हुलाकी न्यूज, काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सडकमा माटो पुर्ने कार्यदेखि नाला बनाउनेसम्मको योजना आफ्नै कार्यलय मातहत राखेका छन्।

मन्त्रिपरिषद्को अध्यक्षको हैसियतले मुख्यमन्त्री सम्पूर्ण मन्त्रालयका जिम्मेवार व्यक्ति हुन्। सम्बन्धीत मन्त्रीहरुले मन्त्रालयहरुमार्फत योजनाहरु चलाउनु पर्ने हुन्छ।

तर, प्रदेश २ का मुख्यमन्त्री राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै बजेटमा विभिन्न स्थानमा माटो पुर्ने, सडक ग्रेभल गर्ने र नाला तथा ह्युमपाइप लगाउनेसम्मको योजना राखेका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव मुख्यमन्त्रीले आफ्नै कार्यालयमार्फत यस्तो कार्य गर्न नहुने तर्क गर्छन्।

नेता यादवले हुलाकी न्यूजसँग भने,‘प्रदेश सरकार नै मुख्यमन्त्रीको हो, तर मुख्यमन्त्रीले आफ्नै कार्यलयको मातहतमा यस्तो सडकमा माटो हाल्ने योजनाहरु राख्दा हाँसो उठ्छ। उहाँको भित्री केही अभिष्ट रहेको लाग्छ। मलाई लाग्छ मुख्यमन्त्रीले अनरगल लोभका लागि यस्तो गर्दै हुनुहुन्छ।’

यसैगरी, मुख्यमन्त्री राउतले विभिन्न गैर सरकारी संस्था तथा धार्मिक संस्थाहरुलाई बाँड्नका लागि झण्डै एक करोड रुपैंया विनियोजन गराएका छन्। अनुदान शिर्षकमा उक्त रकमहरु छुट्याइएको छ। यसैगरी, विभिन्न मन्त्रालयले पनि अनुदानका लागि ठूलो रकम छुट्याएको नेता यादव बताउँछन्।

नेकपाका प्रदेश २ सांसद भरत साहले मुख्यमन्त्री कार्यालयबाट अनुदानको रुपमा बाँडिने रकम अपादर्शी भएको बताउँछन्।
सांसद साहले भने,‘मुख्यमन्त्रीले अनुदानको नाममा रकम बाँड्नु उपयुक्त होइन। यो कार्यकर्ता पालन कार्यक्रम जस्तो भयो। यसलाई सुधार गर्नु पर्छ।’

मुख्यमन्त्रीले कहाँ कहाँ पुर्दैछ माटो, ग्रेभेल र नाला?

मुख्यमन्त्री कार्यालयको बजेटमा मगरथाना सोनमा ६ मा माटो पुर्ने योजना राखिएको छ। सोनमाकै वडा २, ५ र ८ मा मुख्यमन्त्री कार्यालयले ह्युमपाइप सप्लाई गर्ने छ।

सिहासनीदेखि शिवनगर सोनमासम्म मुख्यमन्त्री कार्यालयले सडकमा माटो पुर्ने कार्य गर्नेछ। सोनमामै हैन्डपाइप जडानको काम मुख्यमन्त्री कार्यालयले गर्नेछ।

शिव मन्दिर फुलबरियामा पनि मुख्यमन्त्री कार्यालयले माटो पुर्ने कार्य गर्नेछ भने धबौलीमा ग्रेभलको काम मुख्यमन्त्री कार्यालयले गर्नेछ। कमला नगरपालिका ५ मा मुख्यमन्त्री कार्यालयले कल्भर्ट निर्माण गर्नेछ।

नथुनी ठाकुरको घरदेखि रामबहादुरका घरसम्म मुख्यमन्त्री कार्यालयले पिसिसि ढलान गर्ने योजना रहेको छ। मोहन मण्डलको घरदेखि कृष्ण मण्डलको घरसम्म माटो तथा ग्रेभलको काम मुख्यमन्त्री कार्यालयले गर्ने छ।

मुख्यमन्त्री कार्यालयले प्रदेश नि.क्षे ४ मा हैण्ड पाइप जडान गर्नेछ। फुलकाहामा सडकको स्तरोन्नतिको कार्य मुख्यमन्त्री कार्यालयले गर्नेछ। महोत्तरीको लोहरपटी र बलवामा पनि मुख्यमन्त्रीको कार्यालयले सडक मर्मत तथा ग्रेभल हाल्ने काम गर्नेछ।

यस्ता करिब डेढ सयभन्दा बढी योजना मुख्यमन्त्री कार्यालय मातहतमा राखिएको छ। प्रदेश सरकारका अन्य मन्त्रालयहरुको काम मुख्यमन्त्रीले खोसेर प्रचलण विपरीत गर्नु संकास्पद रहेको नेता यादव बताउँछन्।

अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी (सुशासन–१)

मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै (सुशासन २)

कमिसनको खेलमा मुख्यमन्त्री, १२ ठेक्का–पट्टा कम्पनीकै नाममा बजेट (सुशासन ३)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.