हुलाकी न्यूज, जनकपुरधाम । आगामी मंसिर २ देखि ८ गतेसम्म जनकपुरधाममा सीताराम विवाह महोत्सव मनाइने निर्णय भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीरबाट नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् ।

मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन छ । सीतारामको प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ ।

जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा मङ्सिर २ गते जनकपुर दर्शन, ३ गते फूलबारी लीला ,४ गते धनुषयज्ञ, ५ गते तिलकोत्सव, ६ गते मटकोर, ७ गते शुभविवाह र ८ गते रामकलेवाको कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.