संविधान संशोधन विनाको निर्वाचनको विरोध किन ?(विचार)

1098
समाजिक सञ्जालमा तराई मधेश राष्टिय परिषदले सार्वजनिक गरेको पम्प्लेट ।

कासिन्द्र यादव

मधेश लोकतान्त्रिक भूमि हो र मधेशीहरुलाई लोकतन्त्र माथि अट्ल विश्वास रहदै आएको कुरा जगजाहेर छ । चुनाव लोकतान्त्रिक अभ्यासको लागि महत्वपूर्ण पद्धती भएकोले हामी चुनावको विरोधी हुन सक्दैनौ । तर चुनाव जब विभेदलाई संस्थागत गर्न र समानता र सामाजिक न्याय जस्ता लोकतान्त्रिक मुल्यमान्यतालाई निषेध गर्न प्रयुक्त हुन्छ तब आम नागरिकको हैसियतले पनि त्यसलाई विरोध गर्नु पर्छ र यो हाम्रो लोकतान्त्रिक अधिकार मात्रै हैन कि हाम्रो कर्तव्य पनि हो ।

हामी नेपाली राजनीतिक इतिहासको विशिष्ट कालखंडमा छौ । नेपालको राजनीतिमा प्रतिक्रियावादी तत्व हावी रहेको अवस्था छ । मधेशीलगायत अन्य सीमान्तकृत समुदायले युगौंदेखि देखिरहेका समानता र न्यायको सपनालाई कुल्चिदैं १६ बुंदे षड्यन्त्रको जगमा निर्माण भएको विभेदकारी संविधानलाई यो चुनावद्वारा राज्यले कार्यन्वन गर्ने प्रयास गर्दैछ । यो चुनावद्वारा राज्यले यो विभेदित र विवादित संविधानलाई वैधता दिन खोजेको छ । यस अर्थमा यो चुनाव १६ बुंदे षड्यन्त्रको नै अर्को चरण हो भने हाम्रो ठहर छ ।

यो संविधान लोकतान्त्रिक मुल्यमान्यताभन्दा पनि नेपालको स्थाइ सत्ताको वर्चस्वशाली सोचको प्रतिनिधित्व गर्छ । बल मिच्याई र संख्याको जोडबलमा निर्माण भएको यो विवादित र विभेदित संविधानको यथोचित संशोधनको लागि मधेश निरन्तर संघर्षमा रहेको कुरा जगजाहेर छ ।

यसैको लागि भएको आन्दोलनको क्रममा ५९ जना वीर मधेशीहरुको राज्यद्वारा हत्या भएका छन् भने हजारौंको अंगभंग भएका छन् । यस्तो अवस्थामा संशोधन बिना नै यो चुनावमा कुनै हिसाबले सहभागी हुनु मधेशीहरुको ती वीर शहीदहरुको सहादतको अपमान र उपहास हो साथ साथै उनीहरुको सपनासंग पनि विश्वासघात हो ।

विगतको एक दसक देखि मधेश निरन्तर जातीय उत्पीडनको मुक्ति र समानता र न्यायको लागि संघर्ष गर्दै आइ रहेको छ । यसै आन्दोलनको जगमा मधेशमा केही राजनीतिक शक्तिको जन्म भएको कुरा सर्वविदितैछ । अहिलेसम्म मधेशको राजनीति सत्ता र संघर्षको सन्तुलन र अन्तरविरोधको राजनीति हो ।

मधेशवादी स्वरुपमा संसदवादी दल भए पनि यिनीहरु आफ्नो राजनीतिक वैधता, शक्ति र समर्थन सडक संघर्षबाट प्राप्त गरेको थियो । आज मधेशवादी दलहरु रुपान्तरणको संघारको चरणमा छ । उनीहरु संसदवादी चुनावी राजनीति शक्तिमा आफुलाई रुपान्तरण गरेका छ्न । संशोधन बिना नै मधेश केन्द्रित दलहरू चुनावमा भाग लिनु एक प्रकारले मधेश राजनीतिको प्रतिमान विस्थापन को संकेत हो ।

मधेशका प्रमुख राजनीतिक शक्तिहरु सडक संघर्षप्रतिको विश्वास गुमाएको अवस्था छ्न । यो सहभागिताले विगतको सबै मधेश आन्दोलनको औचित्व र सार्थकता माथी नै प्रश्न खड़ा गर्छ ।

हाम्रो बुझाईमा मधेशको मुक्तिसहित नेपालको अन्य उत्पीडित जातीय मुक्तिको सवालमा शान्तिपूर्ण आन्दोलन र संघर्षको राजनीतिको अर्को विकल्प छैन । एकातिर चुनावी राजनीतिमा शक्ति, सत्ता र पैसाको अत्याधिक प्रभाव र अर्कोतिर केवल मधेशको ३०–३३ प्रतिशत जनसंख्याको भरमा मधेश केन्द्रित शक्तिले चुनावी राजनीतिले मुलुकको स्थाई शक्ति संरचना रूपान्तरण गर्न सक्दैन ।

केही मधेशी मन्त्री र र राजदूत हुनु बेग्लै कुरो हो । यस अर्थमा भन्न सकिन्छ आज आन्दोलन र संघर्षको राजनीति मात्रै संकटमा छैन, बरु मधेश मुक्तिका संभावना र मधेशीहरु समानता र न्यायको युगौंको सपना नै संकटमा छ । यस्तो परिस्थितिमा हामी चुनावको बहिष्कार गर्दै मधेशमा आन्दोलन र जन संघर्षको राजनीतिक धारलाई जिवित राख्न चाहन्छौ ।

संशोधन बिनाको यो चुनावको बहिष्कारद्वारा हामी यो राज्यलाई स्पष्ट सन्देश दिन चाहन्छौ कि हामी मधेशका जनता कुनै अवस्थामा यो विभेदित संविधानलाई स्वीकार गरेका छैनौं र गर्दैनौ । हामी मधेशप्रति हुने सबै प्रकारका अन्याय र असमानता विरुद्ध लड़दै न्याय, समानता र आत्म सम्मानसहितका समृद्ध मधेश निर्माणका लागि प्रतिबद्ध छौ । संबिधान संशोधन बिना चुनावको बहिष्कार यही प्रयासको सानो नमूना हो ।

लेखक यादव तराई मधेश राष्ट्रिय परिषद्का सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here