शिक्षण प्रणालीः नेपालमा आतंकबाद उत्पादन केन्द्र

राजकिशोर रजक

‘टेररिज्म’को विषय आउन साथ हाम्रो दिमागमा भौतिक हिँसाको चित्र बन्छ। प्रायः हामी हत्या, बम विस्फोट, आत्मघाती हमला, गोली चल्नु अथवा हातहतियारको प्रयोगबाट आक्रमण गर्नुलाई मात्र आतंकवाद भन्छौँ। चारैतिर कोलाहल, भयभित, दिनदहाडै हत्या, हिँसा हुनु र समाजमा हिँसालाई समान्य रुपमा लिइन थाल्नु नै टेररिज्म हो।

पाकिस्तानी पत्रकार हसन निसार बारम्बार एउटा शब्द दोहराउँछ। त्यो शब्द ‘सफ्ट टेररिज्म’ हो । यो शब्दबाट हसन निसारले गहिरो कुरा भन्न खोजेका हुन्। शब्दको भित्री अर्थ कुनै पनि समाज वा देशमा शासक जाति वा धर्मका ठेकेदारको कुटिल चालवाजिबाट आफ्नै गरीब शोषित/शासित जनताको खुन चुस्छन्। शोषण गर्छन्। बिभेद तथा उत्पीडन गर्छन्।

यो सफ्ट टेररिज्म अरु किसिमको टेररिज्मभन्दा कयौँ गुणा घातक तथा खतरकान हुन्छ। भौतिक आतंकवादभन्दा भिन्न रुपमा काम गर्छ। यो विस्तारै तर निरन्तर काम गर्छ तर यसबाट पीडित मान्छे वा समुदाय यसको विरुद्ध केहि गर्न सक्दैनन्। क्यान्सर सरह काम गर्छ। बाहिरबाट हेर्दा समान्य लागे पनि भित्रभित्रै क्यान्सर लागिसकेको हुन्छ। हाम्रो सन्दर्भमा यो विचारधारा सवर्ण मानसिकताबाट प्रभावित हो।

देशमा मुलतः दुई शिक्षा नीति छ। धनिको छोराछोरीका लागि पढ्ने स्कुल छुट्टै छन्। योग्य शिक्षक छन्। स्तरीय पाठ्यक्रम छ।

दलित, बहुजन, सिमान्तका लागि प्रयाप्त स्कुल छैन। स्कुल छ तर शिक्षक छैन। शिक्षक छ तर कक्षामा जाँदैन। उदाहरणका लागि कपिलवस्तुमा प्राविको तुलनामा माध्यमिक विद्यालय छैन। आज पनि १२ देखि १४ किलोमिटर हिडेर माध्यमिक शिक्षा प्राप्त गर्ने बाध्यता छ। मुस्लिम बालवालिकाहरु सामुदायिक विद्यालयमा पढ्दैन। तहगत शिक्षकको अभाव छ। विषयगत शिक्षकको अभाव छ। १३० वटा विद्यालयमा एउटा पनि दरबन्दी छैन। वालवालिकाहरुको सुरक्षा र संरक्षणको अभाव छ।

सयौं किसिमका स्कुल छन्। त्यसमा अनगिनत स्लेबस(पाठ्यक्रम) तथा किताबहरु छन्। निजि क्षेत्रमा स्कुल पिच्छे स्लेबस, थरिथरिका किताबहरु, थरिथरिका प्रकाशनहरु छन्। कसले छापिरहेका छन् यस्ता किताबहरु? सयौ किसिमको स्कुलबाट हजारौ प्रकारका किताबहरु पढेर कुनै देश वा समाजको बच्चाहरु एक अर्कामा कसरी संवाद गर्न सक्छन्? प्रश्न गहिरो तथा विचारनिय छ।

महगो अंग्रेजी मिडियममा पढिरहेका धनीका बच्चाहरु कुनै मजदुर वा रुपन्देहीका मर्चवार क्षेत्रका दलित, मुस्लिम, बहुजनको सरकारी स्कुलमा पढ्ने बच्चाहरुलाई मान्छेका रुपमा गन्न वा मित्र मान्न सक्छन्? के यी दुबै बच्चा मिलेर यो देशको विकासको लागि केहि गर्न सक्छन्? दुई थरी शिक्षा ब्यवस्थाले बच्चाहरुलाई मनोवैज्ञानिक रुपमा, सामाजिक रुपमा समानता, भाइचारा र मान्छे बन्नमा सहयोगी भुमिका खेल्नुको सट्टा दुई किसिमको नागरिक उत्पादन गरिरहेको छ। सानैदेखि यी बच्चाहरुमा हिनभावनाको विकास शिक्षाको माध्यमबाट भैरहेको छ। यही हो सफ्ट टेररिज्म।

जब कुनै विद्यालयमा कुनै घटना वा दुर्घटनाबाट बच्चाको मृत्यू हुन्छ तब होसियारी पूर्वक बच्चाको मृत्यूलाई केवल शारिरिक मृत्यूको भाषामा मिडियाले बोल्ने गर्छ। राहत तथा क्षतिपुर्तिको माँग गर्छन्।

