हुलाकी न्यूज,काठमाडौं :  यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ।

लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष स्वदेशमै उत्पादित सयपत्रीले पुग्ने भएको छ। तिहारका लागि बर्सेनि सयपत्री खरिद गर्न लाखाै‌ रुपैयाँ बाहिरिने गरेको थियो।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सयपत्रीको व्यवसाय बढेकाले स्वदेशमै उत्पादित फूल पर्याप्त हुने बताए।

बजारको मागअनुसार स्वदेशमा उत्पादित फूलले नै धान्न सक्ने उनले बताए। उनले यस वर्ष भारतबाट आयात नगरेर स्वदेशमै उत्पादित फूलले तिहारलाई पुग्ने बताए।

विगतका वर्षमा तिहारका लागि मात्र भारतबाट करिब १२ लाखभन्दा बढी रुपैयाँबराबरको फूल आयात गरिन्थ्यो। एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष श्रेष्ठले यस वर्षको तिहारमा सयपत्री माला १२ लाख र मखमलीको ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने बताए।

उनले माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँमा पाइने बताए। पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएका कारण देश सयपत्रीमा आत्मनिर्भरता हुँदै गएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार भारतबाट कलकत्ते प्रजातिका सयपत्री ल्याइन्थ्यो। सो प्रजातिको खेती नेपालमै सुरु भइसकेको छ। पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टिनमा समावेश गरिनुपर्ने र क्वारेन्टिनलाई प्रभावकारी बनाइनुपर्ने बताए। पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थासँग सहकार्य गरी अध्ययन अनुसन्धान सुरु गरेको जानकारीसमेत गराए।

बीउ बिजन प्रयोगशाला हेटौंडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्रमार्फत सयपत्री फूलको प्रवद्र्धनका लागि धेरै आधुनिक संरचना निर्माण भएकोले पनि सयपत्रीको उत्पादन बढेको बताए।

यस वर्ष कोरोना महामारीका कारण ठूलो संख्यामा मानिस काठमाडौंबाट बाहिरिएका छन्। जसका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने उनको भनाइ छ।

प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाइर्र्ल केन्द्रले आफ्नो तर्फबाट अनैतिक आयातलाई रोक्ने प्रयास गरिरहेको दाबी गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिको पालना गर्दै, अवैधानिक रूपमा भित्रिएको फूल रोक्ने, फिर्ता पठाउने तथा त्यसरी भित्रयाउन खोज्नेलाई कारबाही गरिएको हुमागाइर्र्ले बताए। यही प्रयासअन्तर्गत यस वर्ष अवैधानिक रूपमा फूल भित्रिने क्रम केही हदसम्म कम भएको पनि उनले बताए। वैधानिक रूपमा ल्याइने वस्तुलाई भित्रिन दिनुपर्ने बाध्यता रहेको बताउँदै उनले पुष्प व्यवसायीलाई उत्पादनको दायरा बढाएर भारतीय फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न सकेमा पुष्प आयात घट्ने बताए ।

‘भन्सार मूल्य, कृषि सुधार मूल्य कम भएर मात्र आयात बढेको होइन, यसलाई बढाउँदैमा आयात घट्ने पनि होइन,’ उनले भने, ‘आयात कम गर्न हाम्रो उत्पादन क्षमता बढाएर आयातित फूलको मूल्य जतिकै सस्तो बनाउनुपर्छ ।’ खुला सिमानाका कारण अवैधानिक रूपमा फूल भित्रिने समस्या विद्यमान रहेकाले यसलाई निरुत्साहन गर्न स्थानीय प्रशासन, प्रहरी र किसानले सहकार्य गर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.