२०७४ मा मधेश राजनीतिका दश चर्चित घटना


२०७४
मा मधेश राजनीतिमा धेरै परिवर्तन भएको छ। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ भने नेपालको संघीय संसदमा दुईवटा मधेश केन्द्रीत दलले स्थान पाएको छ ।

यसैगरी पुराना मधेशवादी नेताहरुले पार्टी परिवर्तन गरेका छन् भने संविधानको विरोध गर्दै आएका मधेशी दलहरुले संविधानलाई स्वीकार गरेका छन् । तर संशोधनको नारा जारी नै राखेका छन्। हुलाकी टीमको नजरमा परेको मुख्य दशवटा घटना समावेश गरिएको छ । बाँकी घटनाहरु तपाईहरुले आफै थप्दै जानु होला।

१) दुई नम्बर प्रदेशमा मधेशी दलको सरकार गठन भएको छ । मधेशी गठबन्धनमा आवद्ध संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार गठन भएको छ। यस सरकारलाई वाम गठबन्धनले पनि समर्थन गरेको छ । फोरमबाट मुख्यमन्त्रीमा लालबाबु राउत निर्वाचित भएका छन्।

२) मधेशी मोर्चामा आवद्ध ६ पार्टी एकीकृत भएर राष्ट्रिय जनता पार्टी गठन भएको छ । राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तमसपा, शरतसिंह भण्डारी नेतृत्वको रामसपा, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रिक समाहित भएका छन्। संयोजक महन्थ ठाकुर भएका छन्।

३) कांग्रेसबाट मधेश राजनीतिमा आएका विजय कुमार गच्छदार पुनः नेपाली कांग्रेस मै फर्केका छन्।

४) मधेश राजनीतिका सक्रिय एवं चर्चित नेताहरु हृदयेश त्रिपाठी र रामेश्वर राय यादव मधेशवादीबाट कम्युनिष्ट भएका छन्। त्रिपाठी एमालेमा प्रवेश गरे भने यादव माओवादी केन्द्रमा ।

५) अन्य प्रदेशको जस्तै दुई नम्बर प्रदेशको अस्थायी राजधानीका विषयमा विवाद चल्यो। मुख्य रुपमा बीरगञ्ज, मलंगवा र गौर प्रर्दशनमा उत्रेका थियो । हाल अस्थायी राजधानी जनकपुरधाममा छन् ।

६) दुई नम्बर प्रदेशमा भाषाको विषयमा विवाद भएको थियो। मधेशवादी दलहरुले मधेशको सम्पर्क भाषाको रुपमा हिन्दी हुनु पर्ने माग गर्दै आएका थिए । तर पछिल्लो समय फोरम र राजपा उक्त मागबाट पछि हटेका छन्। मधेशका मैथिल ब्राम्हण समाज र मिथिला परिषद्ले दुई नम्बर प्रदेशको भाषा मैथिली हुनु पर्ने निर्णय गरेपछि अन्य पक्षले विरोध गरेका थिऐ। हिन्दी, मैथिली, मगही, भोजपुरीलगायतका भाषा विवाद समाधान गर्न ‘मधेशी भाषा’ संयोजनको विकल्प आएको छ ।

७) यस वर्ष स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई राज्य विप्लबका चारवटा मुद्दामा सफाई दिइएको छ। यसैगरी गठबन्धनले विशेष बैठक सम्पन्न गरेको छ।

८) टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीले प्रहरी समक्ष आत्मसम्पर्णन गरेका छन् । भूमिगत अवस्था मै चुनाव जितेका चौधरीले आत्मसम्र्पन गरेपनि जमानत पाएनन्।

९) प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मधेशी दल सहभागी हुने चर्चा चल्यो । सरकारमा सहभागीका विषयमा फोरम नेपालले कयौं पटक वार्ता गर्यो। तर सफल भएन । फोरमले लिखित सहमतिको माग गर्दै आएको छ । राजपाले भने विश्वासको वातावरण बने सरकारमा सहभागी हुने जनाउँदै आएको छ।

१०) आन्दोलनरत मधेशी दलले संविधानलाई स्वीकार गर्दै सबै निर्वाचनमा सहभागी भए। प्रतिनिधि सभाको निर्वाचनबाट राजपा संघीय संसदको चौथो ठूलो दल बन्यो भने फोरम पाँचौं ठूलो दल बन्यो।

अन्य घटनाहरु हाम्रो फेसबुक पेज अथवा अन्य माध्यमबाट पठाउन सक्नु हुनेछ । हामी थप्दै जाने छौं।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.