हुलाकी न्यूज, जनकपुरधाम :
नेपाल प्रहरीको घुमुवा (सादा पोसाक) लाई २ हजार रुपैंया नदिदा अहिले एउटा मुसहर बस्ती नै सुनशान भएको छ। इलाका प्रहरी कार्यालय धनुषा महेन्द्रनगरबाट सादा पोसाकमा घुम्ने असई बुलेन्द्र गरी र प्रहरी जवान प्रकाश चौधरीले सालको काठ बेच्दा २ हजार रुपैया मागेको तर मुसहरहरुले नदिदा बस्ती नै सुनशान हुने गरी मुसहरहरुलाई पक्राउ गरिएको छ।

बाढीमा आएर खोलामा रहेको सालको काठ खनेर बेच्न लागेका धनुषा, बटेश्वर–५ शान्तिपुर धारटोलका मुसहरहरुलाई पैसाका कारण पक्राग गरेको छ भने कतिपय मुसहरहरु गाउँ नै छोडेर हिडेका छन्।
जसकारण ७० वर्षीया तारा देवी सदाको घरमा पछिल्लो ४ दिनदेखि खाना पाकेको छैन ।

उनको बुहारी रजिया देवी सदालाई प्रहरीले पक्राउ गरेपछि उनको घरमा खाना नै पाकेको छैन। रजिको श्रीमान नरेश सदा कुवेतमा रहेका छन्। प्रहरीले पक्राउ गर्ने डरले रजियाका ससुरा विपुल सदासमेत घर छोडेर भागेका छन्।

रजियालाई प्रहरीले सोमबार पक्राउ गरेपछि २ छोराछोरी मामा घरमा छन्। ताराकै घर जस्तो शान्तिपुर धारटोल मुसहर बस्ती सुनशान छ । दलित बस्तीमा बालवालिका र बृद्धा मात्रै भेटिन्छ । प्रहरीले पक्राउ गर्ने त्रासले पुरुष महिला ४ दिनदेखि गाउँ छोडेका छन्।

मुसहर बस्तीका अधिकांस आफन्तको घरमा लुकेर बस्दा घरमा रहेका बालवालिका र पशु चौपायाको बेहाल छ। बस्ती नजिकैबाट बग्ने औरही खोलाबाट खनेर ल्याएको सालको काठ बिक्रि गर्दा आइतबार राती प्रहरी र मुसहर बस्तीका दलितसंग झडप भएको थियो।

गिरी र चौधरीले मागेको २ हजार रुपैया दिन अस्वीकार विवाद चर्केको थियो। तर, पैसा माग गरेको आरोप निराधार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निमित प्रमुख प्रहरी नायव निरीक्षक मोहम्द मुस्तफाले बताए । पैसा माग्दा मुसहर युवाहरुले प्रहरीलाई किन पैसा दिने भन्दै प्रतिकार गरेपछि मदतका लागि प्रहरी बोलाएका थिए ।

इलाका प्रहरीको टोलीले सालको काठ नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिकार गर्दा प्रहरी निरीक्षक सहित ५ जना प्रहरी घाइते भएको मुस्तफाले बताए। झडपमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कुमार राय र प्रहरी जवान रामविश्वास पंण्डित घाइते भएको जनाइएको छ।

यता घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालयको टोलीले गर्दैछ। राति प्रहरीसंग झडप गरेको आरोपमा प्रहरीले स्थानीय ५ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन्।

प्रहरीले रजिया देवी सदा, अन्जे सदा, निराजन राउत, रंजिता राउतर फुलगेन सदालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बुधबार उनीहरुको म्याद थप गराएको छ। पक्राउ तीन जना पुरुषमाथि ज्यान मार्ने उद्योग र दुई महिलाहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको छ।

प्रहरीले घरमै बसेका निर्दोषलाई समेत पक्राउ गरेको बटेश्वर गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिवकरण यादवले बताए।

माटोमा पुरीएका पुराना सालको काठ खोलामा बाढी आउदा वर्षेनी स्थानीयले निकालेर बेच्दै आएको वडा अध्यक्ष यादवले बताए । काठ बेच्दा प्रहरीलाई समेत स्थानीयले पैसा बुझाउने गर्थे। लकडाउनमा काम नपाएर बेरोजगार भएका मुसहरहरु एक महिना अगाडि १५ दिन लगाएर समुहमै काठ उत्खनन गरेका थिए। सिंगो रुखबाट ८ वटा सालको टुना बनाएर एक महिनादेखि गाउमै राखिएको थियो। मुल्य नमिल्दा महिना दिनसम्म गाउँमै राखिएको काठ आइतबार राती ६० हजारमा स्थनीयले बेचेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.