हुलाकी न्यूज, राजविराज ।
सप्तरीको बाढी प्रभावित क्षेत्र तिलाठी कोइलाडीमा झाडा पखालाको प्रकोप देखिएको छ । सखरपुराका करिब आधा दर्जन सर्वसाधारणको अवस्था गम्भीर रहेको छ भने एक दर्जनभन्दा बढी प्रभावित बनेका छन् ।

स्थानीयबासीहरुले हुलाकी न्यूजलाई दिएका जानकारीअनुसार दुई जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि विराटनगर लगिएको छ भने एक दर्जनभन्दा बढीको उपचार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा हुँदैछ । केही विरामी समान्य उपचार पछि घर फर्केका छन् ।

सखरपुरा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र यादवले हुलाकी न्यूजसँग भने,‘बाढीको प्रभावबाट फैलिन सक्ने रोगहरुबाट स्थानीयबासीलाई हामीले जोगायौं । तर पछिल्लो झाडा पखाला धान खेतको माछा खाएर फैलिएको हो । यस क्षेत्रमा सरसफाईको कमीले पनि यो प्रकोप फैलिएको हो ।’

यादवले दशैंमा अन्य कारणहरुले पनि झाडा पखाला बढेको बताउँदै उपचारको व्यवस्था भइरहेको बताए ।

त्यस क्षेत्रको अवस्थाको अध्ययन गरी हुलाकी हेल्प सेन्टरले स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । गैर आवासीय मधेशी संघ र हुलाकी न्यूजको पहलमा त्यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्य अवस्था बारे थप अध्ययन भइरहेको र आवश्यक परे तत्कालै स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ ।
फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.