहान एसिड प्रहार भएको स्थानीयले बताएका छन्। सरकारले एसिडको खुला विक्री वितरणमा प्रतिबन्ध लगाउन नसक्दा अहिले पनि एसिड आक्रमणका घट्नाहरु हुने गरेका छन् ।

पीडितहरुले खुल रुपमा एसिड विक्री वितरण गर्नेलाई कडा सजाय दिने कानुन बनाउन माग गरिरहेका बेला सरकारले एसिड प्रहार गर्नेका विरुद्ध भने नयाँ कानुनी प्राब्धान ल्याएको छ ।

यस्तो छ कानुनी प्रावधान कसैलाई एसिड फ्याकेर, छर्किएर, खन्याएर वा सेवन गराएर अङ्गभङ्ग भएको अवस्थामा दुवै आँखा जलेर दृष्टि पूर्ण रुपमा नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जलेर कुरुप भएमा, महिला भए दुवै स्तन काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग नासिएमा पीडकलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुनेछ ।

एउटा आँखा, एउटा कान जलेर काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भइ कुरुप भएमा, महिला भए एउटा स्तन जलेर काम नलाग्ने भएमा, दुवै हात वा दुवै खुट्टा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भागमा क्षति भएमा वा मेरुदण्ड काम नलाग्ने भए १० देखि २० वर्षसम्म कैद र ७ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

एसिड आक्रमणका कारण कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि १० वर्ष कैद र एकलाखदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ । आक्रमण गर्दा एसिड शरीरमा नपरे वा उम्किएमा पनि त्यस्तो काम गर्न खोज्ने व्यक्तिलाई मुद्दा हेरी १० वर्षसम्म कैद र पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भिरता तथा जरिवाना रकमसमेत विचार गरी सजाय निर्धारण गर्दा मनासिव क्षतिपूर्ति भराउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.