संविधानको विरोधमा आदिवासी जनजाति पनि

हुलाकी न्यूज, काठमाडौं : संविधानको विरोध गर्दै असोज तीन गतेलाई कालो दिवसका रुपमा मधेशीहरुले मनाउँदै आएको छ। यस पटक आदिवासी जनजातिहरुले पनि संविधान दिवसको विरोध गर्ने भएको छ।

संविधानको विरोधमा असोज तीनलाई कालो दिवसको रुपमा मनाउन मधेशमा डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले आह्वान गरिसकेको छ। सोही अनुसारको कार्यक्रमको पनि तयारी गरिएको छ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघले पनि संविधान दिवसको विरोधमा कार्यक्रम गर्न आग्रह गरेको छ। संविधान दिवसको अवसरमा कुनै कार्यक्रम नगर्न तर गर्नु परेमा संविधानको विरोधमा कार्यक्रम गर्न आफु मातहतका निकायलाई आग्रह गरेको छ।

‘संविधान जारी भएको दिन असोज ३ गतेलाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित, उत्पीडित जाति समुदायमाथि धोकाधडी, षड्यन्त्र, जालसाजी र पुनः विभेद भएको दिनको रुपमा आदिवासी जनजाति आन्दोलनले लिएको पुनःस्पष्ट पार्दछौं।’ महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ संविधान संशोधनमार्फत आदिवासी जनजाति आन्दोलनको पहिचान र अधिकारका मुद्दाहरू सम्बोधन नहुञ्जेल संविधान जारी भएको दिन असोज ३ गते कुनै पनि कार्यक्रमहरू गरेर नमनाउन र यदि कुनै कार्यक्रम गर्न गएको खण्डमा आदिवासी जनजातिमाथि संविधानबाट पुनः विभेद भएको दिनको रुपमा कार्यक्रमहरू गर्न गराउन यस महासंघसम्बद्ध सम्पूर्ण आदिवासी जनजातीय सदस्य संगठनहरू, प्रदेश, जिल्ला र स्थानीय (महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा) समन्वय परिषद्हरू, विदेश शाखाहरू, सम्बन्धन संगठनहरूलगायत आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाहरूलाई विशेष आग्रह सहितको जानकारी गराउँदछौं ।’

नेपालको आदिवासी जनजाति आन्दोलनको एक मात्र नेतृत्वदायी संस्था नेपाल आदिवासी जनजाति महासंघको संविधानप्रतिको अस्वीकार्यता तथा असन्तुष्टि कायमै रहेको छ, त्यो भनेको नेपालको आदिवासी जनजाति आन्दोलनको असन्तुष्टि कायमै छ ।

संविधान जारी वरिपरिदेखि नै संविधानप्रति असन्तुष्टि राखेर आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुस्लिमलगायत जाति समुदायले शान्तिपूर्ण आन्दोलन, संघर्ष, धर्ना आदि गर्दै विरोध गरिरहेको समेत विज्ञप्तीमा जनाइएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.