हावाहुँरीले बारा-पर्सामा कति भयाे क्षति?



प्रकाश लम्साल, बारा :
विपत् व्यवस्थापन समिति बाराले आँधीपीडित सवै क्षेत्रका वास्तविक पीडित र क्षतिको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्थानीय तहका जनप्रतिनिधिको रोहवरमा करिब २ साताको अध्ययन र तथ्यांक संकलन गरी समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।

जिल्लाका आठवटा स्थानीय तहलाई प्रभावित पारेर २७ जनाको ज्यान लिने गरी आएको हावाहुरीबाट बारामा २ हजार ४ सय ९३ घरमा क्षति पुगेको, ५ सय ३० जना घाइते भएको र १६ हजार ४ सय ४९ जना प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

सार्वजनिक गरिएको विवरणमा हावाहुरीका कारण २३ करोड ४४ लाख ७६ हजार ८ सय ३५ रूपैयाँ मूल्यबराबरको भौतिक क्षति भएको उल्लेख छ । जसमा २ सय ९३ वटा पक्की घर, ४ सय ८६ वटा अर्धपक्की घर र १ हजार ७ सय १४ वटा कच्ची घरमा क्षति पुगेको छ । ती घरमा क्षति भएपछि १६ हजार ४ सय ४९ जना प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

सबैभन्दा बढी फेटा गाउँपालिका–६ पुरैनियामा १६ वटा पक्की, २९ वटा अर्धपक्की र ७४ वटा कच्ची गरी १ सय १९ वटा घरमा क्षति पुगेको र जसबाट १ करोड ६३ लाख रूपैयाँको क्षति भएको जनाइएको छ ।

सरकारले राहत र पुनर्वासको व्यवस्था गर्ने घोषणा गरेपछि समितिले पछिल्लो समय प्रभावितको जनधनको क्षतिको विवरण संकलन गरेको हो । “हामीले घटना भए लगत्तै सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक मात्रै थियो, त्यसमा वास्तविक तथ्यांक आएको थिएन,” प्रमुख जिल्ला अधिकारीले पौडेलले भने, “अहिले जनप्रतिनिधिकोे प्रमाणीकरणका आधारमा गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी र नेपाल प्रहरीको टोलीले आधिकारिक रूपमा फिल्डमा खटेर प्रत्येक पीडितको घरमा पुगेर तथ्यांक संकलन गरेकाले यो संख्या बढ्न गएको हो ।”

स्थानीय प्रशासनले चैत १७ गते भिषण आँधीहुरीको घटना भएलगत्तै गरेको तथ्यांक संकलनमा ९ सय ४० घर पूर्णरूपमा क्षति भएको उल्लेख थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले पीडितको जनधनको क्षतिको तथ्यांक संकलन गर्ने काम सकिएको र विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गरिसकेकाले अब राहत र पुनर्निर्माण अघि बढाउन सहज भएको बताए । संकलित तथ्यांक तथ्यपरक भएको र जिल्लाका कोही पीडित नछुटेको दाबी प्रशासनको छ ।

त्यस्तै हावाहुरीबाट बारामा करिब ३९ करोड रूपैयाँ बराबरको अन्न बालीमा क्षति पु-याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । आठ स्थानीय तहको कृषि क्षेत्रमा गहुँ, मकै, मुसुरो, तरकारी र फलफूलका बोट गरी ३८ करोड २४ लाख रूपैयाँको क्षति भएको ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए । उनले १ हजार ४ सय ५६ हेक्टरमा लगाइएको गहुँबालीमा ६ करोड ५६ लाख, ५ सय ११ हेक्टरमा लगाइएको मकैबालीमा ४ करोड ८८ लाख, १ हजार ९१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीमा १ करोड ९१ लाख, ४ सय २२ हेक्टरमा लगाइएको मुसुरोमा १ करोड २४ लाख र आँपमा २३ करोड ६१ लाख क्षति भएको बताए ।

फेटा–१ को भलुही भरबलिया, ६ को पुरैनिया, कलैया उपमहागनरपालिका–१८ को मनगढवा, १२ को धर्मनगर, १३ को फूलबरिया, सुवर्ण गाउँपालिका–४ को हर्दिया, ८ को पसरामपुर, ५ को औरहिया, प्रसौनी गाउँपालिका–४ को खुटवामा, ६ को भलुही चोकभन्दा उत्तर, महागढीमाई नगरपालिका–७ को तेलगाई, देवताल गाउँपालिका–७ को रामपुर्वा, पचरौता नगरपालिका–७ को बेनौली, २ को बैरिया र परवानीपुर गाउँपालिका–४ को शिवपुर, रामटोल र बिर्ताटोलमा हावाहुरीले कृषि क्षेत्रमा बढी क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । साभार काराेबारबाट

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.