हुलाकी न्यूज, काठमाडौं :
देशैभरी दलितमाथि भइरहेको हत्या हिंसा रोक्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संयुक्त राष्ट्र संघको ध्यानाकषर्ण गराएको छ।

संयुक्त राष्ट्र संघलाई आइतबार पत्र लेख्दै डा.राउतले दलितहरुमाथि भइरहेको श्रृंखलाबद्ध हत्या तथा बलात्कारको घटनामाथि ध्यानाकषर्ण गराएको हो।

अपराधीहरु उपर तत्काल कारवाहीको माग पनि डा.राउतले गरेका छन्।

यसअघि पनि डा.राउत र गैर आवासीय मधेशी संघका अध्यक्ष बशन्त कुसवाहाले मधेश र मधेशीको समस्याको विषयमा अन्तर्राष्टिय मञ्चहरुमा आवाज उठाउँदै आएका छन्। गैर आवासीय मधेशी संघले अन्तर्राष्टिय मञ्चहरुमा मधेशीको प्रतिनिधित्व गर्दै आएको छ।

संयुक्त राष्ट्र संघलाई पठाइएको पत्र बारे डा.राउतको सचिवालयले लेखेको छ :

दलित तथा सीमान्तकृत समूहहरूको श्रृंखलाबद्ध हत्या र बलात्कार रोक्नेबारे गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र जेनेभा स्थित संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त (#UN Human Rights Council High Commissioner) लाई #जनमत पार्टीको ध्यानाकर्षण पत्र
देशको विभिन्न भागमा भइराखेका दलितहरूको श्रृंखलाबद्ध हत्या र बलात्कारहरूको विरोधमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गर्दै आएको सर्वविदित नै छ। विगतका केही महिनाहरूमा मात्रै भएका प्रतिनिधि घटनाहरूको प्रकृति हेर्दा दलितहरूको हत्यामा सत्ताधारी पार्टीका स्थानीय जनप्रतिनिधि, तिनका नातेदार र निकट कार्यकर्ताहरूको संलग्नता रहेको तर दोषीहरूलाई स्थानीय, प्रदेश र संघीय सरकारको संरक्षण प्राप्त भई प्राय: छानबीन र मुद्दा दर्ता समेत हुन नसकेको, ध्यानाकर्षण गराउन प्रदर्शन गर्दा उल्टा जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारले अत्यधिक बल प्रयोग गरी दमन गरेको, तथा सत्ताधारी पार्टीका नेताहरूले पैसाको बलमा मुद्दालाई मिलेमतो गराई दबाउन खोजेको देखिन्छ।
शासकीय शक्तिको आडमा दलित तथा सीमान्कृत समुदायहरूको घरमाथि कतै जनप्रतिनिधि र जमीन्दारहरूद्वारा डोजर चलाउने र घर भत्काउने कार्य भइराखेको छ भने कतै खेत खोस्ने, कतै घर वा गाउँ निकाला गर्ने, कतै राहत नदिने, कतै बाटो बन्द गरिदिने त कतै छूवाछूत गर्ने जस्ता जघन्य कुकृत्यहरू सत्ताधारी पार्टीका प्रतिनिधि तथा कार्यकर्ताहरूद्वारा निरन्तर भइराखेका छन्।
दलित तथा सीमान्तकृत समूहहरूमाथि भइराखेका यस्ता जघन्य अपराधहरू तत्काल् रोक्न र दलितहरूको हत्या, हिंसा, बलात्कार र दमनको निष्पक्ष छानबीन गरी दोषीलाई अविलम्ब कारबाही गर्न र भविष्यमा यस्ता घटना नदोहोरिऊन् भनेर कानूनी तथा प्रशासनिक सुनिश्चितता गर्न जनमत पार्टी जोड़दार माग गर्दछ।
……………………………….
डा. सी. के. राउत
अध्यक्ष, जनमत पार्टी
संलग्न:
१. २०७७ ज्येष्ठ १ गतेपछि श्रृंखलाबद्ध रूपमा भएका दलितहरूको हत्या र बलात्कारका केही प्रतिनिधि घटनाहरू
बोधार्थ:
१. श्री गृह मन्त्रालय
नेपाल सरकार, काठमाडौं।
२. श्री राष्ट्रिय मानवअधिकार आयोग
काठमाडौं, नेपाल।
३. श्रीमती मिशेल बाचेलेत जेरिया
उच्चायुक्त
संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त कार्यालय
जेनेभा, स्वीट्जरल्याण्ड ।
(अनुवाद प्रतिलिपी सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.