मसँग तिमीलाई दिन केही नभएर पनि सबथोक थियो,
मेरालागी ‘प्रेम’ मेरो केन्द्रबिंदु थियो !

मैले बुझेको सागरको सबैभन्दा गहिरो तहमा तिमी थियौ,
मैले देख्न नसक्ने आकाशको खालीठाउँमा तिमी थियौ !

जीवनका घुमाउरा प्रश्नचिन्हमा अल्झिदा
तिमी सधैं पूर्णविराम बनी मेरासामु आइदिन्थ्यौ,
र मैले आफूलाई तिमीमा टुंङ्गाइदिन्थे !
भोगाइका छरपस्ट अक्षरहरुबिच रुमलिदा
तिमी सधैं डिको बनेर मलाई शब्द बनाइदिन्थ्यौ
र मैले छरिएको आफूलाई बटुल्दै पूर्ण हुँन्थे !

मसँग तिमीलाई दिन केही नभएर पनि सबथोक थियो,
मसँग तिम्रालागी मात्र बनेको मन्दिर थियो
जहाँ तिमी देवि थियौ
र तिम्रो एकमात्र अमेट्य भक्त – म !
तिमीलाई सुनाउन
मसँग लेखेर नसकिने कविता थियो
तिमीलाई सुम्पिन
मसँग बाँचेर नपुग्ने जिन्दगी थियो

तर आफूलाई तिमीमा अर्पण गर्दागर्दै
पत्तो नै नपाई मेरा अञ्जुली रित्तिसकेछन् ।

वर्तमानबाट बिगदहुँदै
भविष्यबाट वर्तमानमा चिप्लने समयले लेखेको कहानीमा

तिमी दिन हुनेछौ, म रात
स्मृतिबाट मुटुहुँदै
आँखाको चेपदेखी गालामा चिप्लने आँसुको यात्राले लेखेको कहानीमा
तिमी गहिरा आँखा हुनेछौ, म आँसुको डाम !

आधा पूर्णिमा देख्ने रातलाई
आजकल आधा औँशी देख्न थालेकोछु
आधा उज्यालो लाग्ने यो सफर
अब आधा अँध्यारो देख्न थालेकोछु !
भन मलाई-हामी कहाँनेर चुक्यौ ?
तिमीमा आधा आफू र आफूमा आधा तिमी देख्ने मलाई-
जिन्दगी अपुरो लाग्न थालेको छ !

तिमीले हातभरी सयपत्री राखेर मतिर हेर्दा
लाग्थ्यो-म तिम्रो ईश्वर हुँ !
मैले मनभरी टासेको तिम्रो तस्विर सम्झदा
लाग्थ्यो-तिमी मेरी देवी हौ !

तर, आधा कुदिएको पत्थरमा
न मैले मुर्ती देख्न सके न भगवान् !
आधा लेखिएको हाम्रो प्रेममा
न सम्बन्ध देख्न सके न भविष्य !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.