१२ वर्षदेखि जनस्वास्थ्यसँग खेलवाड गर्दै एभरेष्ट पेपर मिल

Everestpaper_meal
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर(धनुषा) ६ भदौ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर ५ स्थित एभरेष्ट पेपर मिलका संचालकले सर्वोच्च अदालतको आदेश अटेर गरी १२ वर्षदेखि मानव स्वास्थ्यसंग खेलवाड गर्दै आएको छ । सर्वोच्च अदालतले आदेश गरेको १२ वर्ष वितिसक्दा पनि उद्योगले विषादीयुक्त पानी नदीमा विषर्जित गरेर मानवस्वास्थ्यलाई गम्भीर हानी पुर्याउने काम गर्दै आएको छ ।

विस २०६१ साउन १२ गतेमा एभरेष्ट पेपर मिलले विषादीयुक्त गन्हाउँदो पानी औरही नदीमा निकास गरेको ठहर गर्दै उद्योगलाई प्रदूषण रोक्न आवश्यक उपाय अबलम्बन गर्न आदेश गरेको थियो । सो विषादीयुक्त पानीको मात्रामा सुधार ल्याउनुपर्ने सट्टामा उद्योगले औरही नदीमा मिसिने पानीको मात्रा झन बढाएको छ । वरिपरिको क्षेत्रमा औद्योगिक फोहोरमैला गन्हाउँदा सर्वसधारणले नाक थुनेर हिंड्नुपर्ने बाध्यता छ । एभरेष्ट पेपर मिलको विषादीयुक्त गन्हाउँदो पानीको प्रकोपले सर्वसधारण आक्रान्त भएका छन् । पेपर मिलको विषादीयुक्त पानी धनुषा र महोत्तरी हुँदै भारतमा बग्ने औरही नदीमा मिसिन जाँदा दुई दर्जनभन्दा बढी गाबिसका सर्वसधारणदेखि पशु र पानीमा बाँच्ने जल प्राणी प्रभाबित भएको छ ।

सिचाईको लागि नदीको पानी खेतबारीमा प्रयोग गर्दा तथा बाढीको समयमा नदीको पानी अनियन्त्रित भई खेतबारीमा पुग्दा खेतको उर्वरा शक्ति नष्ट भई बालीसमेत नष्ट भएको क्षीरेश्वरनाथ नगरपालिका ६ पकडियाका खुर्सेद राईन बताउँछन् । त्यती मात्र नभई एभरेष्ट पेपर मिलबाट निस्किने प्रदुषित धुवाँबाट मानिसको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्ने गर्दछ ।

प्रदुषित धुवाँबाट मानिसलाई मुटु सम्बन्धी रोगको सिकार हुनुपरेको सोही वडाका रामदयाल साह बताउँछन् । साथै सो मिलबाट निस्किने राँख उडेर छिमेकका गाउँ र महेन्द्रनगर क्षेत्रभित्र बसोबास गर्ने मानिसहरुको आखाँमा परि रातो भई आखाँको विभिन्न रोगबाट पनि ग्रसित हुनुपरेको साह थप्छन् ।

सो पेपर मिल स्थापना भएको तीन दशक बितिरहँदा प्रशोधनपछि निस्किने विषादीयुक्त फोहोर पानीले धनुषाको तीन र महोत्तरीको लगभग २ दर्जन गाबिसका सर्वसधारणदेखि पशु र बालीनाली प्रभाबित भएको छ । वार्षिक १ सय २० मेट्रिक टन कागज उत्पादन गर्ने एभरेष्ट पेपर मिलमा हाल २ हजार कामदार कार्यरत छन् । पेपर मिलबाट प्रतिघन्टा १ सय ८० क्युबिक लिटर आउने विषादीयुक्त पानीले नदीको सौन्दर्यीकरणमा मात्रै नभई नदी वरिपरिको सर्यौ विग्घा खेतीयोग्य जग्गामा लगाईएको बालीनाली, पशुपंक्षी र पानीमा बाँच्ने जिव प्रभाबित हुँदै आएको छ ।

सर्बोच्च अदालतमा पेपर मिलको विषादीयुक्त प्रदूषित पानीको उचित ब्यवस्थापन गर्न २०५८ सालमा नै रिट पनि पर्यो । अदालतको प्राबिधिक टोलिले पनि नदीमा मिसिने पेपर मिलको पानी जिवजन्तु र बालीनालीको लागि विषादी सरह रहेको ठहर गरिसक्दा पनि रोक्न दिएको आदेश कार्यन्वयन हुन सकेको छैन् ।

सर्बोच्चकै आदेश पालना नदीबाट प्रभावितद्धारा पटक–पटक आमरण अनशन , आन्दोलन भयो तर अझै पनि पेपर मिलका सञ्चालक बिरुद्ध राज्य र स्थानीय प्रशासनले पैसाको चलखेलमा कारबाही गर्ने आँट देखाउन सकेको छैन् । महेन्द्रनगरको मुल चोकदेखि ५ सय मिटरको दूरीमा रहेको एभरेष्ट पेपर मिलबाट आउने पानी औरही नदीमा मिसिन जाँदा पानीमा बाँच्ने जिवले पानीबाट पाउनुपर्ने अक्सिजनको मात्रा अत्याधिक घटने हुनाले बाँच्ने सम्भाबना कम हुन्छ । त्यस अतिरिक्त पानीमा रहेको अल्काली एसिडको मात्राले बालीनाली र नदीमा पानी खान जाने पशुको स्वास्थ्यमा समेत गम्भिर प्रभाब पार्दै आएको छ । स्थास्थ्य मानिसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा नदीको पानीमा प्रयोजनमा ल्याउँदै बिस्तारै भयावह किसिमका रोग निम्तिने खतरा पनि बढ्दै गएको छ ।

धनुषाको महेन्द्रनगरमा मिसिएको पेपर मिलको प्रदूषित पानी शान्तिपुर, पकडिया, कुर्था हुँदै महोत्तरीको सितापुर, हरिणमरि, तपनपुर, खुट्टा, रतौली लगायतको दर्जनौ गाबिस भएर जनकपुरको दक्षिण पट्टी भई भारतीय भूमिमा जाने गरेको छ ।

पेपर मिलले भने पानीको ब्यवस्थापन गर्न खासै चासो देखाएको छ्रैन् । न त स्थानीय प्रशासनलाई नै टेरेको छ ।

यता पेपर मिलका सञ्चालकले यस विषयमा हुलाकी न्यूजसँग कुराकानी गर्न मानेको छैन ।

Everest_pani

एभरेष्ट पेपर मिलले नदीमा बगाएको विषादीयुक्त पानीमा हिड्दै स्थानीयवासी ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.