हुलाकी न्यूज, जनकपुरधामः प्रदेश सभा २ ले सांसदहरुका लागि खरिद गरेको ल्यापटपमा ४० लाख भ्रष्टाचार भएको देखिएको छ।

प्रदेश सभा सचिवालयले १०७ जना प्रदेश सभा सदस्य र कार्यालय प्रयोजनको लागि टेन्डर प्रक्रियामार्फत् १३६ वटा ल्यापट खरिद गरेको हो।

बजारमा साढे ७६ हजारदेखि अधिकतम ९० हजार नेपाली रुपैयाँसम्ममा पाइने डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान’ आठौं जेनरेशन, आई फाइव, स्क्रीन टच’ ल्यापटप प्रदेश सभा सचिवालयले १ लाख ३३ हजार ४ सय ५५ रुपैयाँको दरले खरिद गरी अनियमितता गरेको नेपालखबरले समाचार छापेको छ।

आर्थिक वर्ष २०७६–०७७ मा सचिवालयले काठमाडौंस्थित म्याक्स इन्टरनेसनल प्रालिबाट १ सय ३६ वटा ल्यापटप भ्याटसहित १ करोड ८१ लाख ४९ हजार ८ सय ९७ रुपैयाँमा प्रदेश सभा सचिवालयले खरिद गरेको थियो। थप २–३ वटा सफ्टवेयर जडान र एउटा ल्यापटप राख्ने झोलासमेत गरी भ्याटसहित प्रति ल्यापटप १ लाख ३३ हजार ४ सय ५५ रुपैयाँमा खरिद गरेको प्रदेश सभा सचिवालयका निमित सचिव रञ्जित यादवले बताए।

खरिद गरेको उक्त ल्यापटपको मूल्य नेपाली बजारमा भ्याटसहित ७६ हजार रुपैयाँदेखि अधिकतम ९० हजारसम्म पर्ने गरेको कम्प्युटर व्यावसायीहरु बताउँछन्। जनकपुरका एक कम्प्युटर व्यावसायीले प्रदेश सभाले किनेको एउटा ल्यापटपको अधिकतम मूल्य ९० हजार भन्दा १ सुका पनि बढी नपर्ने दावी गरे।

ल्यापटपमा थप जडान गरेको ‘माइक्रोसफ्ट अफिस २०१९’ सफ्टवेयरको मूल्य ५ हजारदेखि ६ हजार रुपैयाँसम्म पर्छ भने प्रतिवर्षको एन्टी भाइरसको १ हजार अर्थात् तीनवर्षको ३ हजार पर्ने गरेको ती व्यवसायीको भनाइ छ।

‘एक मोडेलको ल्यापटपमा र्याम, एसएसडी र स्पेशको हिसाबले ५–१० हजार रुपैयाँ तलमाथि हुन सक्छ। तर धेरै मूल्यको अन्तर हुँदैन। तसर्थ डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वान’ ल्यापटपको मूल्य अधिकतम ९० हजारभन्दा बढी पर्दैन,’ उनले भने ‘हामी त खुद्रा बिक्रेता हौं। ४–५ वटा ल्याएर अथवा अर्डर अनुसार ल्याएर बेच्छौं। तर थोक लिएपछि ४–५ हजार रुपैयाँभन्दा बढी नै छुट हुन्छ। त्यसैले यो ल्यापटपको ९० हजारभन्दा बढी पर्दै पर्दैन। जहाँ पनि योभन्दा कम मूल्यमै किन्न सकिन्छ।’

उक्त ल्यापटप नेपालमा अनलाइन मार्फत यो ल्यापटपको मूल्य ७६ हजार ५ सय नेपाली रुपैयाँ पर्ने गरेको इन्टरनेटमा सर्च गरेर देख्न सकिन्छ।

प्रदेश सभा सचिवालयले आर्थिक वर्ष २०७५–०७६ को मंसिरतिर १ सय १८ वटा ल्यापटप मात्र खरिद गर्न टेन्डर आह्वान गरेको थियो। त्यसमा आपुर्तिमा संलग्न सातवटा फार्मले आवेदन दिएका थिए। आपुर्तिको लागि सचिवालयमा नियोटेरिक नेपाल प्रा.लि. काठमाडौं, मेगाटेक प्रा.लि. विराटनगर, म्याक्स इन्टरनेसनल प्रा.लि. काठमाडौं, कुलायन प्रा.लि काठमाडौं, द वेब्स ग्रुप प्रा.लि. काठमाडौं, ग्लोबल लिंक प्रा.लि. काठमाडौं र स्टार अफिसेन्ट इन्टरनेसनल काठमाडौं लगायत सात वटा कम्पनीले टेन्डर भरेका थिए।

सचिवालयका अनुसार सुरुमा त्यसमध्येका मेगाटेकलाई टेन्डर परेको थियो। तर मेगाटेकलाई सम्झौता गर्न आशयपत्र पठाउँदा नआएपछि उसले फारम भर्ने बेला जम्मा गरेको ४ लाख २६ हजार रुपैयाँ धरौटी जफत गरिएको लेखा अधिकृत नविनकुमार मिश्रले बताए।

मेगाटेक सम्झौताके लागि नआएपछि आवेदन दिने मध्येको काठमाडौंको म्याक्स इन्टरनेसनल प्रालिबाट टेन्डरमा माग गरिएको भन्दा थप १८ वटासहित १ सय ३६ वटा ल्यापटप किन्ने सम्झौता गरियो।

विस्तृत समाचारका लागि तलको लिंकमा जानुस्।

https://nepalkhabar.com/politics/39607-2020-10-09-07-58-30

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.