हुलाकी न्यूज, काठमाडौं : कुनै पनि ठेक्का–पट्टा वा माल सामान खरिद गर्दा कोटेशन आह्वान वा टेण्डर प्रक्रिया गरिन्छ। तर, प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा गजबको प्रक्रिया सुरु भएको छ।

कुन ठेक्का–पट्टा कुन कम्पनीले पाउने र कति कमिसन आउने भन्ने पहिले नै निर्णय हुने गरेको प्रमुख प्रतिपक्षी दलका नेताहरुको भनाई छ। कमिसन अनुसार ठेक्का–पट्टा कम्पनीको नाम नै उल्लेख गरेर बजेट विनियोजन हुन्छ। अर्थात सरकारको वजेट मै ठेक्का पट्टा पाउने कम्पनीको नाम उल्लेख हुन्छ।

एउटै संस्था वा निकायको कामलाई टुक्रा–टुक्रा पनि गरेर ठेक्का–पट्टा लगाइएको छ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सडकमा माटो पुर्ने कामदेखि नाला बनाउने योजना पनि आफ्नै कार्यलय मातहतमा राखेका छन्।

जसका लागि मुख्यमन्त्री कार्यालयको बजेटमा १२ वटा ठेक्का–पट्टा कम्पनीको नाम नै तोकेर बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्री आवास भवनमा गाडी पार्किङ कार्यको ठेक्का जय बाबा नर्सिङ कन्सट्रक्सन यदुकुहा ८ धनुषालाई दिइएको वार्षिक कार्यक्रम मै उल्लेख गरिएको छ। रामजानकी मनि मण्डपमा शौचालय निर्माणको कार्य जाल्पा कन्सट्रक्सन जनकपुरधाम १२ लाई दिइएको छ।

बाटो ढलान कार्य ‘माँ जानकी निर्माण सेवा जनकपुरधाम १’ लाई प्रदान गरिएको छ भने गोरगमा ५ को अधुरो सामुदायिक भवन निर्माणको काम ‘आयुस कन्सट्रक्सन जनकपुरधाम ८’ लाई दिइएको छ।

यसैगरी, राष्ट्रिय आधारभुत प्रा.वि. हरि गोरगामा महोत्तरीको काम ‘परिधी कन्ष्ट्रक्सन जनकपुर १ धनुषा’लाई दिइएको बजेटमा उल्लेख छ।

शिव मन्दिर निर्माणको कार्य शुसान्त कन्ष्ट्रक्सन, जनकपुर धनुषालाई प्रदान गरिएको छ भने एस.एन. आर जनता मावि धनुषामा कम्प्युटर खरिदको काम एस.एन. ट्रेर्डर्स लहान सिरहालाई दिइएको छ।

यस्तै, प्रगतिशिल मावि जागेरे टोलको कम्प्युटर खरिदको काम सनराईज कम्प्युटर सेन्टर कटारी ३ उदयपुरलाई दिइएको छ। सोही विद्यालयको प्रोजेक्टर फर्निचर खरिदको काम ब्रोदर्श इलेक्ट्रोनिक्स एण्ड जेनेरल स्टोर सखुवा नन्कारकटी ४ लाई दिइएको छ।

मावि टेडा मोडमा कम्प्युटर, प्रोजेक्टर, फर्निचर खरिदको काम बजरंग जेनरल अर्डर सप्लायर्स लहान सिरहालाई दिइएको छ। राष्ट्रिय प्रावि जलेश्वर ७ को डेस्क बेन्च खरिदको कार्य आयुस ट्रेड लिंक जनकपुर ७ लाई दिइएको छ।

यसैगरी, एस.एनआर.जनता मावि धबौलीमा कम्प्युटर खरिदको काम कुनल एण्ड कृतिका इन्टरप्राइजेज लहानलाई दिइएको छ।

प्रदेश २ संसदको प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्रीले कमिसनको लागि बजेट मै ठेक्का–पट्टा कम्पनीहरुको नाम लेखेको आरोप लगाएका छन्।

नेता मण्डलले हुलाकी न्यूजसँग भने,‘पारदर्शीता र खुल्ला प्रतिस्पर्धा विना यस्तो कार्य गर्नु गलत हो। मुख्यमन्त्री कार्यालयकै बजेटमा यसरी ठेक्का–पट्टा कम्पनीको नामै लेखेर योजना दिनु कमिसनकै लागि हो। यो कमिसनखोरी र भ्रष्टाचारको खुलेर विरोध गर्छु।’

मुख्यमन्त्रीको भ्रष्टाचारमा प्रमुख प्रतिपक्षीले सहयोग नगर्ने दाबी गर्दै नेता मण्डलले भने, ‘विपक्षी पनि मिलेर भ्रष्टाचार गरिरहेको प्रचार गरिएको छ। मुख्यमन्त्रीको यो कार्यको विरोधमा हामी संसद अवरुद्ध गर्छौ। २८ गतेसम्मका लागि हामी कुरेर बसेका छौं।’

यो पनि पढ्नुस्

 

अस्पतालमा जीवनजल नपाउने प्रदेशका मुख्यमन्त्री पिउँछन् १३ लाखको पानी (सुशासन–१)

 

मुख्यमन्त्रीको फोटो झुण्ड्याउन दुई करोड खर्चिदै (सुशासन २)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.