हुलाकी न्यूज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने नयाँ टेस्टले गरिब तथा कम आम्दानी भएका मुलुकमा संक्रमण पहिचान गर्ने क्षमता तीव्र गतिमा बढ्न सक्ने बताएको छ। डब्ल्यूएचओका अनुसार अहिले विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेका छन् भने विश्वभर कोरोनाबाट मृत्यु हुनेमध्ये आधाभन्दा धेरैको मृत्यु अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा भएको छ ।

डब्ल्यूएचओका अनुसार अब नयाँ परीक्षणको खर्च केवल पाँच डलर मात्र पर्नेछ। जसकारण स्वास्थ्यकर्मी र प्रयोगशालाको अभाव भएका मुलुकमा यो परीक्षण निकै महत्वपूर्ण रहनेछ। डब्ल्यूएचओका अनुसार यस किसिमको परीक्षण गर्न सक्ने प्रविधिको विकास गर्ने कम्पनीसँग भएको सम्झौता अनुसार अबको ५ महिनामा १२ करोड मानिसको कोरोना परीक्षण हुनेछ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले नयाँ प्रविधिले १५ देखि २० मिनेटमा कोरोना परीक्षणको नतिजा दिने बताएका छन् । औषधि निर्माता एबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनसँग मिलेर १२ करोड टेस्ट्स तयार पार्ने सहमति जनाइसकेको छ।

नयाँ परीक्षणबाट विश्वका १३३ मुलुक लाभान्वित बन्ने बताइएको छ । जसमा ल्याटिन अमेरिकाका धेरै मुलुकहरु पनि समावेश छन्, जहाँ उल्लेख्य मात्रामा कोरोना संक्रमण बढिरहेको छ। डब्ल्यूएचओका महानिर्देशकले अहिले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका मुलुकका लागि यो परीक्षण महत्वपूर्ण उपलब्धि हुन सक्ने बताएका हुन ।
स्रोत : बीबीसी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.