सीको भ्रमणमा ठाकुर ‘अपमानित’ भएपछि..


हुलाकी न्यूज, काठमाडौँ :
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर चीन फिर्ता भइसकेका छन्।

राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा नेपाल आएका सीको भ्रमणको सम्पूर्ण तयारी नेपाल सरकारले गरेको थियो। अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार।

राजकीय भ्रमणमा आएका सीसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूले पार्टीगत रूपमा पनि भेटघाट गरे।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि भेटघाट गर्ने मौका पाए।

तर, सङ्घीय संसद्मा रहेका तेस्रो र चौथो ठुलो दलका नेताहरूसँग के भयो त?

संसद्को चौथो ठुलो दल समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले मधेशवादी दलका नेताहरूसँग सीको भेटघाट नभएकोमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। भावनात्मक दुरी बढ्न सक्ने उल्लेख गरेका छन्।

समाजवादी पार्टी अहिलेको सङ्घीय सरकारमा छ। अर्थात् समाजवादी पनि सत्तारुढ दल हो।

सीको भ्रमणको सबै चाँजोपाँजो आफ्नै सरकारले गरिरहेका बेला समाजवादीका नेताहरूले सीसँग शिष्टाचार भेट वा सामान्य छलफलसमेत गर्न पाएनन्। झन् उपेन्द्र यादव सरकारका उपप्रधानमन्त्री हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सहयात्री दललाई विश्वास गर्न नसकेको हो अथवा अन्य कुनै कारण छ?

अब कुरा गरौँ संसद्को तेस्रो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा)को।

राजपाको अध्यक्ष मण्डलका संयोजक हुन् महन्थ ठाकुर। संसदीय दलका नेता पनि ठाकुर नै हुन्। ठाकुर प्रतिनिधिसभाका जेष्ठ सदस्यसमेत हुन्। जसले प्रतिनिधिसभाका सम्पूर्ण सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।

सीको भ्रमणका क्रममा शनिवार साँझ राष्ट्रपति विद्या देवी भण्डारीले होटेल सोल्टीमा रात्रि भोज दिएकी थिइन्।

जहाँ सत्तारुढ नेकपा, समाजवादी, प्रतिपक्षी काँग्रेस र राजपाका केही नेताहरूलाई बोलाइएको थियो।

राजपाबाट संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र लक्ष्मण लाल कर्णलाई निमन्त्रणा गरिएको थियो।

राजपा र समाजवादीका नेताहरूसँग छोटो शिष्टाचार भेटघाट हुने भनेर सन्देश पठाइएको थियो।

राष्ट्रपति सीसँग कुनै पनि मधेशवादी दलका नेताको भेटघाट हुन सकेन तर ठाकुरले ‘अपमान’ पनि खेप्नु पर्‍यो।

महन्थ ठाकुर सधैँ सामान्य कुर्ता पैजामा, बन्डी र चप्पल लगाउने गरेका छन्।

सोही पहिरनमा ठाकुर होटेल सोल्टी पुगेका थिए। त्यो दिन ठाकुरले कालो बन्डी लगाएका थिए।

होटेलकै गेटमा ठाकुरको पहिरन देखे पछि गाडी रोकियो। निमन्त्रणा कार्ड खोजियो। ठाकुरका गार्डले कार्ड देखाएपछि भित्र प्रवेश भयो।

तर, भोज आयोजना भएको ब्यांक्वेटको गेटमा पनि ठाकुरले अर्को समस्याको सामना गर्नु पर्‍यो। त्यो थियो उनको पहिरन।

राजतन्त्रमा जस्तै भोजमा सहभागी हुनेहरूलाई ‘नेपाली पोसाक’ लगाएर आउन उर्दी गरिएको थियो।

तर, ठाकुर त्योभन्दा फरक देखिएका थिए।

जस कारण ठाकुर ब्यांक्वेटको गेटमा कर्मचारी र सुरक्षाकर्मीबाट रोकिए। माथिबाट कसैको आदेश आएपछि उनी प्रवेश पाए।

छिमेकी देशका राष्ट्रपतिको सम्मानार्थ शिष्टाचार भेटघाट भनिएकोले ठाकुरले अपमानित महसुस गरेर पनि हलभित्र प्रवेश गरे।

‘तपाईँ केही मिनेट ढिलो हुनु भयो। भेटघाट हुन सक्दैन।’ केही बेरमा एक कर्मचारीले ठाकुरलाई सुनाए।

ठाकुर घरतिर लागे।

सोमबार बबरमहलस्थित पार्टी कार्यालयमा ठाकुरले राजतन्त्रको कुरा सम्झिँदै भन्दै थिए,‘राजतन्त्रको बेलामा दरबारबाट बोलावट हुँदा पनि यस्तै हुन्थ्यो। म ढाका टोपी नलगाई जान्थे। गेटमा सेनाका अधिकारीहरूसँग बहस हुन्थ्यो। म फिर्ता हुन खोज्थे। फेरि भित्रबाट बोलावट हुन्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.