प

हुलाकी न्यूज,पाेखरा ।  पोखरा आउने र आउन चाहनेले सबैभन्दा पहिला लिने नाम हो फेवाताल। कञ्चन फेवातालमा माछापुच्छ्रे डुबुल्की मारेको दृश्यमा रमाउँदा कम्ता आनन्द आउँदैन। पोखरामा फेवासँगै ९ ताल छन्। जुन त्यतिधेरै प्रचारमा आएका छैनन्।

पर्यावरणीय र पर्यटकीय सम्भावना बोकेका यी तालको प्रचार र संरक्षणका लागि पोखरा महानगरपालिकाले पहल थालेको ।

९ मध्ये फेवासहित २ ताल तत्कालीन पोखरा उपमहानगरपालिकामै पर्छन्। बाँकी ७ ताल भने तत्कालीन लेखनाथ नगरपालिकामा। त्यहि भएर लेखनाथलाई ७ तालको बाटिका सहरका रुपमा पनि चिनिन्थ्यो। अहिले लेखनाथ पोखरामा गाभिएर महानगर भएको छ।

प्राकृतिक उपहार पोखराले पाए पनि प्राकृतिक सम्पदाको सौन्दर्यीकरणका लागि खासै पहल भएको छैन। अनि ती सम्पदामा पर्यटक पुर्याएर त्यसबाट आम्दानी गर्न पोखरा चुक्दै आएको छ। पोखराको पर्यटनमा अर्को ‘प्रडक्ट’ थप्न अहिले भने महानगरले जमर्को गरेको छ।

त्यसो त पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोहोर नै घोषणा गरेका थिए– पोखराका ९ ताल जोड्न साइकल ट्रयाक बनाउने भनेर। उनको घोषणालाई मूर्तरुप दिन अहिले आएर काम थालिएको छ। महानगरले पोखराका ९ ताललाई जोड्ने गरी ‘तालदेखि तालसम्म साइकल ट्र्याक’ बनाउन लागेको छ। फेवा, कमलपोखरी, गुँदे, न्युरोनी, खास्टे, दिपाङ, मैदी, बेगनास र रुपाताल जोड्ने गरी ट्र्याक बनाउन लागिएको हो।

रामसार र सीमसारमा सूचीकृत तालको प्रवद्र्धन हुने र पोखरा साइक्लिङका लागि पनि विश्वकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित ट्र्याक बनाउन लागिएको हो। सहरी योजना आयोग पोखराका उपाध्यक्ष रामचन्द्र लामिछानेका अनुसार २ वर्षभित्र बनाएर सक्ने गरी योजना बनाइएको छ। पोखराका ९ ताललाई जोड्ने गरी १ सय किलोमिटर सडकमा साइकल लेन छुट्याइने उनले जानकारी दिए।

ट्र्याकका लागि महानगरले अहिले १५ लाख रुपैयाँ छुट्याएको छ। ट्र्याक सम्बन्धी अध्ययनको काम सकाएर अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्ने चरणमा छ। उपाध्यक्ष लामिछानेले भने, ‘प्रत्यक्ष–अप्रत्यक्ष १ हजार रोजगारी ट्र्याकले सिर्जना गर्छ, बजेट अभाव हुँदैन। पोखरा साइकल सिटीका रुपमा चिनिने बेला आउँदै छ।’

साइकल ट्र्याकमा आवश्यक भौतिक संरचना क्रमागत रुपमा बन्ने छन्। कफी सप, शौचालय, प्रतीक्षालय, साइकल पार्किङजस्ता संरचना बनाइनेछ। अहिले ट्र्याक पर्ने १८ वडाका प्रतिनिधिसँग छलफल गरेर कामका बारेमा अध्ययन भइरहेको लामिछानेले बताए।

