हुलाकी न्यूजः रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।

कागज, बोतल उठाउने व्यक्तिको हुलियामा सुन, चाँदी पसलको रेकी गरी उनीहरुले चोरी गर्ने गरेका महाशाखा प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

उनीहरुले लाजिम्पाटको पबी जवेलर्समा रहेको एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

पक्राउ परेका तीनैजनालाई महाशाखाको विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट पक्राउ गरी काठमाडौं पठाइएको हो ।

विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको थापाको भनाइ छ । घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् ।

प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।

जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको थापा बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.