हुलाकी न्यूजः अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका-६, ठाडाखानी, धवलागिरी-६, मराङ र मालिका-७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैक्रममा, मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार दाह संस्कार गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा दाह संस्कार गरिएको थियो ।

आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका-७, बिमकी एलिसा केसी, धवलागिरी-६, मराङ ९कल्लेनीका० जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका-६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जीसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमा घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।

धवलागिरी-६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका-७ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.