हुलाकी न्यूज, जनकपुरधामः
कोरोनाबाट प्रभावित बनेकाे जानकी मेडिकल कलेजका विद्यार्थीहरुको पठनपाठन कर्मचारीहरुको आन्दोलनका कारण झनै डमाडोल अवस्थामा पुगेको छ। आन्दोलनरत कर्मचारीहरु विरुद्ध विद्यार्थीहरुले नै प्रदर्शन गर्ने अवस्था बन्दै गएको कलेज प्रशासनले जनाएको छ।

एमबीबीएसलगायतका विभिन्न विषयको अध्ययन गरिरहेका सयौं विद्यार्थीको पठनपाठन प्रभावित भएपछि विद्यार्थी आक्रोसित बनेका छन्। कर्मचारीले आन्दोलन गरेपनि अध्ययन अध्यापनको कार्य सुचारु हुनु पर्ने विद्यार्थीहरुले माग गरेका छन्।

धनुषाको रमदैया भवाडीस्थित रहेको जानकी मेडिकल कलेजले केही कर्मचारीलाई कारवाही गरेपछि केही कर्मचारीहरुले कलेज ठप्प पारेका हुन्। संस्थाको हित विपरीत काम गरेको भन्दै केही कर्मचारीहरुसँग स्पस्टिकरणसमेत सोधिएको थियो।

पठनपाठन प्रभावित हुने गरी नै कर्मचारीहरुले आन्दोलन गरिरहेको भन्दै विद्यार्थीहरुले प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।

यसअघि तलव भत्ताको माग राखी सेवा ठप्प पारेका करिव एक सय कर्मचारी यस पटक पाउनु पर्ने सञ्चय कोषको रकम र दशै पेशकीको माग गर्दै धर्नामा बसेका हुन्।

रमदैयाका स्थानीय उमेश यादव र श्याम यादव आफु अनुकुल कलेज चलाउन चाहेकाले पटक पटक समस्या भएको प्रशासन शाखा प्रमुख दायानन्द झाले बताएका छन्।

उनीहरु स्थानीय भएको बलमा सबै कर्मचारी र चिकित्सकहरुलाई धाकधम्कीका साथ दबाबमा राखेर कलेज चलाउन खोजेकोले उनीहरुलाई कारवाही गरिएको झाले बताए।

कलेज प्रशासनले उमेश यादवका साथै करार कर्मचारी अञ्जु पटेललाई निस्कासन गरेको छ भने स्थायी कर्मचारी कुल्दिप साह तथा विरेन्द्र झासहितकालाई स्पष्टीकरण सोधेको छ।

प्रशासन प्रमुख झाले अहिलेको समस्या वार्ताको माध्यमबाट समाधान गर्न आह्वान गरेका छन्। उनले कलेजको पठनपाठन सुचारु गराउन प्रशासनले भूमिका खेल्नु पर्ने बताएका छन्।

उनले केही कर्मचारीहरु गुण्डागर्दी गर्दै आएकोले आफू कलेज जान नसकेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.