हुलाकी न्यूज ,राजविराज : सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ बरदाही बननिया घर भई काठमाडौं बत्तीसपुतली बस्दै आउनुभएका पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको एक सय वर्षका उमेरमा निधन भएको छ ।

ओम अस्पताल काठमाडौँमा मङ्गलबार राति मृत्यु हुनुभएका सिंहको शव आज काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसस्ंकार गरिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

प्रधान न्यायालयका प्रधानन्यायाधीश हरिप्रसाद प्रधानपछि सर्वोच्च अदालतका पहिलो प्रधानन्यायाधीश बन्नुभएका सिंह टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक कानून तथा संसदीय प्रबन्धमन्त्री पनि हुनुभयो । उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रथम प्रमुख आयुक्त र लोकसेवा आयोगका प्रथम अध्यक्षसमेत बन्नुभयो । सरकारी सेवामा २००३ सालदेखि बडाहाकिमको पदबाट सेवा शुरु गर्दा सिंहको उमेर २७ वर्षको थियो भने प्रधानन्यायाधीश हुँदा ३७ वर्ष मात्र थियो । सिंह नेपालमा सबैभन्दा कम उमेरमा प्रधानन्यायाधीश हुने व्यक्ति हुनुहुन्छ । उहाँपछि राजपरिषद् र राजसभाको स्थायी समितिका सभापतिसमेत बन्नुभयो ।

सिंहकै पालामा नेपाल कानून पत्रिकाको प्रकाशन शुरु भएको थियो । सर्वोच्च अदालतको हालको भवन पनि उहाँकै कार्यकालमा निर्माण भएको अधिवक्ता रामनारायण देवले बताउनुभयो । राजा महेन्द्रले २०१९ असोज ६ गते दरबारभित्र खडा गरेको विशेष जाहेरी विभागको मुख्य पदाधिकारीमा पूर्वप्रधानन्यायाधीश सिंहलाई नै राखेका थिए । सिंहका श्रीमती र नेपाली सेनामा चिकित्सक रहेका एक मात्र छोराको निधनपछि बत्तीसपुतलीमा उहाँ सहयोगीसहित बस्दै आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.