हुलाकी न्यूज,जनकपुर : मिथिलाञ्चमा दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन्।
कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि मैथिल (मिथिलाका बासिन्दा) अब श्रद्धा र निष्ठापूर्वक मनाइने छठको तयारीमा जुटेका छन्।
यस पर्व मनाउने क्रममा भोलि (बुधबार) नहाय खाय विधि मनाइन्छ भने बिहीबार निराहर व्रत बसी साँझमा खरना मनाइन्छ।

त्यस्तै शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाँउदो सूर्यलाई अर्घ्य दिएर पारायण गरी छठ पर्वलाई समापन गरिनेछ।

छठपर्व वर्षमा दुई पटक मनाइए पनि कात्तिक महिनामा मनाइने छठपर्वको एक अलग्गै विशेषता रहेको छ। यो पर्व मिथिलाञ्चलको घरघरमा मनाइन्छ।

पर्वको तयारीमा जुटेका व्रतालुहरू अहिले पूजा सामग्रीको बन्दोबस्त गर्नुको साथै जलाशयको घाट सजाउनमा व्यस्त रहेका छन्। हप्तौँ दिन अगाडिदेखि यहाँका पोखरीहरु,नदीलगायतका जलाशयको घाट सजाउन व्यस्त भएका हुन्।
सद्भाव अनि भातृत्वको प्रतिक पनि हो छठ ।

छठपर्वको मुख्य पूजा हुने दिन (सन्ध्या अर्घ्य) का दिन जलाशयलाई दुलही झैँ सिङ्गारिने चलन छ।

समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम अर्थात् गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् भन्ने मान्यतालाई अन्त्य गर्न यस पर्वले सन्देश दिन्छ ।

यो पर्व विधि पुर्‍याएर मनाएमा आफ्ना सम्पूणर् कष्ट हटेर जाने जनविश्वास रहिआएको छ। छालासम्बन्धी रोग निदानका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी, जलाशय, कुण्डमा गइ यस दिन छठ पूजा गर्दछन् ।

षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंस हुँदै छठ भएको बताइन्छ। पहिले विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले हिमाल,पहाडमा पनि मनाइन्छ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा (नहाई खाय), दोस्रो दिनलाई ’खर्ना’, तेस्रो दिनलाई ’सँझिया अर्घ्य’ र अन्तिम दिनलाई ’विहनीया अर्घ्य’ पारायण भनिन्छ ।

अरबाको दिन छठ मनाइने नदी, ताल वा पोखरीको किनार तथा सडक सफा गर्ने, घाँसहरू खुर्किने र पानीलाई सफा गर्ने चलन छ। तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारका रूपमा गाडिएको केराका थम्बा जम्मा गरेर तिनलाई बाँसले उनेर पानीमा नडुब्ने डुङ्गा जस्तो बनाइन्छ र त्यसैमा चढेर लठ्ठीले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेस्रो दिन साँझमा व्रतालुहरू जलाशयमा गइ आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिने गर्छन् अनि चौथो दिन बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ। यसरी छठ पर्व मनाइँदै गर्दा सामूहिक रूपमा मैथिली र भोजपुरी भाषाको पारम्परिक गीत सङ्गीत गाउने चलन छ।

छठको पूजा गर्दा उखु, केराको घोर, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफूल, वतासाजन्य मिठाइ जस्ता सामग्रीहरू आवश्यक पर्छ। ती वस्तुलाई साँझपख बाँसको चोयाले बुनेको छैंटीमा सजाएर खोला, नदी र तलाउका किनारमा लगिन्छ। यसरी विविध सामग्रीयुक्त प्रसादले सजिएको छैंटीलाई श्रद्धापूर्वक आफ्नो टाउकोमा बोकेर घाटसम्म लैजाने चलन रहेको छ ।

विधिपूर्वक सजाइएको जलाशय किनारमा लगिएका सामग्रीहरू फिँजाएर राखिन्छ र पानीमा पसेर एक-एक सामग्री सुपलीमा राखेर डुबुल्की गर्द व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । भोलिपल्ट बिहान पनि त्यसरी नै जलाशयमा डुबुल्की गर्द उदाउँदो सूर्यलाई अर्घ्य चढाइन्छ ।

धार्मिक गाथा

महाभारत कालमा द्रौपदीसहित पाण्डवहरूले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरू गरिएको गाथा पनि छ । त्यस्तै महाभारतमै कणर्ले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठको व्रतको प्रभाव स्वरुप भएको जनउक्ति छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनसूयाले गरेको छठ व्रतको फल स्वरूप उनलाई पतिले सद्व्यवहार गर्न थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको मत पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.