हुलाकी न्यूज, काठमाडौं : समाजवादी पार्टीले संघीय सांसद एवं नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार गिरीलाई कारवाही गरिएको हो।

गिरी सांसद भएको नाताले र सदनको विषय भएकोले संसदीय दलबाट कारवाही गर्नु पर्ने थियो। तर, पार्टी अध्यक्ष उपेन्द्र यादव संसदीय दलमा अहिले पनि अल्पमतमा रहेकोले पार्टी पदाधिकारी बैठकबाट कारवाही गरिएको हो।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। उक्त संशोधन पार्टीले फिर्ता लिन दबाब दिएको थियो। तर, गिरी आफ्नो संशोधनमा अडिग रहिन्। यससँगै गिरीको संसद पद पनि गएको छ।

यता हुलाकी न्यूजसँग कुराकानी गर्दै नेतृ गिरीले आफू अदालत जाने बताइन्।

० पार्टीले कारवाही गरेपछि अब के गर्नु हुन्छ?

म सुरुमा त अदालत गएर न्याय माग्छु। पार्टीले गरेको निर्णय कानुन सम्बत होइन। त्यसकारण अदालतबाट न्याय पाउनेमा ढुक्क छु।

० यसरी त तपाईको राजनीति नै धरापमा पर्ने देखियो नि?

मेरो राजनीति सकिदैन। अहिले त मेरो राजनीतिको सुरुवात नै भएको जस्तो लाग्छ। झन् निखारिएर म आउँछु।

० पार्टीभित्र विरोध गर्ने वा कार्यकर्ताहरुले प्रदर्शन गर्ने केही हुन्छ?

अहिले म पार्टीलाई डिस्टर्ब गर्दिनँ। पार्टीले आफ्नो हिसाबले काम गर्दैछ।

० तपाईलाई के लाग्छ ? पार्टीले किन कारवाही गरेको होला?

ठूलो षड्यन्त्रको तहत मलाई कारवाही गरिएको हो। सुरुमा उनीहरुकै सल्लाहमा मैले विधेयक दर्ता गराएको थिएँ। तर पछि फिर्ता लिन भनियो। त्यो मलाई मन्जुर भएन।

० के तपाई पछि आफ्नो अडानबाट हटेर पद जोगाउनु हुन्छ?

होइन, म अहिले पनि आफ्नो अडानमा अडिग छु र रहने छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.