हुलाकी न्यूज, बीरगंजः
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको छ।

बिहीबार पर्साको विन्दवासिनीमा गाउँ पार्टी कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेको बेला नेकपाकै असन्तुष्ट समूहले आक्रमण गरेको थियो।

झडपमा घाइते भएका मुकेश चौरसियाको वीरगञ्जस्थित न्यूरो अस्पतालको आइसियुमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। झडपमा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले चौरसियाको निधन भएको पुष्टि गरे। टाउकोमा गहिरो चोटका कारण अत्यधिक रगत बगेर उनको ज्यान गएको उनले बताए।

चौरासिया तत्कालीन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार थिए।

यता नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आपराधिक समूहले योजनाबद्ध आक्रमण गर्दा चौरासियाको शुक्रबार निधन भएको जानकारी गराएका छन्। घटनामा संलग्नको पहिचान गरेर कडाभन्दा कडा कारवाही माग नेपालले गरेका छन्।

‘पार्टीको कार्यक्रममा योजनाबद्ध आक्रमण गरी आफ्नै कमरेडको हत्या गर्ने र गराउने व्यक्ति एवम् समूह जुनसुकै आवरणमा बसेको भए पनि त्यस्ता आपराधिक व्यक्ति एवम् समूहको पहिचान गरी कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकार तथा सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँछु’ उनले फेसबुक पेजमार्फत भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.