जब कुनै बच्चाले परीक्षामा आसफल भएको कारणले आत्महत्या गर्छ तब त्यो घटनामा आत्महत्या गर्नेको मात्र दोष देखाइन्छ। यस्तो ब्यवस्थाको कारण, शिक्षा प्रणालीको कारण, सिकाई मुल्याँकनको कारण मृत्यू भएको कुरा उठ्दै उठ्दैन। हत्यालाई आत्महत्या भन्छि। समाजले कुनै प्रतिक्रिया दिँदैन। कुनै विरोध पनि जनाउँदैन।

स्कुलमा समाजिक विभेद, शारिरिक दण्ड सजाय, यौन दुव्र्यबहार, आरधारभुत शैक्षिक सामाग्रीको अभाव, स्कुलमा हुने दुर्घटना आदी एउटा मुद्दा हो तर स्कुल आफैमा दुर्घटना हुनु सबभन्दा गहिरो तथा ठूलो मुद्दा हो। यहाँ स्कुल नै समस्या हो।

नेपालको शिक्षा ब्यवस्थालाई केलाएर हेरौं। यहाँको हजारौ स्कुललाई हेरौं। नेपालको हजारौ स्कुलहरु सफ्ट आतंकवादको अड्डा बनेको छ। लाखौ बच्चाहरुलाई यो समाजमा उपलब्ध सबैभन्दा कमसल किताब, सबभन्दा कमसल स्लेबस र सबभन्दा अयोग्य शिक्षकबाट पढाइँदैछ। निजि स्कुल र सरकारी स्कुल दुइटैको अबस्था त्यस्तै छन्। बच्चालाई दिएको किताब, होमवर्क आदी हेर्दा सहजै थाहा पाउन सकिन्छ।

सबभन्दा महत्वपूर्ण कुरा के छ भने कस्तो किसिमको लेखक तथा प्रकाशकहरुले किताब तयार गरिरहेका छन्? स–साना बच्चाहरुको काँधमा १५ देखि २० किताब र त्यती नै सँख्यामा कापी बोकाइन्छ। स्कुल शिक्षा प्राप्त गर्ने थलो भन्दा पनि सजाय दिने केन्द्रको रुपमा विकास भएका छन् विद्यालयहरु। होमवर्क बच्चाको लागि सजाय हुन्छ। होमवर्क अधिकाँस बच्चाको आमाबुवाले गर्छन्। आजभोलि होमवर्क गराउनको लागि अभिभावकले होम ट्यूसनको ब्यवस्था गरेका छन्।

नेपालको शिक्षा ब्यवस्थामा यो एउटा भयावाहको स्थिति हो। गरीब, दलित, मध्यम वर्गको बच्चाहरु यस्तो किसिमको अव्यवस्थित स्कुलमा कमसल किताब र अयोग्य शिक्षकबाट पढ्न बाध्य छन्। अर्कोतिर गरीबहरुलाई पुस्तौं पुस्तासम्म शोसन गरेर धनिका बच्चाहरु राम्रा स्कुलमा मानक किताब र राम्रो शिक्षकबाट शिक्षा प्राप्त गरिहेका छन्।

नेपाल जस्तो असभ्य समाजमा यो कुरालाई कल्पना पनि गर्न सकिदैन कि कुनै दिन धनी र गरीबको बच्चा एउटै स्कुलमा बसेर पढ्न सक्छन्। किनभने शिक्षा ब्यवस्थाले एउटा सफ्ट टेररिज्मको रुप धारण गरिसकेको छ। सफ्ट टेररिज्मसँग सामना गर्ने ताकत गरीब, किसान, मजदुर, मध्यम वर्गसँग हुँदैन्। यो डरलाग्दो सत्य हो।

आज आफूलाई कम्यूनिष्ट भन्ने राजनीतिक दलको शक्तिशाली सरकार छ। शिक्षा नागरिकको मौलिक हक हो भन्ने कुरा नयाँ नीति तथा कार्यक्रम, बजेटमा सम्बोधन भएको छैन। शिक्षा मौलिक अधिकार भएको खण्डमा शिक्षालाई निजिकरण गर्न मिल्छ कि मिल्दैन? शिक्षालाई निजिकरण गर्नु भनेको अपराध नै हो।

शिक्षाबाट मान्छेमा जागरुकता पैदा गर्नु पर्ने हो। जागरुकताले ठीक बेठिक छुट्याउनु पर्ने हो। अन्याय र विभेदलाई विरोध तथा प्रतिरोध गर्न सिकउनु पर्ने हो। शिक्षाले मान्छेलाई विभेद, जात ब्यवस्था, उचनिच, अन्याय, शोषण आदिबाट मुक्त गर्ने हो। तर, वर्तमान शिक्षा ब्यवस्था सॉफ्ट टेररिज्मको काम गरिरहेको छ। यसबाट सबभन्दा बढी पीडित, उत्पीडित दलित, मुस्लिम, पिछडा वर्ग, आदिवासी जनजाति र सिमान्तकृत समुदाय छन्।

1 COMMENT

  1. Yes i am strongly agreed with your thought Mr. Rajkumar Rajak about your deep and criticle analysis in the context of Nepal education policy and current situation.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.