हुलाकी न्यूज, काठमाडौंः
कोरोना महामारीका कारण सर्वसाधारणको जीवन अस्तव्यस्त भएको बेला संघीय सांसदहरूले दसैँ मनाउने खर्च पनि राज्यबाट असुलेका छन्।

महामारीको वेला उनीहरूले नियमित तलब र सुविधाबाहेक दर्जनौँ शीर्षकका कुनै पनि भत्ता छाडेका छैनन्। सांसद र उनीहरूका स्वकीय सचिवहरूको दसैँ भव्य बनाउन संसद्ले तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता वितरण गरेको खबर आजको नयाँ पत्रिकामा छ।

सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन्। त्यस्तै, बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा लिइरहेका छन्। कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन्।

संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन्। मन्त्रीहरूको तलब पनि मन्त्रिपरिषद्बाटै जाने भएकाले संसद्बाट निकासा भएको छैन। तर, तीनजना नवनियुक्त मन्त्रीले संसद्बाट दसैँ भत्ता बुझेर मन्त्रीको शपथ खाएका छन्। यसरी मन्त्रिपरिषद्का २२ सदस्य, चारजना निलम्बित सांसद, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबाहेक तीन सय ६ सांसदले दसैँ मनाउन पूरै एक महिनाको तलब बुझेका छन्।

सांसदहरूलाई प्रत्येक महिनाको तलबबापत मात्रै ६४ हजार ७० रुपैयाँ जान्छ । यसरी सांसदको दसैँ पेस्कीमा एक करोड ९६ लाख पाँच हजार चार सय २० रुपैयाँ खर्च भएको छ। यो न्यूनतम तलब हो, यसबाहेक सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक, समितिका सभापतिहरूको पारिश्रमिक अझ बढी छ । उनीहरूले सोहीबमोजिम भत्ता पाएका छन्।

त्यस्तै, हरेक सदस्यले एकजना अधिकृतस्तरको स्वकीय सचिव राख्न सक्ने सुविधा कानुनले दिएको छ। यसअनुसार संसद् सचिवायलले स्वकीय सचिवहरूको दसैँका लागि ३५ हजार नौ सय ९० रुपैयाँका दरले एक करोड १० लाख ४८ हजार नौ सय ३० रुपैयाँ दसैँ पेस्की दिएको छ। सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षको सचिवालयमा भने एकभन्दा बढी स्वकीय सचिव हुन्छन्। यसरी सांसद र उनका सचिवहरूको दसैँका लागि राज्यकोषबाट तीन करोड ६ लाख ५४ हजार तीन सय ५० रुपैयाँ खर्च भएको छ। जब कि अधिकांश सांसदले सचिवको नाममा श्रीमान्, श्रीमती, छोरा, छोरी, दाजु, भाइ, भतिज र भान्जाभान्जी राखेका छन्।

विस्तृत समाचारका लागि तलको लिंकमा जानुस्।
https://www.nayapatrikadaily.com/news-details/53203/2020-10-17

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.