साइकल सिटीको अवधारणा

साइकल चलाउने र साइकलमै ठाउँहरु घुमफिर गर्ने ११ युवाको सक्रियतामा २०६९ मा साइकल सिटी पोखरा स्थापना भयो। पछि उनीहरुले  संस्था दर्ता नै गरेर काम गर्न थाले। त्यहि संस्थाले स्थापनाकालदेखि नै पोखरामा साइकल ट्र्याक बनाइनुपर्ने माग राख्दै आएको छ। मुख्य सहरका सडकमा समेत साइकल ट्र्याक बनाइनुपर्ने भन्दै जिल्ला प्रशासनदेखि महानरपालिकासम्म उनीहरुले झकझकाउँदै आएका छन्।

साइकल सिटीले अहिले विभिन्न ठाउँमा शौचालय बनाउने, पाटी पौवामात्र होइन साइकल स्ट्यान्ड समेत बनाउँदै आएको संस्थाका संस्थापक एवं पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले बताए। साइकल सिटीका अभियन्ताहरु अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, राराजस्ता ठाउँमा साइकल यात्रा गरिसकेका छन्।

साइकल सिटीले पोखरामा साइकल कल्चर बढाउन ‘टुर दी फ्रान्स’ को अवधारणा अनुसार ‘टुर दी पोखरा’ गर्दै आएको छ। संस्थाले टुर दी पोखराको पाँचौं संस्करण गरिसकेको छ। पहिलो संस्करणमा ४ सय ८० जनाले भाग लिएको प्रतियोगिताको पाँचौं संस्करणमा १ हजारभन्दा बढीले सहभागिता जनाए।

फेवा फेरोमा पनि साइकल ट्रयाक 

फेवातालको छेवैबाट पैदल मार्ग बनाउने सोच पुरानै हो। यसका लागि केही काम पनि भइसकेको छ। अब भने पैदल मात्र होइन, साइकल मार्गको अवधारणा आएको छ। स्वदेशी र विदेशी पर्यटकलाई थप समय पोखरा रोकेर राख्न यो अर्को ‘प्रडक्ट’ हुने विश्वास लिइएको छ।

यसका लागि पनि पोखरा महानगरले योजना बुनेको छ। करिब २५ करोड रुपैयाँमा फेवामा ट्र्याक बनाउने काम अर्को वर्ष सुरु हुने सहरी योजना आयोग पोखराका उपाध्यक्ष रामचन्द्र लामिछानेले जानकारी दिए।

फस्टाउँदो साइकल व्यापार 

कोही रहरले साइकल चढ्छन्। कसैका लागि साइकल चढ्नु वाध्यता हुन्छ। जे भए पनि पछिल्लो समयमा साइकलका प्रयोगकर्ता बढेका छन्। अझ भनौं वाध्यता भन्दा पनि रहरले साइकल चढ्नेहरु अहिले बढेका छन्। जसका कारण साइकल व्यवसायी हौसिएका छन्।

अघिल्ला वर्षमा हेर्ने हो भने पोखरामा बर्सेनि ८ हजारको हाराहारीमा साइकल बिक्री हुन्थे। पोखरामा साइकल बेच्ने ठूला १५ वटा पसल छन्। कोरोनाको संक्रमणपछि साइकलप्रतिको आकर्षण झन् बढ्दो छ।

पोखरामा ५ दशकदेखि साइकल पसल सञ्चालन गर्दै आएको चालिसे साइकल एन्ड सन्सका सञ्चालक अशोक चालिसे स्वास्थ्य सचेतता बढेको र साइकललाई नै यातायाताको साधनका रुपमा प्रयोग गर्र्न क्रम बढेकाले बिक्री पनि बढेको बताउँछन्। उनका अनुसार लकडाउनपछि १२ सयभन्दा बढी साइकल बिक्री भएका छन्।

५० हजार भन्दा बढी पर्ने साइकलको बिक्री ह्वात्तै बढेको उनले सुनाए। ‘लकडाउनपछि साइकलबाटै डाँडा घुम्न जाने ट्रेन्ड बसेको छ, युवामाझ साइकल लोकप्रिय भएको छ,’ उनले भने। बिदाका बेलामा बालबालिका साइकलमा आकर्षित हुने गरेकामा अहिले युवा र उमेर घर्केकाहरु पनि साइकल चढेर घुम्न निस्कने गरेको उनले सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.