संविधान संशोधान विना तेस्रो चरणको निर्वाचन अस्वीकार : राजपा

1526

हुलाकी न्यूज, काठमाडौं । यथास्थिति मै संविधान संशोधन गर्न नसक्ने निष्कर्ष प्रमुख तीन दलले निकालेपछि राष्ट्रिय जनता पार्टी नेपाल आक्रमक रुपमा प्रस्तुत हुने जनाएको छ ।

राजपाका नेताहरु निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामा व्यस्त भएकोले केही दिन यता अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन । जसकारण आधिकारिक निर्णय आएको छैन ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘राष्ट्रिय जनता पार्टीको अडान क्लियर छ । संविधान संशोधन विना निर्वाचन सम्भव छैन । हामी यतिका दिनसम्म कुरेका छौं । सत्तारुढ दलले पनि सहमति गरिसकेको छ । अहिलेको अवस्थामा पछि हट्न मिल्दैन ।’

प्रमुख दलहरु सहमतिबाट बारम्बार पछि हटेको भन्दै यादवले भने,‘उहाँहरुमाथि विश्वास गर्ने अवस्था छैन । उहाँहरुले पुनः षड्यन्त्र गर्दै हुनुहुन्छ । यस पटक हामी ठगिदैनौं । संविधान संशोधन भएन भने हामी निर्वाचनमा जान सक्दैनौं ।’

यता राजपाका प्रवक्ता कृष्णा सिंहले आफुहरु पार्टी दर्तासँगै आन्दोलनको पनि तयारी गरिरहेको बताए । उनले भने,‘संविधान संशोधन कै लागि यति पटक स्थानीय निकायको निर्वाचन सरेको हो । अहिले पुनः संविधान संशोधन गरिएन भने निर्वाचन सर्नेछ । सरकारले बल प्रयोग गरी निर्वाचन गराउने सम्भावनाको आंकलन हामीले पनि गरेका छौं । त्यसकारण हामी पनि आन्दोलनको तयारीमा छौं ।’

स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राजप संयोजक महन्थ ठाकुरसँग टेलिफोन संवादमार्फत निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् । देउवाले संविधान संशोधनका लागि आफुहरु प्रयास जारी राख्ने र मन्त्रिपरिषद्बाट हुन सक्ने कामहरु गर्ने विश्वास ठाकुरलाई दिलाउन खोजेका छन् । तर ठाकुरले मन्त्रिपरिषद्बाट हुन सक्ने काम पनि नभएको बताउँदै वर्तमान सरकारमाथि विश्वास गर्ने आधार नरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here